बुटवल । आज दिउँसो करिब १२ः१० बजे नवलपरासीको रामग्राम नगरपालिका–२ स्थित सेतो पुल नजिकै हुलाकी सडकमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा रुपन्देहीका पत्रकार पोसकान्त पोखरेलको मृत्यु भएको छ।
रिपोर्टिङका लागि नवलपरासी जाँदै गर्नुभएका पोखरेल दुर्घटनामा गम्भीर घाइते हुनुभएको थियो। उहाँलाई उपचारका लागि जिल्ला अस्पताल परासी पुर्याइएकोमा दिउँसो १२ः२० बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
घटनापछि रुपन्देहीको पत्रकारिता क्षेत्र स्तब्ध बनेको छ। नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे र पत्रकार केशव भण्डारीले पोखरेलको पत्रकारिता यात्रा र असामयिक निधनबारे दुःख व्यक्त गर्नुभएको छ।
पाण्डेले पोखरेलको पत्रकारिता यात्रा लामो र गर्विलो रहेको बताउनुभयो।
अध्यक्ष पाण्डेले भन्नू भयो – “उहाँको पत्रकारितामा लामै इतिहास थियो । म अहिले जिल्ला प्रहरी कार्यालय नवलपरासीमा त्यही घटनाको सिलसिलामा छु,”
रुपन्देहीका पत्रकार केशव भण्डारीले पोखरेलको पुर्ख्यौली घर पाल्पाको सोमादी रहेको जानकारी दिनुभयो। उहाँ रुपन्देहीमा बसेर आर्थिक दैनिकमा काम गर्नुका साथै आफ्नै सञ्चारमाध्यमसमेत सञ्चालन गर्दै आउनुभएको भण्डारीले बताउनुभयो।
“रिपोर्टिङकै सिलसिलामा आज उहाँको दुर्घटनामा परी भएको मृत्युको खबरले हामी स्तब्ध छौँ,” भण्डारीले भन्नुभयो।
पोखरेल तिलोत्तमा नगरपालिका–१३ भलवारी निवासी हुनुहुन्थ्यो। उहाँ रुपन्देहीमा रहेर पत्रकारितामा सक्रिय हुनुका साथै ‘अग्निपरीक्षा’ साप्ताहिक प्रकाशनमा संलग्न हुनुहुन्थ्यो। उहाँका नाममा ‘अग्निपरीक्षा’ अनलाइनमा प्रकाशित समाचार सामग्रीसमेत भेटिन्छन्।
दुर्घटनामा संलग्न ट्रक र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। ट्रक चालक कञ्चनपुरको लालझाडी गाउँपालिका–६ निवासी २६ वर्षीय बन्धु रानालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।
रिपोर्टिङका लागि निस्किएको यात्राकै क्रममा भएको दुर्घटनाले पत्रकार पोखरेलको जीवनयात्रा टुंग्याएको छ। उहाँको निधनले रुपन्देहीसहित पत्रकारिता क्षेत्रमा दुःखद क्षति पुगेको छ ।
ओझेलका खबर दिवंगत पत्रकार पोसकान्त पोखरेलप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा पत्रकारिता क्षेत्रप्रति गहिरो समवेदना व्यक्त गर्दछ।
……
पोस्ट मिति : २०८३ कात्तिक १३ गते
समय : अपरान्ह ५ .१५ बजे
……….
ओझेलका खबर — खबर भित्रको खबर
।
………..
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगर्न अनुरोध गर्दछौँ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |









