३० जेठ/बागलुङ (खर्बाङ): त्रिभुवन नमुना माध्यमिक विद्यालय बडिगाड गाउँपालिका २, खर्वाङमा अध्ययनरत २ सय ४९ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ। नेपाल सरकारको दलित तथा छात्रा छात्रवृत्ति एवं अक्षयकोषदाताहरुको सहयोग र विद्यालयको आन्तरिक स्रोतबाट १ लाख ७९ हजार ९ सय रुपैयाँ वितरण गरिएको लेखापाल गिता पोखरेलले जानकारी दिनुभएको छ।
नेपाल सरकारको कक्षा १–५ का छात्र तथा दलित विद्यार्थीहरुको लागि वितरण गरिने जनही ४ सय रुपियाँको छात्रवृत्ति १ सय ७६ जनालाई तथा विद्यालयमा रहेका अक्षयकोष दाताको व्याज रकम र विद्यालयको आन्तरिक स्रोतबाट जनहि १५ सयका दरले पूर्ण छात्रवृत्ति ७३ जनालाई वितरण गरिएको विद्यालयले जनाएको छ। विद्यालयमा विपन्न लक्षित छात्रवृत्ति (पिएमटि) प्राप्त गरेका कक्षा १० मा १४ जना, कक्षा ७ मा १९ जना विद्यार्थीहरुले अध्ययन गरिरहेको र यो वर्ष कक्षा ६ मा १५ जना र कक्षा ९ मा २३ जना विद्यार्थी छात्रवृत्तिको लागि छनौट भएको प्रधानाध्यापक ढालमणि भण्डारीले जानकारी दिनुभएको छ। विपन्न लक्षित छात्रवृत्ति अन्तरगत प्रतिविद्यार्थी वार्षिक ६ हजार स्वयं विद्यार्थीकै खातामा नेपाल सरकारले उपलब्ध गराउँदै आएको छ।
जिल्लामै सामुदायिक विद्यालय तर्फ प्राथमिक तहमा सबैभन्दा धेरै विद्यार्थी रहेको त्रिभुवन नमुना माविमा हाल ११ सय भन्दा बढि विद्यार्थीले अध्ययन गरिरहेका छन्। बडिगाड गाउँपालिकामा कक्षा ११, १२ तर्फ विज्ञान विषय पढाइहुने यो एक मात्र विद्यालय हो। जहाँ प्राविधिक धार तर्फ कक्षा ९ देखि १२ सम्म वालिविज्ञान विषयमा पढाइ हुँदै आएको छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







