Awareness

बागलुङमा स्वास्थ्यचौकी निर्माणमा लापरबाही

खबर

Place for ads

बागलुङ: वर्षातमा छत चुहिने समस्या त छँदै थियो त्यहीमाथि भुइँतलाका कोठाको सतह उठ्ने, भत्कने हुन थाल्यो। जोखिम बढ्ने देखेर स्वास्थ्यचौकी इञ्चार्ज प्रकाश महतराले तत्कालै कामदार लगाएर मर्मत थाल्नुभयो। गैँतीले भुइँतलाको ढलान खोस्रदा मुनपट्टि माटो, ढुङ्गा, टायलका चपेरा, बोरा, किलालगायत असरल्ल भेटिए। हाते औजारको सहायताले यति सजिलै ढलान तोडियो कि मानौँ त्यहाँ बाली लगाउन माटो खनिँदै थियो।

यो कुरा गत असारको हो। गुणस्तरहीन निर्माण सामग्री, अदक्ष कामदार, निर्माण व्यवसायीको चरम लापरबाही र अनुगमनकारी निकायको अनदेखाका कारण एउटा स्वास्थ्यचौकी भवन कतिसम्म दुर्दशामा पुग्छ भन्ने उदाहरण हो यो। जैमिनी नगरपालिका-८ को छिस्ती स्वास्थ्यचौकी भवन निर्माण पूरा भएर उद्घाटन भएको आउँदो फागुन ७ गते बल्ल दुई वर्ष पुग्दैछ। त्यसबेला गण्डकी प्रदेशसभाका सदस्य मणिभद्र शर्मा कँडेलले नवनिर्मित स्वास्थ्यचौकी भवनको उद्घाटन गर्नुभएको थियो।

Get Vaccinated

विडम्बना दुई वर्ष नबित्दै उक्त स्वास्थ्यचौकी भवन जीर्ण बन्न पुगेको छ। कुनै प्राविधिक ज्ञान नभएको सर्वसाधारणका नजरबाट हेर्दा पनि त्यो भवन वर्षौँ पुरानोझैँ लाग्छ। छत ठाउँठाउँमा चर्किएको छ। वर्षात्मा अधिकांश कोठामा पानी चुहिन्छ। शौचालय बुझिएर प्रयोगमा छैन। प्लाष्टर, रङरोगन फुङ्ग उडेको छ। भवनको ‘फिनिसिङ’ स्तरहीन छ।

राज्यको करोडौँ लगानीमा ठडिएको भवन असमयमै बेहाल स्थितिमा छ। “निर्माण सकेर हस्तान्तरण नहुँदै भवन चुहिन थालेको हो, हामीले त्यतिबेलै आवाज उठायौँ, तर कसैले सुनेन”, स्वास्थ्यचौकी इञ्चार्ज महतराले भन्नुभयो, “भवनको गुणस्तर परीक्षण गर्ने हो भने सम्बन्धित सबै पक्ष कानूनी कारबाहीमा पर्ने अवस्था छ।”

उहाँले भवन निर्माणमा कुनै पनि मापदण्ड पूरा नगरिएको गुनासो गर्नुभयो। सेवा प्रवाह नै रोकिने स्थिति आएपछि वडाको रु २५ हजार र आफ्नो व्यक्तिगत रु २८ हजार खर्चेर भवनको अस्थायी मर्मत गरिएको इञ्चार्ज महतराले सुनाउनुभयो। संघ सरकारको रु एक करोड ५६ लाखको लागतमा तत्कालीन सहरी विकास तथा भवन डिभिजन कार्यालयमार्फत स्वास्थ्यचौकी भवन बनेको हो। भवन बनाउने जिम्मा पाएको ओखलढुङ्गा-बिएमए-जयकालिका संयुक्त निर्माण कम्पनीले विसं २०७६ मङ्सिर २२ मा भवन हस्तान्तरण गरेको थियो।

दुई वर्षमै समस्या देखिएपछि भूकम्पप्रतिरोधी क्षमताको भनिएको उक्त भवनको गुणस्तरमा शङ्का उब्जेको छ। स्थानीयवासीले अनुगमनकारी निकाय र इञ्जीनियरले कसरी भवन पास गरे? भनेर प्रश्न गर्न थालेका छन्। वडा सदस्य कर्णसिंह पुनले भवन बनाउँदा कमसल सामग्रीको प्रयोग गरिएको बताउनुभयो।

Awareness by SKF

“सुरुमा झ्यालढोकामा सालको काठ प्रयोग गर्ने भन्ने थियो, पछि कच्चो सल्लाको काठ हाले, सिमेन्ट, बालुवा पनि कमसल प्रयोग गरे”, उहाँले भन्नुभयो, “गलत भयो भन्दा हामीलाई उल्टै थर्काए, अहिले स्वास्थ्यचौकी हेर्न लाएक पनि छैन।” दुईतले भवनमा प्रशासन, उपचार, प्रयोगशाला, प्रसूति, औषधि भण्डारलगायत कक्ष छन्। कर्मचारीलाई आवास सुविधासमेत त्यही छ।

निर्माण बलियो र भरपर्दो नहुँदा भवनमा सुरक्षा खतरा देखिएको इञ्चार्ज महतराको भनाइ छ। “प्रसूति केन्द्र पनि भएकाले यहाँ महिनामा छ/सातवटा प्रसूति हुन्छन्, दैनिक आउने बिरामीको उस्तै चाप छ”, उहाँले भन्नुभयो, “भवन गुणस्तरीय र सुरक्षित नहुँदा सेवा प्रवाहमा कठिनाइ छ।” नवनिर्मित भवनमा रहेको शौचालय काम नलाग्ने भएर बुझिएपछि प्रयोगमै नरहेको उहाँको भनाइ छ। शौचालय बुझिँदा स्वास्थ्यचौकी नै दुर्गन्धित भइरहेको छ। वर्षौँसम्म जीर्ण भवनबाट चलेको स्वास्थ्यचौकी नयाँ भवनमा सरेपछि खुशी बनेका छिस्तीवासी गुणस्तरहीन निर्माण देखेर अहिले आक्रोशित छन्।

निर्माण कम्पनीका प्रतिनिधि सन्तोष चोखालले प्राविधिक त्रुटि देखिए त्यसलाई सच्चाउने र मर्मतसुधार गर्ने दायित्व आफूहरूको रहेको बताउनुभयो। अहिलेसम्म स्वास्थ्यचौकी भवनमा देखिएको समस्याबारे कम्पनीलाई आधिकारिक जानकारी नआएको उहाँको भनाइ छ।

स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका वडाध्यक्ष विजय शर्मा अधिकारीले पटक-पटक अनुरोध गर्दा पनि निर्माण व्यवसायीले मर्मतका लागि कामदार पठाउँछौँ भन्दै ढाँटेको बताउनुभयो। “आधिकारिक जानकारी नपाएको भन्ने सुनियो, अब पत्र नै लिएर जान्छु, हेरौँ के गर्छन्”, उहाँले भन्नुभयो। ज्योतिन्यूज डटकममा यो खबर छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *