बागलुङ: निर्माण व्यवसायीको चरम लापरवाहीका कारण बागलुङको मध्यपहाडी पुष्पलाल लोकमार्गको बिहुँखण्ड नौ वर्ष बित्दा पनि कालोपत्र नहुँदा स्थानीयवासी आन्दोलित बनेका छन्।
धुलाम्मे र हिलाम्मे सडकका कारण खेतीपातीमा क्षति पुगेको, सुन्तला खेती नष्ट भएको र स्वास्थ्यमा समेत समस्या देखिएको भन्दै स्थानीयले आइतबार बागलुङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) समक्ष ध्यानाकर्षण पत्र बुझाएका हुन्।
बिहुँकोटबासीले ठेकेदारले तत्काल काम सुरु नगरे मंसिर १ गतेदेखि सडक पूर्णरूपमा बन्द गर्ने चेतावनी दिएका छन्।
लोकमार्गको बागलुङ बजारदेखि घोडाबाँधे खण्डसम्मको २६ किलोमिटर सडक दुई वर्षभित्र कालोपत्र गर्ने सम्झौता आर्थिक वर्ष २०७२/७३ मा गरिएको थियो। तर नौ वर्ष बित्दा पनि अझै १२ किलोमिटर सडक अलपत्र छ।
यसअघिको ठेक्का पाँच पटक म्याद थप्दा पनि काम नसकेपछि रद्द गरी नयाँ सम्झौता गरिएको थियो। तर नयाँ ठेक्का सम्झौता भएको एक वर्ष बित्दासमेत भौतिक प्रगति जम्मा १२ प्रतिशत मात्र भएको स्थानीयले बताएका छन्।
काठेखोला गाउँपालिका–५ र ६ का स्थानीयवासीले वडा अध्यक्ष ज्ञामनाथ कँडेल र बृहस्पती कँडेलको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेर चार बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन्।
स्थानीय भरतप्रसाद सापकोटाले धुलोका कारण स्वास्थ्य समस्या बढेको भन्दै “बाँच्न पाउने अधिकारसमेत हनन् भएको” बताएका छन्। उनका अनुसार सडकको ढिलासुस्तीले खेतीपाती र सुन्तला उत्पादनमा समेत ठुलो असर पारेको छ।
लोकमार्ग आयोजना कार्यालय पर्वत र निर्माण व्यवसायीले स्थानीयको मागमा ध्यान नदिएको उनीहरूको आरोप छ।
गतवर्ष असार २१ गते तामाङ–रिजाल भगवती जेभीसँग २१ करोड ४९ लाख रुपैयाँमा नयाँ ठेक्का सम्झौता गरिएको थियो। दुई वर्षभित्र बाँकी पूर्वाधार निर्माण र कालोपत्र कार्य सम्पन्न गर्ने सर्तमा सम्झौता भए पनि प्रगति निकै सुस्त रहेको छ।
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड १४० किलोमिटर लामो छ। सबै खण्ड कालोपत्र सकिँदा पनि बिहुँ खण्डको १२ किलोमिटर सडक भने अझै कालोपत्र हुन सकेको छैन, जसले स्थानीयमा आक्रोश बढाएको छ।
प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले मंसिर महिनाभित्र मध्यपहाडी लोकमार्ग कार्यालय, ठेकेदार र स्थानीयबीच बैठक बसी समस्या समाधान गर्ने आश्वासन दिएका छन्।
मध्यपहाडी पुष्पलाल लोकमार्ग पर्वत कार्यालयकी इन्जिनियर कल्पना मिश्रका अनुसार निर्माण व्यवसायीलाई ताकेता गरेपछि केही काम सुरु भएको भए पनि गती पर्याप्त छैन।
स्थानीयले यदि निर्धारित समयभित्र कालोपत्र कार्य सुरु नभए सडक पूर्ण रूपमा बन्द गरी चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |









