Awareness

ज्ञवाली र विष्टको साख जोगाउँदै गुल्मी एमाले, ‘प्रतिनिधि छनाेटमा मण्डले प्रवृत्ति’

खबर राजनीतिका खबर

Place for ads

टोपलाल अर्याल, गुल्मी: नेकपा एमालेको दशाैँ राष्ट्रिय महाधिवेशनअन्तर्गत वडा र पालिका अधिवेशन सकिएको छ। शनिबार महाधिवेशन प्रतिनिधिसमेत चयन भएका छन्।

लुम्बिनी प्रदेशको गुल्मी जिल्ला एमालेका प्रभावशाली नेता प्रदीप ज्ञवाली र गोकर्ण विष्टको निर्वाचन क्षेत्र हो। ज्ञवाली र विष्टको क्षेत्र तथा पार्टी फुटपछिको महाधिवेशनका कारण गुल्मीको एमाले राजनीतिलाई विशेष महत्वका साथ हेरिएको छ।

Get Vaccinated

अहिले जिल्ला पार्टी कमिटी दुवै नेताको साख जोगाउने रणनीतिमा छ। जसका कारण वडा, पालिका र महाधिवेशन प्रतिनिधि छनाेटमा अधिकतम सर्वसम्मतको अभ्यास गरिएको नेकपा एमालेका सचिवालय सदस्य गणेश श्रीपालीले बताए। जिल्लाका ९३ मध्ये एक वडामा मात्रै अधिवेशन रोकिएको छ भने १२ स्थानीय तहमध्ये इस्मा गाउँपालिकामा बाहेक सबै गाउँ तथा नगर कमिटीमा सर्वसम्मत नेतृत्व चयन भएको बताइएको छ।

‘वडा र पालिकामा पनि अपवादबाहेक सर्वसम्मत नेतृत्व निर्माण गरेका छौँ। महाधिवेशन प्रतिनिधिमा पनि धेरै आकांक्षी भए पनि एकताका लागि अग्रज नेताहरूसमेत हुनुपर्याे,’ श्रीपालीले भने, ‘राजनीतिक जीवनमा त्याग पनि आवश्यक पर्छ।’

महाधिवेशन प्रतिनिधिको लागि एमाले नेता जीवन खरेल, शेषकान्त गौतम, लक्ष्मण पराजुली, लक्ष्मण विष्ट, हिमाल श्रेष्ट, गणेश श्रीपाली, हिरा एसी, कमला शर्मा, विमला खत्री, सरिता खड्कालगायत पनि अब्बल भए पनि केन्द्रीय नेता ज्ञवाली र विष्टको प्रभावलाई कायम राख्दै केन्द्रलाई सन्देश दिन सबैले एकताको खातिर अवसर गुमाएको एक नेताले बताए।

‘प्रतिनिधि छनाेटमा मण्डले प्रवृत्ति देखियो’
जिल्ला समन्वय समिति प्रमुख तथा एमाले जिल्ला सचिवालय सदस्य लक्ष्मण पराजुलीले एमालेमा नेताको खल्तीबाट नाम निकालेर सर्वसम्मत नेतृत्व भन्नु लज्जास्पद विषय भएको बताए।

Awareness by SKF

वडा, पालिका र महाधिवेशन प्रतिनिधि छनाेटप्रति फरक मत व्यक्त गर्दै पहुँचवालाले पार्टी एकलौटी गरेर सर्वसम्मतको नाममा जनतामा लोकप्रिय व्यक्तिलाई अवसर र निर्वाचन दुवै कुराबाट वञ्चित गराउन नहुने पराजुलीको भनाइ छ। ‘मैले पनि युवा र एकताकै पक्षमा अरूलाई अवसर दिएँ। तर, कसैले पार्टीमा मनपरी पनि गरे,’ उनले भने, ‘थुप्रै नेता असन्तुष्ट बनाएर पार्टी एकताबद्ध बन्दैन।’

रेसुंगा नगरपालिकाका मेयर तथा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य डिल्लीराज भुसालले महाधिवेशन प्रतिनिधि छनाेटमा मण्डले प्रवृत्ति देखिएको धारणा राखे। पार्टीमा त्याग र योगदान भन्दा चाकडी गर्नेहरूले अवसर पाउने भएकाले आफू महाधिवेशन प्रतिनिधिमा समावेश नगरिएको भुसालले बताए। एकता र सर्वसम्मतको नाममा पदाधिकारी तहमा गुट र झुन्ड बटुलेर प्रतिनिधि बनाइएको भुसालको भनाइ छ।

महाधिवेशन प्रतिनिधिका उम्मेदवार शेषकान्त गौतमले आफू प्रतिनिधिमा नपर्नुको कारण आफूलाई थाहा नभएको बताए। प्रतिनिधिमा नपरेका गौतमले एउटा अवसर पार्टी जीवनका लागि ठूलो विषय नभएको पनि बताए। ‘आजको आवश्यकता एकताबद्ध पार्टी निर्माण हो। म प्रतिनिधिमा नपर्नुको कारण छनाेट गर्नेहरूलाई थाहा होला,’ उनले भने, ‘एउटा अवसर पार्टी जीवनमा ठूलो कुरा होइन।’

त्यस्तै मदाने गाउँपालिका उपाध्यक्ष तथा एमाले जिल्ला कमिटी सदस्य सरिता खड्काले पार्टीले सर्वसम्मतको नाममा भूगोललाई बिर्सेको गुनासो गरिन्। महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिए पनि प्रतिनिधि छनाेटमा नपरेकी उनले भनिन्, ‘अवसर ठूलो कुरा होइन। तर, पार्टीमा भूगोलअनुसारका नेता तथा कार्यकर्ताहरूको योगदान बिर्सनुहुँदैन। सदरमुकाम वा सहरकेन्द्रित अवसर वितरण न्यायाेचित छैन।’ नयाँ पत्रिका अनलाइनमा यो खबर छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *