गीता पाण्डे, गुल्मीः आर्थिक बर्ष २०७८/०७९ मा गुल्मीमा सवारी दुर्घटनामा परी मृत्यु हनेको संख्या १७ जना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
कार्यालयका अनुसार २०७८ साल साउनमा ट्रयाक्टर दुर्घटनामा दुई जना, जीपमा एक र मोटरसाइकलमा एक जना गरी कुल ४ जनाको मृत्यु भयो। जसमा तीन जना पुरुष र एक जना महिला रहेको कार्यालयले जनाएको छ।
यस्तै भदौमा जीप दुर्घटनामा एक जना पुरुषको मृत्यु भएको छ । असोजमा सवारी दुर्घटना परी चार जनाको मृत्यु भएको छ । जसमा एक जीप र दुई वटा मोटरसाइकल दुर्घटनामा दुई जना महिला र दुई जना पुरुष गरी चार जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख कृष्ण आचार्यले जानकारी दिए ।
कार्तिकमा एक ट्याक्टर, एक जीप र दुईवटा मोटरसाइकल गरी पाँच वटा सवारीहरु दुर्घटनामा परे जसमा दुई जना महिलाको मृत्यु भयो।
यस्तै मङसिरमा भने तीन वटा मोटरसाइकल दुर्घटना भए पनि मानवीय क्षती भने नभएको कार्यालयले जनाएको छ । पुसमा एक मोटरसाइकल दुर्घटना हुँदा एक जना पुरुषको मृत्यु भएको कार्यालयले जनाएको छ । माघमा चार वटा सवारी दुर्घटना भए जसमा एक जना पुरुषको मृत्यु भएको कार्यालयको तथ्याकंमा रहेको छ ।
फागुन महिनामा कुनै सवारी दुर्घटनामा नपरेको कार्यालयले जनाएको छ ।
यस्तै चैत महिनामा दुई वटा मोटरसाइकल र दुई ट्याक्टर गरी चार सवारी दुर्घटनामा परि तीन जना पुरुषको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक देबीप्रसाद पौडेलले जानकारी दिए ।
बैशाख महिनामा कुनै सवारी साधन जिल्लामा दुर्घटनामा नपरेको कार्यालयले जनाएको छ ।
जेठ महिनामा मोटरसाइकल दुर्घटनामा एक जना पुरुषको मृत्यु भएको छ । यस्तै असारमा भने जिल्लामा कुनै सवारी साधन दुर्घटनामा नपरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
यसरी १७ जनाको मृत्यु हुने गरी सवारी दुर्घटनाको कारण भने चालकको लापरवाहीका कारण भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक देबीप्रसाद पौडेलले जानकारी दिए ।
आर्थिक वर्ष २०७७/०७८ मा कुल ३७ वटा सवारी दुर्घटनामा २२ जनाको मृत्यु भएको कार्यालयले जनाएको छ। जसमा १६ जना पुरुष ,पाँच जना महिला र एक जना बालक रहेका छन्।
आर्थिक वर्ष २०७६/०७७ मा २८ वटा सवारी दुर्घटनामा परी १५ जनाको मृत्यु भएको छ। जसमा पुरुष १० जना,महिला तीन जना र दूई जना बालबालिका रहेको कार्यालयले जनाएको छ।
विशेष गरी सवारी दुर्घटना चालकको लापरवाहीका कारण हुने गरेको कार्यालयले जनाएको छ ।
सवारी दुर्घटना कम गर्न जनचेतनामुलक कार्यक्रम
जिल्ला ट्राफिक प्रहरी कार्यलय गुल्मीले सवारी दुर्घटना कम गर्नका लागि जनचेतना मुलक कार्यक्रमहरु गरेको जनाएको छ । विद्यार्थीहरुलाई कक्षा संचालन गर्नुका साथै सुरक्षित चालक बनाउनका लागि कक्षा संचालन , यातायात ब्यबसायीहरु , चालक तथा सह चालकहरुलाई जनचेतना मूलक कार्यक्रम गरेको कार्यलयले दाबी गरेको छ ।
यस समय अवधिमा जिल्लामा सात हजार ४८२ जनालाई जनचेतना मुलक कार्यक्रमहरु प्रदान गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
यस्तै विभिन्न अन्तरक्रिया , पर्चा पम्प्लेट वितरण र स्थानीय संचार माध्यममबाट ट्राफिक ज्ञान सम्बन्धी गतिविधिहरु प्रशारण गरेको कार्यलयले जनाएको छ। फोटो: तिलाचन पाण्डे
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |