हुमाकान्त पोखरेल, गुल्मीः सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिडेट, शाखा कार्यालय, गुल्मीद्वारा बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ।
कम्पनीको पाँचौ वार्षिकोत्सव तथा सामाजिक सेवा दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत बिहीबार न्यानो कपडा वितरण गरिएको हो। महेन्द्र नमुना माध्यमिक विद्यालयमा व्यवस्थापन गरिएका १८ जना सडक बालबालिकाहरुलाई औपचारिक कार्यक्रमको आयोजना गरी जाडोको लागि स्वीटर र फलफुल वितरण गरिएको कम्पनीका प्रशासक नविन अर्यालले जानकारी दिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले व्यवस्थापन गरिएका बालबालिकाहरुको थप व्यवस्थापनमा कम्पनीले इट्टा थप्ने काम गरेको भन्दै खुसि व्यक्त गरे। उनले बालबालिकाहरुको व्यवस्थापन गर्ने कार्य निकै चुनौतिपूर्ण रहेपनि सबै सरोकारवालाको सहयोगमा व्यवस्थापन गर्न सकिएको उल्लेख गरे । कम्पनीका शाखा प्रबन्धक सन्तोष कुँवर क्षेत्रीले विभिन्न समयमा सडकमा मगन्ते जिवन बिताएका बालबालिकाहरुलाई सहयोग गर्न पाउँदा खुसि लागेको बताए।
‘पानी परेको समयमा सडक बालबालिका रुझेको थुप्रै पटक देखेका थियौँ।’ कुँवरले भने, ‘व्यवस्थापन भएछ, धेरै राम्रो भयो, हामीले पनि यसै कार्यमा थोरै सहयोग गरेको।’ कार्यक्रमको अवसरमा महेन्द्र नमुना माविले बालबालिकाहरुको लागि शैक्षिक सामग्री पनि वितरण गरेको थियो।
कार्यक्रममा रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरी प्रसाद अर्याल, जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवराज खरेल, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख लोकनाथ मरासिनी, महेन्द्र नमुना माविका प्रध्यानाध्यापक कृष्ण मरासिनी, पत्रकार महासंघका कार्यसमिति सदस्य हुमाकान्त पोखरेल, पत्रकार सूर्य सुनार, महेन्द्र माविका विभिन्न शिक्षक, विभिन्न वित्तिय संस्थाका प्रमुख एवम् प्रतिनिधि लगायत विभिन्न सरोकारपक्षहरुको उपस्थिति रहेको थियो।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







