Smoking Causes Cancer

पाल्पामा भदौ महिनामा ३६४ सवारीसाधन कारबाहीमा, झण्डै ६ लाख राजस्व सङ्कलन



ओझेलका खबर
२ घण्टा अगाडि


Place for ads

तानसेन, असोज -५ ।जिल्ला प्रहरी कार्यालय पाल्पा र मातहतका निकायहरूले भदौ महिनाभर गरेको चेकिङका क्रममा ३६४ वटा सवारीसाधनलाई कारबाही गरी रु. ५ लाख ८५ हजार राजस्व सङ्कलन गरेको छ। सवारी दुर्घटना र ट्राफिक नियम उल्लङ्घन नियन्त्रणका लागि चालिएको उक्त अभियानका क्रममा सो परिमाणको राजस्व सङ्कलन भएको हो।

​जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईका अनुसार भदौ महिनामा जिल्लाभर ९ वटा सवारी दुर्घटना भएका थिए। उक्त दुर्घटनाहरूमा परि १२ वटा सवारीसाधन संलग्न रहेका थिए भने १ जनाको मृत्यु र १३ जना घाइते भएका छन्।
​त्यस्तै, भदौ महिनामा अपराध अनुसन्धान, शान्ति सुरक्षा र नागरिक सेवाका क्षेत्रमा पाल्पा प्रहरीले उल्लेखनीय प्रगति गरेको छ।

अपराध अनुसन्धान र मुद्दा फर्छ्यौट:
भदौ महिनामा कुल २७ वटा मुद्दा दर्ता भएकोमा १७ वटा फर्छ्यौट भइसकेका छन् भने १० वटा अनुसन्धानका क्रममा रहेका छन्। दर्ता भएका मुख्य मुद्दाहरूमा अभद्र व्यवहार (६), बैंकिङ कसूर (३), झुण्डिएर मृत्यु (३), लागू औषध (२), भवितव्य ज्यान (२) र फुटकर ज्यान (२) लगायतका रहेका छन्। प्रहरीले विभिन्न मुद्दाका २ महिला र २५ पुरुष गरी कुल २७ जना प्रतिवादीहरूलाई पक्राउ गरी कारबाही अघि बढाएको छ।

सिंचाई
Forest
Ad.

फरार प्रतिवादी पक्राउ र राजस्व चुहावट नियन्त्रण:

अदालतको फैसला कार्यान्वयनतर्फ प्रहरीले ११ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ। जसबाट रु. १९ लाख २६ हजार ३१ रुपैयाँ जरिवाना असुल हुनुका साथै कुल ३ वर्ष ११ महिना १४ दिन कैद सजाय कार्यान्वयन गराइएको छ। यस्तै, गैरकानुनी भन्सार छली र राजस्व चुहावट नियन्त्रणतर्फ रु. ८५ हजार ४५० बराबरको राजस्व सङ्कलन गरिएको छ भने १५५ लिटर अवैध मदिरा र १०० ट्याबलेट नाइट्राजेपामसहितका लागू औषध बरामद गरिएको प्रहरीले जनाएको छ।

हराएका सबै फेला, समुदाय-प्रहरी साझेदारीमा जोड:
भदौ महिनामा हराएका २ महिला, ५ पुरुष, १ बालक र १ बालिका गरी कुल ९ जनालाई नै फेला पारी आफन्तको जिम्मा लगाइएको छ। प्रत्यक्ष परेका ३१ वटा ठाडो उजुरीमध्ये २९ वटा फर्छ्यौट भइसकेका छन्।

​सुरक्षा व्यवस्था कडा पार्न महिनाभर १,३५० पिकेट, ५०२ चेकिङ र ४१० ग्रामीण गस्ती सञ्चालन गरिएको प्रहरीले जनाएको छ। साथै सचेतना अभिवृद्धिका लागि समुदायस्तरमा ९९ वटा र विद्यालयस्तरमा १३ वटा कार्यक्रम सञ्चालन गरी ३ हजारभन्दा बढी नागरिक तथा विद्यार्थीहरूलाई प्रत्यक्ष लाभान्वित गराइएको छ। भदौ महिनामा प्रहरीको नागरिक सहायता कक्षबाट १,७१९ जना सेवाग्राहीले प्रत्यक्ष सेवा लिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। 

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो