सुशिला रेग्मी, पाल्पा: हरिबोधनी एकादशी पर्वको अवसरमा सोमवार कालीगण्डकीका विभिन्न धार्मिक घाटमा मेला लागेको छ। हरेक वर्ष यस नदीका विभिन्न घाटमा लाग्ने मेलामा दर्शकको उपस्थित बाक्लै रहन्छ।
विशेषगरी मेलामा बाँसबाट उत्पादित सामग्रीले दर्शकको आकर्षण बढाएको हुन्छ। यसवर्षको हरिबोधनी एकादशीको मेलामा पनि बाँसबाट तयार पारिएका विभिन्न सामग्री दर्शकको रोजाईमा रह्यो।
पाल्पा, स्याङ्गजा र तनहुँको संगमस्थलको रुपमा रहेको केलादीघाटमा लागेको मेलामा बाँसबाट बनेका सामग्री खरिद गर्नेको उत्साह देखिन्थ्यो। यहाँको मेलामा हरेक वर्ष डालो, भकारी, नाङ्लो जस्ता बाँस र निगालोबाट तयार पारिएका सामग्री खरिद गर्न दर्शक आउने गर्छन्। यी सामग्री मेलाको मुख्य आकर्षणको रुपमा लिइन्छ।
कालीगण्डकी नदी स्नान संगै मेलामा नाङ्लो खरिद गर्न केलादीघाटमा आएको बताउनुहुन्छ, पाल्पा रामपुरकी विष्णु श्रेष्ठ।
‘घरायसी प्रयोजनका लागि चाहिने डालो, नाङ्लो हिजोआज गाउँघरमा पाइदैन, एकादशी पर्वमा व्यापारीले ल्याउने गरेपछि अन्यत्र खोज्न जानु परेको छैन, आफूले खोजेजस्तो बाँसबाट बनेका सामग्री पाइने हुदा एकादशीको बेला आएर खरिद गर्ने गरेको छु’, उहाँले भन्नुभयो।
यहाँको मेलामा नवलपुर, धादिङ, तनहुँ लगायतका विभिन्न जिल्लाका व्यापारी बाँसजन्य सामग्रीको व्यापारमा आउने गर्छन्। पूरानो र प्रसिद्ध घाट भएकाले विगत ३० वर्ष यता निरन्तर रुपमा केलादीघाटमा नै नाङ्लो, डालोको व्यापारका निम्ति आउने गरेको नवलपुर बौदिकालीका ६० वर्षीय पतिराम सारु मगर बताउनुहुन्छ।
“केलादीघाटमा धेरै दर्शक आउने हुदा व्यापार पनि राम्रै हुन्छ, हरेक वर्ष एकादशीका दिन यहाँ व्यापार गर्न आउने गर्छु, पुराना ग्राहक पनि छन्, नयाँ ग्राहकले पनि सामान राम्रै खरिद गर्नुहुन्छ” उहाँले भन्नुभयो।
उहाँले विगत चार दशक देखि गाउँघरमा पाइने बाँस तथा तामाखानी, निगालो, जंगली बाँसबाट विभिन्न सामग्री तयार पारी व्यापार गर्दै आउनुभएको छ। आफूले उत्पादन गरेको सामग्री तराईका विभिन्न स्थानमा पनि पठाउने गर्नुहुन्छ।
एकादशीमा राम्रै व्यापार हुने थाहा पाएपछि पहिलो पटक केलादीघाटमा नाङ्लो, डालोको व्यापारको लागि आएको धादिङका धनबहादुर तामाङ बताउनुहुन्छ। उहाँले यसभन्दा अघि नुवाकोट, तनहुँ, नवलपरासी लगायतका जिल्लामा व्यापार गर्नुहुन्थ्यो।
यहाँ बाँसजन्य सामग्रीबाट उत्पादन गरिएका नाङ्लो प्रति रु ५००, डालो (एक पाथीको) रु ३५०, धान राख्ने भकारी रु तीन हजार ५०० मा बिक्रि गरिएको छ।
दैनिक गुजारा चलाउनका निम्ति यस घाटमा धादिङका ७० वर्षीय मर्को तामाङ पनि यस पटक धान राख्ने भकारीको व्यापार गर्न आउनुभएको छ। उहाँले भकारी बेचेर बिहान साँझको दैनिक गुजारा चलाउनुहुन्छ।
यसवर्षको एकादशीको मेलामा बाँसजन्य उत्पादित सामग्रीले मेलाको रौनकता बढाएको र बिशेषगरी यहाँ नाङ्लो, डालो, भकारी जस्ता सामग्री नै मेलाको मुख्य आकर्षण नै रहने गरेको स्थानीयवासी ओमप्रकाश रेग्मीले बताउनुभयो।
यसवर्ष केलादीघाटमा करिव पाँच हजार भन्दा बढी दर्शनार्थी भित्रिएको स्याङ्गजा चापाकोट नगरपालिका-६ का वडा अध्यक्ष एकदेव भट्टराईले बताउनुभयो।
कालीगण्डकीको ज्याग्दीघाट, केलादीघाट, पुट्टारघाट, तातोपानीघाट, राम्दीघाट, हुँगीघाट, बालीघाट लगायतका स्थानमा दिनभर नै स्नान गर्ने र मेला अवलोकन गर्नेको श्रद्धालुभक्तजनको घुईचो देखिन्थ्यो। ज्याग्दीघाट, केलादीघाट र बालीघाटमा हरेक वर्ष एकादशी मेला लाग्ने गरेको छ।
एकादशीको दिन सखरखण्ड, पिडाँलु, तरुल, सुन्तलाको ठुलो व्यापार हुने गरेपनि यसवर्ष भने बिगतका वर्षमा जस्तो फलफूलको व्यापार भने कमै देखिन्थ्यो। हिन्दु परम्परा अनुसार हरिबोधनी एकादशीका दिन कालीगण्डकीका विभिन्न घाटमा तामा, कुस, खरको तोरण तारिएको छ।
हरिबोधनी एकादशीका दिन नदीमा तोरण तारियो भने मोक्ष प्राप्त हुने विश्वासले यसवर्ष धार्मिक रुपमा प्रख्यात पवित्र केलादीघाटमा वैदिक परम्परा अनुसार तोरण तारिएको रामपुर उद्योग वाणिज्य संघका महासचिव पुरुषोत्तम केसीले बताउनुभयो।
धार्मिक महत्व रहेको कालीनदी र यसका महत्वपूर्ण घाटमा विभिन्न परम्परागत सामग्री पाइने भएकाले पनि एकादशीका दिन टाढा टाढाबाट भक्तजनहरु आउने गरेको स्थानीय कमलप्रसाद अधिकारी बताउनुहुन्छ।
एकादशीको दिन घरमा तुलसीलाई सिंगारेर पुजाआजा गरिएको छ। तुलसीको मठ नजिकै विष्णुको प्रतिकका रुपमा निगालाको लिङ्गो गाडेर वैदिक विधिपूर्व पुजाआजा गरी व्रत बस्ने चलन छ। खबरमार्केट डटकममा यो खबर छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










