बुटवल: विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक कम्युनिष्ट पार्टी, नेकपा र नेकपा माओवादी समाजवादीले भदौ ७ गते नेपाल बन्दको आयोजना गर्ने बताइएको छ। नेपाल सरकार र नेकपाबीच बार्ता भएर ३ बुँदे सहमति भएको १७ महिनासम्म पनि सहमति कार्यान्वयन नभएको भन्दै संघर्षको कार्यक्रम अन्तर्गत नेपाल बन्दको आयोजना गरेको आयोजकले बताएको छ।
संयुक्त वक्तव्यमा देउवा प्रचण्ड नेतृत्वको सरकारले ३ बुँदे सहमति उलंघन गर्दै नेकपाका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड, सन्तोष बुढालगायत २८ जना नेता कार्यकर्तालाई ललितपुर अदालतले साउन १६ गते पक्राउ पुर्जी जारी गरेको भन्दै उक्त गलत क्रियाकलाप तत्काल फिर्ता लिन माग गरिएको छ।
वक्तव्यमा महंगी, भ्रष्टाचार अन्त्य गर्नुपर्ने, आस्थाका बन्दीहरुलाई रिहा गर्नुपर्ने, झुठा मुद्दाहरु खारेज गर्नुपर्ने, एमसीसी सम्झौता खारेज गर्नुपर्ने, राज्य आतंक बन्द गर्नुपर्ने लगायत मागहरु राखिएको छ। नेपाल बन्दको क्रममा यातायात, सरकारी कार्यालय, उद्योग, शैक्षिक संस्था, सिनेमा हललगायत सम्पूर्ण क्षेत्र बन्द हुने आयोजकले बताएको छ।
बन्दको क्रममा एम्बुलेन्स, दुग्ध उद्योगको गाडी, शववाहन, अग्निनियन्त्रण साधनहरुलाई नियन्त्रण नगरिने आयोजकले बताएको छ। बन्द आयोजकले सम्पूर्ण सरोकारवालाई नेपाल बन्द सफल पार्न अपिल समेत गरेको छ । नेपाल बन्दको क्रममा यसलाई उलंघन गरिए त्यसको क्षतिपूर्ति वा जिम्मेवारी स्वयं वा राज्य हुने समेत चेतावनी दिइएको छ।
विप्लव नेतृत्वको नेकपासहित ४ कम्युनिस्ट पार्टीले चरणबद्ध संघर्ष गर्दै आएको छ। यसअघि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र, देशव्यापी विरोधसभा, मसाल जुलुस र नेपाल बन्दको कार्यक्रम आयोजना गरेको हो। नालिबेली न्यूज डटकममा यो खबर छ।
1 thought on “भदौ ७ गते विप्लव लगायतको नेपाल बन्द, उल्लङ्घन नगर्न चेतावनी”