अनिल खत्री, गुल्मी: गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका-४, जोगिथुममा जोगिथुम भगवतीको नवनिर्मित मन्दिरको उद्घाटन गरिएको छ। रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले एक कार्यक्रमका बिच नवनिर्मित मन्दिरको उद्घाटन गरेका हुन्।
मन्दिरको उद्घाटन गर्दै नगरप्रमुख पन्थीले हामी, हाम्रो समुदाय, हाम्रा धर्म–संस्कृति, मठ–मन्दिरहरुमा सबैको संरक्षण र सम्बर्द्धन गर्नु साझा दायित्व रहेको उल्लेख गरे । रेसुङ्गा नगरपालिकाको गौरवको योजना अन्तर्गत रु ४४ लाख १९ हजार ६२८ रुपैयाँको लागतमा निर्माण भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष यज्ञप्रसाद गौतमले बताए।
मन्दिर उद्घाटन कार्यक्रममा सहयोग गर्ने बिभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो । मन्दिरको निर्माणका लागि यस अघिका नगरप्रमुख डिल्लीराज भुसालले ०७८ माघ २३ गते शिलान्यास गरेका थिए।
यस भेगमै पुरानो मानिएको मन्दिरको नयाँ संरचना निर्माण आकर्षक बनेको छ। करिब २ सय वर्ष पहलेदेखि नै पुजा गरिदै आएको मन्दिरमा एक सय वर्ष पहिलेका घन्टीहरु रहेका छन्।
यस मन्दिर रहेको स्थान नजिकै सिंगो गाउँमा आगलागी हुँदा मन्दिर रहेको स्थानमा भने कुनैपनि क्षती नभएकाले पनि त्यस मन्दिर रहेको स्थानमा भगवानको शक्ति रहेको स्थानीयले बताउदै आएका छन्। मन्दिरमा सत्य मन वचनले पुजा आजा गर्नेहरुले आटेका कामहरु पनि पुरा हुने जनविश्वास रहि आएको स्थानीय झवि पाण्डेले बताए।
प्रत्येक हप्ताको आइतबार पुजा हुने मन्दिरमा विभिन्न मनोकांक्षा पुरा होस भनेर भाकलहरु पनि चढाउने गर्दछन्। जिल्लाका बिभिन्न स्थानबाट मन्दिरमा पुजा गर्न श्रद्धालु भत्तजनहरु पुग्ने गर्दछन्।
मन्दिरमा वडादशैं, चैतेदशैं लगायतका पर्वहरुमा विशेष पुजा हुने गर्दछ। यस मन्दिरमा वडादशैंको पूर्णिमाको दिन ठूलो मेला पनि लाग्ने गर्दछ।