गुल्मी: गुल्मीको रेसुङ्गा नगरपालिका-९ का यादव पाण्डेको गुल्मीबाटै जहाजमा उड्ने सपना यस पटकको दशैँमा पनि पूरा हुन सकेन। २०६३ साल पछि हरेक वर्षको दशैँमा जहाज उड्ने सपना देखाइए पनि त्यसको १६ वर्षसम्म जहाज उडेको छैन। हरेक वर्षको दशैँलाई बहाना बनाउँदा राज्यको करोडौँ लगानी बालुवामा खन्याएको पानी सरह भएको उहाँको गुनासो छ।
स्थानीय गीता भण्डारी पनि हरेक वर्षको दशैँ भनेर दिएको आश्वासनप्रति दिक्क हुनुहुन्छ । अहिले संरचना तयार हुँदा पनि नियमित उडान नगरि जनतामा भ्रम फैलाइएको भण्डारीको भनाइ छ । विमानस्थल निर्माण सम्पन्न भएपछि सरोकारवालाले ध्यान नदिएको स्थानीयवासी दीपक अर्यालको आरोप छ ।
अर्का स्थानीयवासी शेरबहादुर पुन पनि विमानस्थलमा नियमित उडान नभएकाेमा दुःखी हुनुहुन्छ । चुनावी मुद्दा, राजनीतिक शत्रुता र श्रेयको होडबाजीले विमानस्थल अलपत्र परेको उहाँले गुनासो गर्नुभयो । ‘पहिले त संरचना पूरा नभएर रोकिएकामा चित्त बुझाएका थियौँ’, पुनले भन्नुभयो, ‘अहिले पनि उडान नभएपछि अब यो विमानस्थलबाट उहाजमा उड्ने सपना कहिल्यै पूरा नहुने हो कि सन्देह बढ्न थालेको छ ।’
उहाँहरू मात्र होइन, आम गुल्मेलीलाई प्रत्येक दशैँमा जहाज उड्छ भनेर भुक्काइएको वर्षाैँ भएको छ । चुनावको समयमा होडबाजीको दौड चले पनि अघिपछि कसैले पहल नगरेको स्थानीयवासीको आरोप छ । विसं २०६३ मा तत्कालीन पर्यटन मन्त्री प्रदीपकुमार ज्ञवालीले रेसुङ्गा विमानस्थल शिलान्यास गर्नुभएको थियो । जग्गा अधिग्रहण र बजेट अभावका कारणले सुरुको सात/आठ वर्ष विमानस्थल निर्माण गति लिन सकेन । त्यसपछि पनि चुनावी प्रचारमा मात्र सीमित रहँदै काम सुरु भएन । शिलान्यासको नौ वर्षपछि २०७२ देखि विमानस्थलको नियमित काम सुरु भयो ।
रेसुङ्गा विमानस्थल निर्माण आयोजनाका सहायक आयोजना प्रमुख इन्जिनियर दिनेश परियारले पनि त्यसपछि प्रत्येक वर्षको दशैँसम्म नियमित उडानमा पुगिसक्ने बताउँदै आउनुभयो । निर्माणले गति लिएको चार वर्षसम्म पनि विमानस्थलको ४०/४५ प्रतिशत मात्र काम भएको थियो । विमानस्थलमा २५ जेठ २०७५ मा तारा एअरको विमानले परीक्षण उडान भरेको थियो ।
अर्को वर्ष विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसले केही असर गर्यो । विसं २०७९ वैशाखमा मात्र विमानस्थल निर्माणले पूर्णरूप पायो । रौताह हरिहरि जेभी र बोकोई श्रेष्ठ कन्सट्रक्शन जेभीले विमानस्थलमा भौतिक संरचना निर्माणको काम गरेका थिए ।
इन्जिनियर परियारका अनुसार जग्गा अधिग्रहण, बजेट अभाव, कोरोना महामारी र निर्माण पहलकर्ताको कम चासोले विमानस्थल निर्माणमा ढिला भएको हो । विमानस्थल निर्माणको क्रममा मुआब्जा दिने गरी १४ घर विस्थापित गराइएको थियो । बाँकी २८ घरको जग्गा अधिग्रहण गरिएको थियो । विस्थापितले मुआब्जा पाइसकेका छन् ।
निर्माण सम्पन्न विमानस्थलको धावन मार्ग पाँच सय २० मिटर लम्बाइ र २० मिटर चौडाइको रहेको छ । ३५ करोड रुपैयाँ लागतमा रेसुङ्गा विमानस्थल निर्माण सम्पन्न भएको आयोजनाका सहायक आयोजना प्रमुख इन्जिनियर परियारले बताउनुभयो । एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थलको ७९ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । अहिले विमानस्थल नियमित उडानका लागि तयार रहेको छ । प्राविधिक जडानपछि नियमित उडान भर्न सकिने इन्जिनियर परियारको भनाइ छ।
रेसुङ्गा विमानस्थलको संरचना पूर्णरूपमा निर्माण भएपछि रेखदेख गर्ने कोही पनि छैनन् । नियमित उडान सुरु नहुनु र रेखदेख गर्ने नहुनुले विमानस्थलका संरचनामा क्षति पुग्न थालेको छ । विमानस्थल चिटिक्क बनेकाले घुम्ने जानेको लापर्बाहीका कारणले कन्ट्रोल टावरको सिसा फुटिसकेको छ भने अन्य संरचनामा पनि क्षति भएको छ । रेसुङ्गा नगरपालिकाले विमानस्थलको रेखदेखका लागि नगर प्रहरी खटाउने तयारी गरेको छ।
रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले विमानस्थल नियमित सञ्चालन गर्नका लागि आफूहरू आतुर रहेको बताउनुभयो । उहाँले यसका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकसँग छलफल गरेको जानकारी दिनुभयो । ‘गुल्मेलीको भाग्य र भविष्यसँग जोडिएको विमानस्थलको नियमित उडानका लागि गम्भीर भएर लागेका छौँ’, मेयर पन्थीले भन्नुभयो, ‘नियमित उडानको प्रक्रिया अगाडि बढिसकेको छ।’
गुल्मीको सदरमुकाम तम्घास नजिकै रहेको रेसुङ्गा विमानस्थलबाट नियमित उडान भएमा गुल्मेलीलाई राहत महसुस हुनेछ । छिमेकी जिल्ला अर्घाखाँची, प्युठान र बाग्लुङलाई पनि रेसुङ्गा विमानस्थलले टेवा पुर्याउने विश्वास गरिएको छ। -उज्यालो
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |