जनमोर्चा र नेकपाबीच चुनावी सहकार्य
माघ ७, बागलुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बागलुङ जिल्लाका दुई निर्वाचन क्षेत्रमा कुल २३ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन क्षेत्र नम्बर १ मा ११ जना र निर्वाचन क्षेत्र नम्बर २ मा १२ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
निर्वाचन क्षेत्र नम्बर १
क्षेत्र नम्बर १ का सहायक निर्वाचन अधिकृत पूर्णप्रसाद शर्माका अनुसार नेपाली कांग्रेसबाट भीमबहादुर श्रीस राना, नेकपा एमालेबाट हिराबहादुर केसी, राष्ट्रिय जनमोर्चाबाट कृष्णप्रसाद अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुशील खड्का तथा प्रगतिशील लोकतान्त्रिक पार्टीबाट चित्रप्रसाद सापकोटाले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट कल्याण आचार्य, श्रम संस्कृति पार्टीबाट लालबहादुर घर्ती, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट टेकबहादुर केसी, मंगोल नेशनल अर्गनाइजेशनबाट गुमाकुमारी बुढा रानामगर, नेपाल मानवतावादी पार्टीबाट भक्तबहादुर विक तथा नेशनल रिपब्लिक नेपालबाट सहविर थापाले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
यस निर्वाचन क्षेत्रमा ४८ मतदानस्थलका ११५ मतदान केन्द्रमार्फत ९८ हजार ८४६ मतदाताले मतदान गर्ने निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचन क्षेत्र नम्बर २
क्षेत्र नम्बर २ का सहायक निर्वाचन अधिकृत ऋषिराम रिजालका अनुसार नेपाली कांग्रेसबाट टेकराज पौडेल, नेकपा एमालेबाट मञ्जु शर्मा चालिसे, नेपाली कम्युनिस्ट पार्टीबाट ज्ञामनाथ गैरे, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अञ्चल शाही र राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोम शर्माले उम्मेदवारी दिएका छन् ।
यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पदमबहादुर कुँवर, जनता समाजवादी पार्टी (जसपा)बाट पूर्णबहादुर घर्तीमगर, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट लोकेन्द्र घिमिरे, श्रम संस्कृति पार्टीबाट हर्कबहादुर पुन, मंगोल नेशनल अर्गनाइजेशनबाट जुनबहादुर थापा, मानवतावादी पार्टीबाट टेकप्रसाद कामी तथा नेशनल रिपब्लिक पार्टीबाट नरबहादुर बुढाले उम्मेदवारी दर्ता गराएका छन् ।
यस निर्वाचन क्षेत्रमा ५९ मतदानस्थलका ११५ मतदान केन्द्रमा ९५ हजार ३३५ मतदाता रहेका छन् ।
जनमोर्चा र नेकपाबीच चुनावी सहकार्य
बागलुङमा राष्ट्रिय जनमोर्चा र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच चुनावी सहकार्य भएको छ । दुई दलबीच भएको सहमतिअनुसार निर्वाचन क्षेत्र नम्बर १ मा जनमोर्चाका उम्मेदवारलाई नेकपाले समर्थन गर्ने र निर्वाचन क्षेत्र नम्बर २ मा नेकपाका उम्मेदवारलाई जनमोर्चाले समर्थन गर्ने निर्णय गरिएको हो ।
यसअनुसार क्षेत्र नम्बर १ मा जनमोर्चाका उम्मेदवार कृष्णप्रसाद अधिकारीलाई नेकपाले समर्थन गरेको छ भने क्षेत्र नम्बर २ मा जनमोर्चाले नेकपाका नेता ज्ञामनाथ गैरे (अनिल)लाई समर्थन गरेको छ ।
यसअघि क्षेत्र नम्बर १ बाट जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित भएका थिए भने क्षेत्र नम्बर २ बाट नेकपा नेता देवेन्द्र पौडेल विजयी भएका थिए । हाल चित्रबहादुर केसी समानुपातिकतर्फ रहेका छन् भने देवेन्द्र पौडेल नवलपरासी पश्चिमबाट उम्मेदवार बनेपछि क्षेत्र नम्बर २ मा ज्ञामनाथ गैरेले टिकट पाएका हुन् ।
२०७९ सालको निर्वाचनमा क्षेत्र नम्बर १ बाट पाँचदलीय गठबन्धनका तर्फबाट जनमोर्चाका चित्रबहादुर केसी २९ हजार ४५१ मत ल्याएर विजयी भएका थिए । सो निर्वाचनमा नेकपा एमालेका सूर्य पाठकले १८ हजार ८२५ र राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले ९ हजार १८१ मत प्राप्त गरेका थिए ।
त्यस्तै क्षेत्र नम्बर २ मा गठबन्धनका तर्फबाट देवेन्द्र पौडेल २४ हजार ७७९ मत ल्याएर विजयी भएका थिए भने एमालेकी मञ्जु शर्मा चालिसेले २० हजार १८० मत प्राप्त गरेकी थिइन् । यस क्षेत्रमा पार्टीमा लामो योगदान गरे पनि अवसर नपाएको भनेर चिनिएका ज्ञामनाथ गैरेलाई उम्मेदवार बनाउँदा नेकपाले सहानुभूति मत पाउने अपेक्षा गरिएको छ ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










