गुल्मी: गुल्मी जिल्लाको मुसिकोट नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नगर समिति औपचारिक रूपमा गठन गरिएको छ। स्थानीय तहमा पार्टी संगठन विस्तार र वैकल्पिक राजनीतिक धारलाई संस्थागत गर्ने उद्देश्यका साथ आयोजित उक्त कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो।
कार्यक्रमबाट राष्ट्रिय स्वतन्त्र पार्टी मुसिकोट नगर समिति सर्वसम्मत रूपमा गठन गरिएको छ। समितिको सभापतिमा सुभास जिसी सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ। जिसी शैक्षिक व्यवसायी एवं सामाजिक व्यक्ति हुनुहुन्छ। उहाँको नेतृत्वमा पार्टी संगठनलाई स्थानीय स्तरमा मजबुत बनाउँदै नागरिकमुखी र जिम्मेवार राजनीतिक अभ्यास अघि बढाइने विश्वास व्यक्त गरिएको छ।
उक्त अवसरमा नेकपा एमाले र नेपाली कांग्रेस परित्याग गरी ५२ जना नागरिकले औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्। लामो समयदेखि परम्परागत राजनीतिक दलको कार्यशैलीबाट निराश भएका नागरिकहरूले वैकल्पिक राजनीतिक शक्तिका रूपमा रास्वपालाई रोजेको बताएका छन्।
कार्यक्रममा करिब १५० जना स्थानीय नागरिक, पार्टीका शुभेच्छुक तथा समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले सुशासन, पारदर्शिता र जवाफदेहितामा आधारित नयाँ राजनीतिक संस्कार स्थापना गर्न रास्वपाले अघि सारेको दृष्टिकोणको प्रशंसा गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय स्वतन्त्र पार्टीका संगठन विभाग सदस्य सुशील अधिकारी रहनुभएको थियो। उहाँले आफ्नो सम्बोधनमा देशमा परिवर्तनको चाहना बोकेका नागरिकहरू क्रमशः एकजुट हुँदै गएको उल्लेख गर्दै मुसिकोटमा भएको पार्टी गठन र संगठन विस्तारलाई ऐतिहासिक उपलब्धिका रूपमा चित्रण गर्नुभयो। उहाँले नयाँ नेतृत्वलाई जनअपेक्षा अनुसार जिम्मेवारीपूर्वक अघि बढ्न आग्रह समेत गर्नुभयो।
मुसिकोट, वामीस्थित दरबार होटलमा सम्पन्न उक्त कार्यक्रमले राष्ट्रिय स्वतन्त्र पार्टीको स्थानीय संगठनलाई थप सशक्त बनाउने विश्वास लिइएको छ। कार्यक्रमको अन्त्यमा नवगठित समितिले पार्टीको नीति, सिद्धान्त र कार्यक्रमलाई घर–घरमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेको थियो।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |








