– विश्लेषण: ‘ओझेलका खबर’ डेस्क
नेपालको प्रशासनिक संयन्त्र (निजामती सेवा) लाई प्रायः ढिलासुस्ती, नोकरशाही तन्त्र र सेवाग्राहीप्रतिको उदासीनताका कारण आलोचनाको घेरामा राखिने गरिन्छ। तर, यही सेवाभित्र बसेर नेतृत्व सम्हालिरहेका प्रशासकहरू जब निष्ठा र सुशासनको वकालत गर्दै कलम चलाउँछन्, त्यसले नागरिकमा एउटा नयाँ आशा जगाउँछ।
निजामती सेवा दिवस २०८३ को सन्दर्भ पारेर गुल्मीका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले रचना गर्नुभएको कविता ‘प्रिय कर्मचारी’ प्रशासनिक सुधारको त्यस्तै एउटा सशक्त आवाज हो।
१. राज्यको पहरेदार र सुशासनको जग
प्रशासक गैरेले कविताको पहिलो हरफमै कर्मचारीलाई राज्यको मेरुदण्डका रूपमा स्वीकार गर्दै सेवाग्राहीप्रतिको जिम्मेवारी बोध गराउनुभएको छ:
“तिमी नै राष्ट्रको पहरेदार हौ
तिमी नै सुशासनको आधार हौ
तिमी विना न समृद्धि आउँछ
न वेथितिले निकास पाउँछ।”
राजनीतिक नेतृत्वले नीति निर्माण गरे पनि त्यसलाई कार्यान्वयन गर्ने र नागरिकको ढोकासम्म राज्यको उपस्थिति जनाउने माध्यम कर्मचारी नै हुन्। समृद्धिको आधार र सुशासनको पहरेदार बन्न छाडेर जब कर्मचारी स्वयं व्यवस्थाको बोझ बन्छन्, तब मुलुकले निकास पाउँदैन भन्ने सत्यलाई प्रजिअ गैरेले कवितामा प्रस्ट पार्नुभएको छ।
२. कानुनको रक्षा र निष्पक्षताको आव्हान
सामान्यतया कर्मचारीतन्त्रमाथि राजनीतिक दबाब वा व्यक्तिगत लाभका अगाडि झुक्ने गरेको आरोप लाग्ने गर्छ। यसै सन्दर्भमा कवि तथा प्रशासक गैरेले कर्मचारीलाई कुनै पनि प्रलोभन वा धम्कीसामु नझुकी निष्पक्ष बन्न उत्प्रेरित गर्नुभएको छ:
“तिमी मुकदर्शक नहुनु
कसैको गुलामी नबन्नु
जनताको सच्चा सलामी बन्नु
नराख्नु काेहीसँग आग्रह पुर्वाग्रह
गरेर देखाउनु विभेद विरूद्ध विद्रोह।”
यी पङ्क्तिहरूले कर्मचारीलाई केवल एउटा कारिन्दा मात्र नभई सामाजिक विभेद र बेथितिविरुद्ध उभिने सचेत नागरिकका रूपमा चित्रित गरेका छन्। कसैको ‘गुलामी’ नगरी तटस्थ र निष्पक्ष सेवा दिनु नै निजामती धर्म हो भन्ने सन्देश यहाँ छ।
३. शासकीय दृष्टिकोण: ‘के पाएँ होइन, के दिएँ’ ?
प्रशासनिक सेवामा प्रवेश गरेपछि अधिकार र सुविधाको खोजी गर्ने तर कर्तव्यबाट पन्छिने प्रवृत्तिका विरुद्ध कविताले गीताको निष्काम कर्मयोग जस्तै गम्भीर दर्शन पस्किएको छ:
“के पाएँ हैन के दिएँ भनेर हेर्नु
यहि हो अवसर देशको मुहार फेर्नु।”
राष्ट्र निर्माणमा कर्मचारीको रचनात्मकता र सकारात्मक सोच कति महत्त्वपूर्ण हुन्छ भन्ने कुरालाई यस पङ्क्तिले उजागर गरेको छ।
४. शब्द र कर्मको तादात्म्य: औपचारिक भड्किलोपन छाडेर राहत कोषमा सहयोग
यो कविताको सौन्दर्य र वजन त्यतिबेला अझ बढेर जान्छ, जब कवितामा भनिएका आदर्शहरूलाई प्रजिअ ज्ञवाली र कर्मचारी मिलन केन्द्र गुल्मीले व्यवहारमै उतारेका छन्।
भोटेकोशी र त्रिशूलीमा आएको अकल्पनीय बाढीका कारण मुलुक शोक र पीडामा रहेको समयमा औपचारिक औपचारिक कार्यक्रम, खादा-माला र भोजभतेर स्थगित गरी ‘कर्मचारी मिलन केन्द्र गुल्मी’ का तर्फबाट प्रधानमन्त्री राहत कोषमा रु. ५० हजार जम्मा गर्ने निर्णय गरियो।
कवितामा लेखिएझैँ “तिमी अनुकरणीय हुनु” र “तिमी जनताको सेवक हौ” भन्ने शब्दहरूलाई प्रजिअ गैरेले कवितामा मात्रै होईन व्यवहारमै प्रमाणित गरेर देखाएको सरोकारवाला बताउछन् । औपचारिकतामा बजेट सिध्याउनुभन्दा पीडितको घाउमा मलम लगाउनु नै साँचो अर्थमा ‘निजामती सेवा दिवस‘ मनाउनु हो भन्ने उहाँको सन्देश छ।
गुल्मीका प्रजिअ गैरेको यो काव्यिक आह्वान केवल निजामती कर्मचारीका लागि मात्र नभएर सार्वजनिक पदधारण गरेका हरेक व्यक्तिका लागि आत्मसमीक्षाको दर्पण हो। ‘अप्रिय’, ‘मुकदर्शक’ र ‘बेथितिको पर्याय’ नबनी जनताको सच्चा ‘ सेव्क ‘ बन्न सके मात्र निजामती सेवाले आफ्नो गरिमा र सार्थकता जोगाउन सक्छ भन्ने गैरेको निष्कर्ष छ ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |









