Awareness

मृत्यु अघि अस्पताल लगायतलाई यसरी मिस गरेँ



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Place for ads

प्रेम सुनार, गुल्मी: जब मानिस जीवनको अन्तिम साससंग पंखेजोडी खेलिरहेको हुँदो रहेछ, त्यति बेला उसले जिन्दगीमा सबै भन्दा नजिकको साथीको अवस्था आफू मरेपछि के होला? भन्ने सोच्दो रहेछ।

त्यसपछि परिवार र आफन्त मध्ये स्वास्थ्य र आर्थिक रुपमा सबै भन्दा कमजोरको छ, त्यस बारेमा चिन्ता प्रकट गर्दोरहेछ। अन्तिम मानसपटलमा सारा आफन्तजन, इष्ट-मित्र, बैरी समेत सल्बलाउँदा रहेछन्। आफू डुले घुमेको ठाउँ, बालापनमा आफू हुर्केको घर-आँगन, भित्रि आँखामा नाँच्दा रहेछन्।

Get Vaccinated

अनि स्वास्थ्यमा चाप बढ्दै गए पछि परिवारका सदस्यहरुले उपचारका लागि त्यहाँ जाउँ, फलानो डाक्टरलाई भेटौँ अथवा फलानो धामी झाँक्री खोजौँ भनेर सुझाएको तर आफुले नमानेको कुरा प्रति बहुत पछुतो लाग्दो रहेछ। त्यस्तै आफुले कसैलाई ऋण सापटी दिएको मतलबै हुँदो रहेनछ तर आफूले तिर्नुपर्ने कसैको पैसा वा कुनै जिन्सी बाँकी रहेकोमा परिवारका सदस्यले तिरिदिउन् भन्ने कामना गरिदो रहेछ। त्यही अन्तिम सासमा परिवार तथा आफन्तजनको साथ छोड्न जति गार्हो हुँदो रहेछ त्यति नै आफ्नो पेशा छाड्न पनि निकै कठिन हुँदो रहेछ।

माथि उल्लेखित अनुभूतिहरु कार्तिक १५ गते राति २ बजेदेखि ४ बजेसम्मको म आँफै बिमारी हुँदा सोँचे, कल्पेका अनुभूति हुन्। बुढापाकाहरु भन्छन्, ‘भगवानको काना नपरुन्। मैले पनि यहि कामना गर्छु कि त्यो दिन एक दिन न एक दिन पक्कै आउँछ तर, छिटो नआओस्। र पनि त्यस दिन राति त्यो अवधिमा मैले त्यही अनुभूति गरेँ।

म आज भन्दा १५ वर्षअघि काठमाण्डौँमा सडक दुर्घटनामा परि करिब ३ महिना शिक्षण अस्पतालमा भर्ना भएँ, एकचोटी पखला लागेर छाउनी स्थित सैनिक अस्पतालमा चार दिन भर्ना भएँ। सानै छँदा गाउँ मै सात दिनसम्म पखाला लागेर म’रणाशन्न भएको थिएँ। त्यो बाहेक म अस्पताल भर्ना भएको छैन। बेला-बेलामा स्वास्थ्य परीक्षण गराउन पनि जाने गरेको छैन।

खाली काम, काम अनि काम..। यहि दौडधूपमा मात्रै लाग्ने तर स्वास्थ्यमा ख्याल नगर्ने गरेका कारण श्रीमती र छोरा छोरीहरुबाट मैले कचकच सुनिरहँदै आउनु परेको छ। दशैँ अघि नै मोटरसाईकलमा विभिन्न गाउँमा धौडधुप गर्दा मेरो शरीरमा चिसो घुसेर असर गरिसकेको थियो। चिसो घुस्यो कि कब्जियत सुरु हुन्छ। ग्यास्ट्रिक रहेछ मलाई हालै मात्र थाहा भयो। ‘ग्यास्टिक छ तपाइँलाई हिड्नुस्,अस्पताल’ श्रीमतीले भन्दा मैले टेरिन। गुल्मी अस्पतालका सुमे डाक्टर उत्तम पाच्यलाई पूर्णरुपमा परीक्षण गराउन लैजान आँटेको एक बर्ष भई सक्यो मलाई तर पनि मैले घरको कुरा पटक्कै मानिन। पछिल्लो दुई हप्ता मलाई स्वास्थ्यले पेल्दै जान थाल्यो। अझ पनि मैले मेडिकलहरुमा औषधि किन्दै खान थालेँ तर, अस्पताल गइन। घरमा भने अस्पताल गएर आएँ भनेर ढाँट्दै आएको थिएँ। ती औषधीहरुले निको हुन सकेन।

Awareness by SKF

खान एक गाँस रुच्न छाड्यो। पटक-पटक पेट काटेर हैरानै भएँ। पेट फुलेर दमाह जस्तो भई सक्यो। डकारको ‘ड’ पनि छैन। उकुसमुकुस भईरहेको बेला एक्कासी मलाई रुघा खोकी ज्वरोको बिमार सुरु भयो। त्यस पछि मात्र मलाई को’रोना संक्रमणको भुतले गाँज्न थाल्यो र उनै डाक्टर उत्तम पाच्यलाई भेट्न भनि सकि नसकि कार्तिक १३ गते बिहान करिब साढे ८ बजेको समयमा गुल्मी अस्पतालमा पुग्दै थिएँ।

चिदिचौरमा पुगेर फोन गर्दा डाक्टर पच्याको फोन स्वीच अफ पाएँ। त्यस पछि त्यसै अस्पतालमा मैले पहिल्लैदेखि विश्वास राख्ने सिनियर अहेव रमेश पन्थीलाई फोन गरेँ। उहाँ घरमा हुनुहुँदो रहेछ। तर पनि तत्कालै अस्पलात आई दिनु भयो र तत्काललाई सामान्य परिक्षण पछि केहि औषधी दिनु भयो र ‘भोलि बिहान ८ बजे आउनु तपाईंको छातीको एक्सरे गर्नुपर्छ, ब्लड लगायतको परिक्षण पनि गर्नुपर्छ’ भन्नु भयो र हुन्छ भन्दै फर्किएँ।

तर, अको दिन उहाँले दिएको औषधीले पेट केहि हल्का भएकोले त्यस दिन बिहान म गईन्। त्यसै दिन दिउँसोबाट मलाई रुघाखोकी काँसो र ज्वरोले थप पेल्यो। श्रीमतिले घरबाट बारम्बार को’रोना चेक गराउन जानुस भनेर फोन गरेको गर्यै। यता तम्घास कोठामा छोरीले पनि हिड्नुस चेक गराएर आउँ भनेर कर गरिरहेकी थिइन्। तर, मैले मानिन। कार्तिक १५ गते दिनको कुरा थियो त्यो। म त्यस दिन दिउँसो रुखाखोकीको औषधी किनेर खाएँ। साँझ पनि खान रुचेन। छोरा छोरी भतिजा भतिजी आ-आफ्नो कोठामा सुत्न गए।

उनीहरू भुस परेर निदाए। म भने कोठामा रातै भर रुघाखोकी ज्वरो संग संघर्ष गरिरहेँ। एकातिर पेटको समस्याले पटकपटक घर्सिदै ट्वाइलेटमा। अर्को तिर बारम्बार सुख्खा खोकी। बिहान करिब २ बजे तिर फेरि ट्वाइलेट पुगेँ। त्यति बेला भने मलाई को’रोनाको भुतले छोयो। को”रोना संक्रमणबाट मृत्यु भएका मानिसहरुका परिवारजनले जे-जे लक्षण सुनाउँथे ति ति लक्षण आफूमा पाएँ। पेट काटिरहेको थियो।

COVID-19

त्यही ट्वाइलेटमा बसुञ्जेल यो संसारबाट अन्तिम बिदाइका सारा बिलौनाहरुले मेरो आँखा रसाए। म ‘भन्थिन् उसले त, उत्तम डाक्टरकहाँ जचाउन जाउँ भनेर … थुक्क नमान्दा जाने भईस बेलैमा… पहिला मनमा यहि कुरा आयो। म त जाने नै भएँ बिचरीले दुःख पाउने भई.. भन्दै आँशु थप बर्षियो।

तम्घासको केहि ठाउँमा पैसा तिर्न थियो। सोचेँ, खाएर मर्याे भन्ने होलान्। त्यसपछि ओझेलका खबरका मेरा लाखौँ प्रिय श्रोतालाई सम्झिएँ। मैले ओझेलका खबर को’रोना संक्रमणको दोश्रो लहर सुरु भएदेखि सञ्चालन गर्न सकेको छैन। ओझेलका खबर किन आउँदैन आजकल? भनेर सोध्नेहरुको दिनहुँ कल आउँछ। आगामी हप्तादेखि आउँछ भनेर वचन दिएको थिएँ।

हे बरै म मरेपछि त्यही आवाज र त्यही शैलीमा ओझेलका खबर कसले भन्देला? भन्दै मुटु भक्कानियो। सोचेँ– ‘एउटा म्यासेज लेखेर मेरो मृत्यु पश्चात् पुराना ओझेलका खबरहरु प्रशारण गरिदिनु है। भनेर रेडियोका साथीहरुलाई पठाउँ कि? फेरि मेरो ध्यान क्यामरा र ल्यापटपमा गयो। जसमा निकै महत्वपूर्ण रिर्पोटरुका फुटेजहरु छन्। कैयौं लेख्दै गरेका र पूरा हुन नसकेका स्टोरीहरु छन्।

कति जनाले कहिले आउला भनेर आश गरेर बसेका छन्। हे भगवान… ती कुराहरु मिडियामा नपठाएसम्म काल नआइदिए हुन्थ्यो। यस्तै कुरा अनि ज्वरो रुघाखोकी र कब्जियतले म एक्लै संघर्ष गरिरहेको छु रातैभरी। यस अवधिमा घर्सिदैघर्सिदै किचनमा छिर्छु। मुस्किलले ग्यास जलाउँछु। बेसार, ज्वानो, बिरेनुन पटक-पटक तताउँदै झण्डै एक पाथी पिए हुँला। त्यस पछि मात्र सबै जना उठ्छन्।

तब भने मलाई कसैले अस्पताल जाउँ भनेर कर गर्नै परेनँ। ‘म आफै सकि नसकी गएंँ गुल्मी अस्पतालमा। इमरेन्जेन्जी वार्डको लागि टिकट लिएँ। त्यस वार्डमा मैले चिनेको सिमिचौरकी अहेव बहिनी सम्झना पाण्डे हुनुहुन्थ्यो। उहाँले आफ्नो तर्फबाट चेक गर्नु भयो। र दुई जना मैले चिन्न नसकेका महिला डाक्टर र एक जना पुरुष डाक्टरहरुले सबै कुरा मबाट सोधपुछ गर्दै चेक जाँच गर्नु भयो।

तत्कालै ब्लड परिक्षण, एक्सरे सबै भयो। मलाई यहि डर थियो रिर्पोट आउँदा हे भगवान कोरो’ना संक्रमण नदेखाओस् बरु अरु बिमारले मर्न परोस् भन्ने कामना गरिरहेको थिएँ। त्यही कामना पूरा भयो। औषधि लिएर फर्किएँ। बिहानको डोज सबै खाएँ। दिउँसो दोश्रो डोज खाने बेलासम्म मलाई आधाजसो सबै खाले स्वास्थ्य समस्या ठिक भइसकेको थियो।

साँझ तेश्रो डोज खाएर बिस्तारामा पल्टेको थिएँ। निदाएकै थाहै पाइन। बिहान उठ्दा शरीर यति हलुङ्गो भयो कि बल्ल मलाई साँचो अर्थमा दिपावलीले छोयो र मेरा भित्रि मनले भन्यो ‘थ्याङ्क्स गुल्मी अस्पताल’। गुल्मी अस्पतालप्रति मेरो मनले हिजो बिहान कार्तिक १७ गते त्यसरी आभार प्रकट गरेको हो र आज कार्तिक १८ गते बिहान उठ्न बित्तिकै थप फूर्तिलो भएर बिस्ताराबाटै यी आफ्ना अनुभूतिहरु लेख्न थालेको हुँ।

यस कारण पनि यो अनुभूति लेखेको हुँ कि आफ्नो स्वास्थ्य अवस्था प्रति ख्याल नगर्ने म जस्ताहरु म अस्ति जस्तै झण्डै मृत्युको सँघारमा पुग्न नपरोस्। अनि विगतमा सरकारी अस्पतालमा उपचार राम्रो हुन्न भनेर मेडिकल वा निजी अस्पताल तिरै जने म जस्ताहरु, अहिले मैले जस्तै सरकारी अस्पतालबाटै स्वास्थ्य लाभ लिन परोस्।

बस् पुनः एक पटक गुल्मी अस्पतालका सकल स्वास्थ्यकर्मी परिवारप्रति कृतज्ञता जाहेर गर्दै सबैमा सुस्वास्थ्यको कामना गर्दै दिपावलीको शुभकामना!

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया