तारानाथ आचार्य, बागलुङ: सेतै फुलेको कपाल। बुढ्यौलीले चाउरी परेको अनुहार। ढालानाथको अनुहारमा केही दिनदेखि बेचैनी बढेको छ। ढुंगा, माटो र काठले बनेको दुई तले सुन्दर घरको आँगन। आँगनको छेवैमा बनाइएको पर्खालमा गहभरी आँसु पार्दै त्यही घर नियालिरहेको अवस्थामा भेटिए, ढालानाथ!
बागलुङ नगरपालिका-११ को तल्लो रामतोला बस्तीको सबैभन्दा माथि उनै ढालानाथ पौडेलको घर छ । ७८ वर्षीय पौडेल आँसु लुकाएर अर्कैको घरमा रात काट्छन् भने पहिरोले तान्नै सुन्दर घर हेरेर दिन काट्छन्।
उनलाई यो घर छोड्न पटक्कै मन छैन् । तर, ज्यान नै जोखिममा राखेर घर कुर्न उनले सकेनन् । सात सन्तानका पिता ढालानाथलाई जीवनको आधा समय तीनै छोराछोरी हुर्काउन लाग्यो । बुढ्यौलीमै भएपनि दुःख–सुख गरेर बनाएको दुईतले घरमा दैवको आँखा लाग्यो । ‘बैंशमा बा–आमा कुरेर बसेँ, छोराछोरी हुर्काएँ, अहिले बा, आमाले छोडेर गए, छोराछोरी आफ्नै बाटो लागे, बुढाबुढीका लागि घामपानी ओत्न बनाएको बासमा दैव लाग्यो बाबु’ पर्खालको छेउमा बसेर पहिरोले अँठ्याउनै लागेको घर देखाउँदै पौडेलले भने ‘मेरो पसिना यहीँ थियो बाबु, कान्छा छोराले सहयोग गरेर बनाएको बास हो, पहिरोले नासियो।’
केहीदिन यता उनी ७० वर्षीया श्रीमतीसहित आफ्नो घरभन्दा केही तल छिमेकीको घरमा बस्दै आएका छन् । तर, उनको मनले घर छोड्न मानिरहेको छैन् । त्यसैले त दिनमै दश पटक त्यही घरको आँगनमा पुग्छन् । भदौ २० गतेदेखि तल्लो रामतोलाको उपल्लो भेग चर्किन थालेको थियो । पाखोबारी, घर, गोठ, सडक र चौतारी जताततै जमिन चर्किने र स–साना पहिरा खस्ने गर्न थालेपछि ढालानाथको मन चर्किएको थियो । भदौ २१ गते गाउँमाथिबाट ठूलै पहिरो जान थालेपछि गाउँमा कोलाहाल मच्चियो । ढालानाथ गोठमा भैंसी दुहुँदै थिए । घरजस्तै थियो गोठ पनि।
गाउँभरी धाँजाफाटेपछि सम्भावित जोखिमको आँकलन गरेर गाउँ पुगेका वडाअध्यक्ष ज्ञानेन्द्र गौतमलगायत गाउँका समाजसेवीले उनलाई भैसी दुहुँदादुहुँदै तानेर ल्याए । भैंसी फुकाए र सुरक्षित ठाउँमा पु¥याए । ‘उनीहरुले नतानेको भए म गोठमै पुरिने रहेछु, भैंसी बाँच्यो’ पहिरोले पुरिएको गोठ देखाउँदै उनले भने ,‘घर न गोठ, खेती न पाती भयो ।’ पहिरोले नजिकै रहेको पाखोबारी र खरबारी सबै पुरेको छ ।
पत्थर माथिको समथर समिनमा कहिलै पहिरोको जोखिम होला भनेर आफूले कल्पना नगरेको उनी सुनाउँछन् । ‘मैले जानेदेखि यहाँ ठूलो पहिरो खसेको देखेको थिइन्, अैले त के भएको हो, गाउँनै उठाउने पहिरो आयो ।’ पहिरोबाट विस्थापित भएकामध्ये ढालानाथ दम्पति सबैभन्दा धेरै समस्यामा छन् । गाउँमा उनीजस्तै ७ परिवारले आफ्नो घर गोठ छोडेका छन् । तल्लो रामतोलामा नै पहिरो खसेकोभन्दा केही तल बसाइँसराइ गरेर गएकाहरुको खाली घरमा पीडित परिवार बसेका छन्।
भदौ २२ गते गाउँमाथि रहेका पानीका ट्याङ्कीसहित ठूलो पहिरो खस्यो । तल्लो रामतोला गाउँमाथिको समथर बारीमा अडिएको पहिरोको माटोले रामतोलाका घर पस्ने जोखाना हेरीरहेको छ । ‘ठूलो आवाज आयो, अब बाँचिएन भन्ने लागेको थियो’ स्थानीय पीडित पवित्रा केसीले भनिन्,‘दिउँसै भएकाले भागाभाग गरियो, रातमा पहिरो खसेको भएत होसहवास उड्ने थियो।’
घर छोडेर अर्कैको घरमा बसेको भएपनि आफ्नो थातथलोमा गइरहन मन लाग्ने पवित्राले सुनाइन्। ‘अहिले ठूलो पानी परेको छैन्, ठूलो पानी प¥यो भने हाम्रा घर राख्दैन होला’, उनले भनिन् ‘हामि पीडित भयौं, कहिँ कतै सुरक्षित ठाउँमा व्यवस्था गरिदिए हुन् ।’ यहाँ खसेको पहिरोका कारण रायडाँडामा ७ परिवार र जैमिनी नगरपालिकाको वडा नं. १ कुश्मीशेरा, वडारमा ४ परिवार विस्थापित भैसकेका छन् । विद्युत, खानेपानीको आपूर्तिमा आएको अवरोध भने हटाइएको छ ।
बागलुङ नगरपालिकाले पीडितलाई दैनिक उपभोग्य बस्तुको रुपमा चामल, दाल, नुन तेललगायतको खाद्यान्न वितरण गरिएको वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताए । घटनाको बारेमा प्रहरीले मुचुल्का पनि उठाएको छ । घटनाबारे यसअघि नगरपालिका, दैवीप्रकोप उद्धार समिति र सुरक्षा निकायसमेतले अनुगमन गरेको थियो । साथै किसानको बारीमा लगाएका सुन्तलाका विरुवा नष्ट भएका छन् । बारीमा लगाएको कोदोलगायतका अन्न पनि नष्ट भएको छ । पहिरोले जोखिम भएपछि गाउँलेहरु त्रसित छन्।
‘पहिरो खस्नुको कारणको विषयमा खोजी र पीडितको उचित व्यवस्थापनका लागि हामीले अध्ययन गरिरहेका छौं’, बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले भने ‘थप क्षति हुन नदिनका लागि सजगता अपनाउन जरुरी देखिन्छ।’ -ढोरपाटन न्यूज
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










