Awareness

Get Vaccinated

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान इस्मामा बन्यो भव्य



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

गुल्मी: इस्मा गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सकिएको छ। इस्मा गाउँपालिका-५ को इस्मा रजस्थलको आनन्दपुर माविमा बृहत कार्यक्रमको आयोजना गरेर जिल्ला समन्वय प्रमुख लक्ष्मण पराजुलीले अभियानको समापन गरे।

अभियानको समापन गर्दै पराजुलीले परिवारहरुकै सोेचमा परिवर्तन आए मात्रै लैङ्गिक हिंसाको अन्त्य गर्न सकिने बताए। उनले समुदाय र मुलुक परिवर्तन गर्न पहिले आफु र आफ्नो सोचमा क्रान्ति गर्न आवश्यक भएको बताए।

स्थानीय तहपछि स्थानीय तहमा महिला शसक्तिकरणको क्षेत्रमा थुप्रै उदाहरणीय काम भएकाले इच्छाशक्ति र सबैको सहयोग भए लैङ्गिक हिंसाको अन्त्य गर्न कुनै समस्या नरहेको पराजुलीको भनाई रहेको थियो।

त्यस्तै प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले १२ स्थानीय तह मध्ये इस्माले सवै वडासंगै गाउँपालिका स्तरमा पनि अब्बल कार्यक्रम मार्फत अभियानको समापन गरेको भन्दै प्रशंसा गरे।

कार्यक्रमहरुले आम नागरिकमा केहि न केहि भए पनि परिवर्तन आउने भएकाले सक्रियता महत्वपूर्ण विषय भएको बताए। गाउँपालिका प्रमुख लक्ष्मण विष्टले पुर्वाधारलाई मात्रै विकास देख्ने सामाजिक सोचका कारण आफुहरुले पनि सामाजिक विकासका थुप्रै काम गर्न बाँकी रहेको बताए।

उनले आफुहरुले महिलाहरुलाई विभिन्न अभियान र उद्यम मार्फत उत्साहित र सक्रिय बनाएकाले थप योजना मार्फत लैङ्गिक हिंसाको अन्त्यका कामहरु सुरुवात गर्नुपर्नेमा जोड दिए।

Awareness by SKF

त्यस्तै जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरिक्षक गोपालचन्द्र भट्टराईले समुदाय बाहिर देखे जस्तो वास्तवमा नभएको बताउँदै प्रत्येक परिवारमा कुनै न कुनै हिंसा रहेको बताए। ‘परिवार भित्रका सबै हिंसा न्यायीक निकाय सम्म निकै कम आएका छन्। समुदायका अनेक सोचले पीडित खुल्न सक्दैनन,’ उनले भने, ‘व्यक्ति र परिवार सचेत गराउनु र बन्नु आवश्यक पर्छ।’ उनले प्रहरी र प्रशासनको ढोका आउने पीडितले अन्याय झेल्नु नपर्ने प्रतिवद्धता जनाए।

गाउँपालिका उपप्रमुख विमला खत्रीले अझै पनि पुरुषवादी चिन्तनले प्रत्यक्ष वा परोक्ष कार्यक्रम र अभियानमा असहयोग भइरहेको गुनासो गरिन। महिलासंग सम्बन्धित कार्यक्रमहरुमा पुरुषले सहयोगसम्म नगर्ने गरेको स्थितिमा अवसर दिने कुरा निकै टाढाको विषय भएको खत्रीले बताइन्।

साथै उनले लैङ्गिक हिंसा विरुद्धको अभियानको बारेमा जानकारी दिएकी थिइन्। राजनैतिक दलहरुको तर्फबाट एमाले गाउँपालिका अध्यक्ष राजेन्द्रबिक्रम कुवंर र कांग्रेस सचिव बैकुण्ठ बहादुर कुँवरले अझै पनि मान्छेले मान्छेकै व्याबहार गर्न नसक्नु बिडम्बना भएको बताए। उनीहरुले थुप्रै व्यवस्थाका विरुद्धका आन्दोलनबाट गणतन्त्र र संविधान प्राप्त भएपनि सामाजिक संरचनाभित्र रहेका दुर्गन्धित सोचहरुको अन्त्य गर्न नसकिएको बताए।

महिला अधिकारकर्मी हीरा कुवंरले गाउँपालिकाले वडास्तरदेखि पालिकासम्म सचेतनामूलक अभियान संचालन गरेको बताइन्। उनले अझै पनि आर्थिक सामाजिक रुपान्तरणका थुप्रै काम बाँकी भएकाले योजनावद्ध काम अगाडी बढाउनुपर्ने बताइन्।

गाउँपालिकाले प्रत्येक वडामा सचेतनामूलक कार्यक्रम गरेको थियो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालयको तर्फबाट लैङ्गिक हिंसा, जिल्लामा लैङ्गिक हिंसाको अवस्था र कानुनमा भएको व्यवस्थाको बारेमा सचेतना प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज सुवेदीले जानकारी दिए।

कार्यक्रम मञ्चिय भएपनि अभिभावक र विद्यार्थीहरुलाई सहभागी बनाएर सबै वडाहरुमा सचेतना प्रदान गरिएको भण्डारीले बताए। कार्यक्रममा विभिन्न विद्यालयहरुले सडक नाटक, वक्तृत्वकला, नृत्य, कविता लगायतका सचेतनामूलक सांगितीक प्रस्तुती राखेका थिए।

कार्यक्रम गाउँपालिका प्रमुख लक्ष्मण विष्टको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत नवराज सुवेदीको स्वागत तथा प्रशासन शाखा प्रमुख हिमाल घर्तिको संचालनमा सम्पन्न भएको थियो। खबरमार्केट डटकममा यो खबर छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया