राम बहादुर गन्धर्व
बाँके, १८ कात्तिक। सामाजिक, सांस्कृतिक, आर्थिक तथा मानसिक रूपमा दलित समुदायमाथि वर्षौंदेखि हुँदै आएको जातीय तथा वर्गीय विभेद र असमानता अन्त्यका लागि पत्रकारहरूको कलमले महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेमा दलित अगुवाहरूले जोड दिएका छन्।
राष्ट्रिय दलित पत्रकार संघ लुम्बिनी प्रदेश कार्यसमितिले मंगलबार नेपालगन्जमा तिहार, छठ तथा नेपाल संवत्लाई लक्षित गरी आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा दलित अगुवा तथा राजनीतिकर्मीहरूले पत्रकारिताको प्रभावकारी भूमिकाले सदियौँदेखि जकडिएको जातीय विभेद नियन्त्रण र अन्त्यका लागि टेवा पुर्याउन सक्ने बताएका हुन्।
कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशसभा सदस्य सुशीला नेपालीले गरेकी थिइन्। उनले पत्रकारहरूले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गर्दै अब स्थानीय वडा, पालिका, प्रदेश तथा संघीय सरकारसम्म कानुन, नीति र बजेट निर्माणमा समावेशी तथा समानुपातिक पहुँच सुनिश्चित गर्न खबरदारी गर्न आवश्यक रहेको बताइन्।
कार्यक्रमका विशिष्ट अतिथि भेरी अस्पताल नेपालगन्जका प्रमुख डा. नवीन दर्नालले पत्रकारहरूको सकारात्मक भूमिका र निष्पक्ष लेखनले समुदायस्तरदेखि राज्यका विभिन्न निकायसम्म परिवर्तन ल्याउन महत्त्वपूर्ण योगदान पुर्याउने बताए।
त्यस्तै, राष्ट्रिय दलित पत्रकार संघका वरिष्ठ केन्द्रीय उपाध्यक्ष लक्ष्मण दर्नालले दलित पत्रकारहरूको शैक्षिक, प्राविधिक, आर्थिक तथा पेशागत स्तर अभिवृद्धिका लागि सरोकारवाला निकायले विशेष भूमिका खेल्नुपर्नेमा जोड दिए।
कार्यक्रममा बाँके जिल्लाका पत्रकार, पेशागत संगठनका प्रतिनिधि, दलित अधिकारकर्मी, राजनीतिक दलका अगुवा, जनप्रतिनिधि तथा विभिन्न सरोकारवालाहरूको विशेष उपस्थिति रहेको थियो।
राष्ट्रिय दलित पत्रकार संघ लुम्बिनी प्रदेश कार्यसमितिका अध्यक्ष टेकेन्द्र बस्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत बाँके जिल्ला अध्यक्ष कविन्द्र परियारले गरेका थिए भने सञ्चालन सचिव अनिल नेपालीले गरेका थिए।
पोस्ट मिति : ४ नोभेम्बर २०२६
समय : १४ : ५
ओझेलका खबर — खबर भित्रको खबर
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |









