गलकोट, पुष १०: गलकोट नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई सहज, सम्मानजनक र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यसहित घरदैलोमै डिजिटल अपाङ्गता परिचय–पत्र वितरण कार्यक्रम सञ्चालन गरेको छ।
नगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाद्वारा आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रमअन्तर्गत शारीरिक तथा स्वास्थ्य अवस्थाका कारण कार्यालयसम्म पुग्न कठिनाइ हुने अपाङ्गता भएका व्यक्तिहरूको निवासमै पुगेर डिजिटल अपाङ्गता परिचय–पत्र प्रदान गरिएको नगरपालिकाले जनाएको छ।
अपाङ्गता परिचय–पत्र वितरणसम्बन्धी समन्वय समितिका संयोजक तथा गलकोट नगरपालिकाका नगर उप–प्रमुख फमलाल निउरेको संयोजकत्वमा वडा नम्बर ४, ५ र ८ मा बसोबास गर्ने अपाङ्गता भएका व्यक्तिहरूलाई घरमै सेवा प्रदान गरिएको हो। नगरपालिकाका अनुसार यस अभियानलाई क्रमिक रूपमा अन्य वडाहरूमा पनि विस्तार गरिनेछ।
परिचय–पत्र हस्तान्तरण गर्दै नगर उप–प्रमुख निउरेले अपाङ्गता भएका व्यक्तिहरूले राज्यबाट प्राप्त गर्ने सेवा, सुविधा र अधिकारमा कुनै पनि किसिमको अवरोध हुनु नहुने स्पष्ट गर्नुभयो। उहाँले डिजिटल प्रणालीमार्फत परिचय–पत्र वितरण गर्दा सेवा छिटो, सुरक्षित र पारदर्शी हुने उल्लेख गर्दै अपाङ्गता भएका व्यक्तिको सम्मान र पहिचान सुनिश्चित गर्नु स्थानीय सरकारको दायित्व भएको बताउनुभयो।
कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष पवन हमाल, वडा नम्बर ८ का वडा अध्यक्ष तेजप्रसाद सापकोटा, नगर कार्यपालिका सदस्य टिका सुवेदी, गलकोट नगर अस्पतालका प्रमुख डा. राजेश पौडेल, कृषि अधिकृत संगिता श्रीस, जनजागृति माध्यमिक विद्यालयका प्रधानाध्यापक तेजेन्द्र बुढाथोकीलगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूले गलकोट नगरपालिकाले घरदैलोमै सेवा प्रवाह गर्ने अभ्यासलाई प्रशंसनीय बताउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिएका छन्। नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको पहिचान, अधिकार सुनिश्चितता, सामाजिक समावेशीकरण र सम्मानजनक जीवनयापनका लागि आगामी दिनमा पनि आवश्यक नीति, कार्यक्रम तथा बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |








