टोपलाल अर्याल, गुल्मी: गुल्मीमा गाई काट्ने चार जना पक्राउ परेका छन्। शुक्रबार राति मालिका गाउँपालिका-२ का २२ बर्षीय रमेश विक, २८ बर्षीय महलाल विक, ६१ बर्षीय टोप बहादुर रसाइली र ३५ बर्षीय तारा विक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्रमुख प्रहरी उपरिक्षक अर्जुन रानाभाटले जानकारी दिए।
दर्लिङ्गमा गाई काटिरहेको सूचनाको आधारमा पौदी अमराई प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरिक्षक भविश्वर विकसहितको टोली घटनास्थल पुगको थियो। सोहि क्रममा गाईको टाउको, पुच्छर, दुई खुट्टा, छाला र मासुसहित चार जनालाई प्रहरीले रङ्गेहात पक्राउ गरेको रानाभाटले बताए । उनीहरुलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मी ल्याउने काम भइरहेको प्रहरीले जनाएको छ।
नेटा दर्लिङ्गमा गाई काट्ने विषय सामान्य बन्दै गएको छ। विगतमा पनि त्यस स्थानमा गाई काटेको आरोपमा थुप्रै व्यक्ति पक्राउ परेका छन्। ०७८ जेठमा दुई युवाले एक हल गोरु मारेका थिए। मालिका २ को पाटाखर्कमा गोरु मारेर पित्त निकालेको घटना सेलाउन नपाउँदै तीन दिनपछि गाई काटेर मासु खाएको आरोपमा दर्लिङ्गको लिलिङ्गमा दुई युवालाई प्रहरीले पक्राउ गरेको थियो।
स्थानीय विपन्न दलित तथा जनजाती बस्तीमा चुनावको बेलामा गाई वा गोरु काटेर भोज खुवाउने गरिएको स्थानीय बताउँछन् । तर, अन्तिममा सोझा र विपन्न व्यक्तिहरु फस्ने गरेको स्थानीय एक व्यक्तिले गुनासो गरे। ‘नेताले काम मासु काट्न लगाएर सोझा नागरिक फस्ने गरेका छन्। सिमित व्यक्तिको लागि कसैले गाई वा गोरु काट्ने हिम्मत गर्दैनन्,’उनले भने,‘लगाउने नेता वा व्यक्तिका बारेमा भण्डाफोर नगरे बर्षेनी गरिव व्यक्ति जेल जाने भए।’
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







