बागलुङ: मुस्ताङका हिमाली बस्तीहरूमा परम्परागत रूपमा चल्दै आएका पानीघट्ट (Water Mill) आज लोप हुने अवस्थामा पुगेका छन्। कुनै समय प्रत्येक गाउँबस्तीमा अन्न पिस्ने मुख्य माध्यम बनेका यी घट्टहरू अहिले विद्युतीय मेसिनको प्रयोग र प्रविधिको तीव्र विकाससँगै हराउँदै गएका हुन्।
पहिले खोला, हिमनदी र सिँचाइ कुलोको पानीको सहायताले चल्ने पानीघट्टहरू उवा, जौ, फापर, गहुँ, मकै लगायतका रैथाने बाली पिस्ने प्रमुख प्रविधि थिए। तर अहिले ती पुराना घट्टहरू बिस्तारै नष्ट हुँदै गएका छन्।
घरपझोङ–५ ठिनीमा अझै पनि एउटा सामूहिक पानीघट्ट सञ्चालनमा छ। उक्त घट्ट स्थानीय हिमा गुरुङले गाउँका बासिन्दाबाट वार्षिक तीन हजार रुपैयाँ शुल्क लिई सञ्चालन गर्दै आएकी छन्। उनले पछिल्ला दुई वर्षदेखि घट्ट सञ्चालन गर्दै आएकी बताइन्।
हिमाले भनिन्, “पानीघट्टको फाइदा बुझ्नेहरूले अझै पनि घट्टमा पिस्न आउनुहुन्छ। यहाँ फापर, उवा, जौँ, गहुँ र मकै पिस्ने गरिएको छ।”
उनीका अनुसार, एक मुरी अन्न पिस्दा एक पाथी ज्याला लिने प्रचलन अझै कायम छ। खेतीपातीको सिजनमा सिँचाइको पानी घट्टमा मोड्न नसक्ने भएकाले खाली समयमा मात्र घट्ट सञ्चालन हुने गरेको उनले बताइन्।
जोमसोमकी प्रमिता थकालीका अनुसार, पानीघट्टमा पिसेको पीठोको स्वाद र गुण दुवै फरक हुन्छ। उनले भनिन्, “पानीघट्टमा पिसेको अन्नबालीको परिकार स्वादिलो, स्वास्थ्यवद्र्धक र लामो समयसम्म टिक्ने हुन्छ। त्यसैले म हरेक वर्ष फापर पिस्न घट्टमै आउँछु।”
त्यसैगरी, ठिनीकी सीमा थकाली, जो अहिले पोखरामा बस्दै आएकी छिन्, पनि आफ्ना परिकारका लागि घट्टमा पिसेको सातु प्रयोग गर्ने बताउँछिन्। “मेसिनको पिठो छिटो बिग्रन्छ, घट्टको भने स्वादिलो र टिकाउ हुन्छ,” उनले भनिन्।
स्थानीयहरूका अनुसार, अहिले जलवायु परिवर्तनका कारण हिमनदीहरू सुक्दै गएपछि पानी घट्दै गइरहेको छ, जसले गर्दा घट्ट सञ्चालनमा थप चुनौती बढेको छ। जोमसोममा रहेका दुई घट्टमध्ये एक पूरै बन्द भएको र अर्को पनि सिँचाइ कुलोको पानी अभावले कहिलेकाहीँ मात्र चल्ने गरेको उनीहरू बताउँछन्।
स्थानीय बासिन्दाहरूले सरकार र समुदाय दुबैको पहल बिना यो मौलिक प्रविधि र संस्कृतिको संरक्षण कठिन हुने बताएका छन्।
पानीघट्ट केवल अन्न पिस्ने प्रविधि होइन, यो हिमाली संस्कृतिको अमूल्य सम्पदा हो।
स्थानीयहरूले यसलाई संरक्षण गर्न नसकिए, मुस्ताङका गाउँबस्तीबाट यो मौलिक परम्परा सदाका लागि हराउने खतरा बढ्दै गएको बताएका छन्।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |









