गुल्मी: गुल्मीको छत्रकोटमा साहसिक खेल जिपलाइनमा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ। जिल्लाकाे छत्रकोट गाउँपालिकाले संचालनमा ल्याएको जिपलाइनमा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको हो।
जिपलाइन संचालनमा आएको दुई महिनामै आन्तारिक तथा बाह्य पर्यटहकहरूको चहलपहल बढ्ने क्रम बढेको हो । गाउँपालिकाको वडा नम्बर ३ छत्रकोट देवालय मन्दिरदेखि अर्को भगवती मन्दिर लुम्छा सम्म पुग्ने गरी निर्माण भएको जिपलाइन गएको पुस महिनाबाट संचालनमा आएको हो । यस अवधिमा आठ सय ३६ जनाले साहसिक खेल जिपलाइन खेलका छन् । जसबाट तीन लाख ८२ हजार नाै सय ५० रुपैयाँ राजस्व संकलन भएको गाउँपालिकाका सूचना अधिकारी हरि टण्डनले जानकारी दिए । पछिल्लो समय छत्रकोट देवालय मन्दिर परिसर जिपलाइनमा आउनेको संख्या वृद्धिसँगै चहलपहल पनि बढिरहेको उनलेे बताए ।
जिपलाइन खेल्नका लागि गाउँपालिका बासीहरूकाे लागि प्रति व्यक्ति चार सय रुपैयाँ, विद्यार्थीहरूका लागि प्रति विद्यार्थी तीन सय रुपैयाँ, पालिका बाहिरका नागरिकको लागि प्रति व्यक्ति पाँच सय रुपैयाँ र विदेशी नागरिकको लागि प्रति व्यक्ति एक हजार पाँच सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । पालिकाले पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले छत्रकोट देवालय मन्दिरबाट देवी भगवती मन्दिरसम्म पुग्ने गरी जिपलाइन निर्माण गरेको हो ।
गाउँपालिकाले ‘रुरु रेसुङ्गाको धार्मिक आस, छत्रकोटमा बसौं बास’ भन्ने नीति नै बनाएर पर्यटकीय गन्तव्य निर्माण र संचालन गर्ने कार्यलाई तीव्र अगाडि बढाएको छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए । पालिकाले पर्यटन प्रवर्द्धन गर्न पालिका भित्र संरचना निर्माणसँगै धार्मिक, साँस्कृतिक र पुरातात्विक महत्वका धार्मिक तथा पर्यटकीय स्थलको संरक्षण, सम्बर्द्धन र प्रचारप्रसार गरेर आन्तरिक पर्यटनलाई थप प्रभावकारी बनाउने गरि अगाडी बढेको गाउँपालिका अध्यक्ष पाण्डेले बताएका छन् ।
एक हजार ८० मिटर लम्बाई रहेको जिपलाइनको ६७ मिटर उचाइ रहेको छ । जिपलाइनमा औसत १५ देखि २० मिटर प्रतिसेकेन्डमा तौल अनुसारको गति रहेको छ । सुरु स्टेशनदेखि ल्याडिन्ङ हुने स्टेशनसम्म पुग्न अधिकतम ५५ देखि ७७ सेकेन्ड समय लाग्ने अनुमान गर्दछ । जिपलाइन कुल ८६ लाख ७३ हजार एक सय ४४ रुपैयाँ लागतमा निर्माण भएको हो । लुम्बिनी प्रदेश सरकार र छत्रकोट गाउँपालिकाको समपुरक बजेटमा सानु सेतीदेवी कन्ट्रक्सन प्रा.लि.ले निर्माण गरेको थियो ।
छत्रकोट देवालय मन्दिर परिसरमा निर्माण गरिएको जिपलाइनले मन्दिरसम्म पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको लागि पनि थप टेवा पुगेको छ । जिपलाइन मदन भण्डारी राजमार्ग अन्तर्गत रिडी-तम्घास सडकको नजिकै निर्माण भएकाले जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य बन्ने आशा पालिकाले लिएको छ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |