गुल्मी: लोकदोहोरीको चर्चित गीत ‘मत ढलेढले’ युट्युबमा १० करोड भ्युज पार गर्दै नेपाली संगीत क्षेत्रमै नयाँ इतिहास रच्न सफल भएको छ। गीतको सफलता पछाडि सर्जकदेखि गायक–गायिका, नृत्य कलाकार, निर्देशक, एरेन्जर, मिडिया, आयोजक तथा दर्शक–श्रोताको ठूलो हात रहेको भन्दै गायिकाले कृतज्ञता व्यक्त गरेकी छिन्।
गीतको यात्राबारे स्मरण गर्दै उनले भनिन्, “मैले आफ्नो जीवन नै गीत–संगीतलाई खर्चेकी थिएँ। गीत–संगीतकै भविष्य खोज्दै दौडिरहेकी म, एकदिन गामबेसी रोधी घरमा राम गुरुङ दाइ, अम्बिका भाउजु र श्रीयसी नानु भेटिनुभयो। त्यही दिन नानुले निकै राम्रो नृत्य गर्नुभयो, त्यसपछि नै सहकार्य गर्ने सोच बनेको हो।”
त्यसपछि नेत्र अर्याल र खेम सेन्चुरीले शब्द तथा लय तयार पारेर गीत निर्माण गरिएको उनले बताइन्। सुरुमा अपेक्षा अनुसार सफल नभए पनि केही समयमै गीतले एकपछि अर्को सफलता बटुल्दै छोटो अवधिमै ५० मिलियन भ्युज पार गरेको र त्यसपछि निरन्तर टिक्दै अहिले १०० मिलियन नाघेको हो।
सफलताको खुसीमा उनले भनेकी छन्, “गीत राम्रो भएपछि म दाइहरूलाई कसरी खुशी बनाउने भनेर सोध्दा खेम दाइले भन्नुभयो – ‘तिम्रा पनि आफ्ना सपना होलान्, पूरा गर, गाडी किन, घर किन तर न आत्तिनु, न मात्तिनु।’ उहाँको त्यो वचनले मेरो आँखा रसाएको थियो।”
गीतको एरेन्जर श्यामश्वेत रसाइली, रेकर्डिङ स्टुडियो प्रिज्म परिवार, रेकर्डिस्ट गोविन्द अनेक, नायक पल शाह, मोडल जुना विश्वकर्मा, श्रीयसी गुरुङ, निर्देशक विनोद भण्डारीलगायतलाई उनले विशेष धन्यवाद दिएकी छिन्।
त्यस्तै, गीतलाई निरन्तर समर्थन गर्ने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा, अमेरिका निवासी राम गुरुङ र अम्बिका गुरुङ, साथै देश–विदेशमा हुने कार्यक्रम आयोजकलाई समेत उनले आभार प्रकट गरेकी छन्।
“यो गीतका कारण मैले महिनामा २७–२८ वटा कार्यक्रम गर्ने अवसर पाएँ, विदेशका कार्यक्रममा बोलाइएँ, नेपाली मात्र होइन विदेशीले पनि रुचाए। बालबालिकादेखि युवासम्मले टिकटकमा प्रयोग गर्दा मेरो खुसीको सीमा न रहेन,” उनले भनिन्।
गीतसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका सम्पूर्ण व्यक्तित्वप्रति सम्मान प्रकट गर्दै उनले भगवानरूपी दर्शक–श्रोताप्रति हृदयदेखि आभार व्यक्त गरेकी छन्। उनी भन्छिन् – “अब छिट्टै अर्को कोसेली लिएर दर्शक–श्रोतासामु आउनेछु।”
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |