अनिल खत्री, गुल्मी: गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले तीन वटा विधेयक पारित गरेको छ। आइतबार बसेको नगरपालिकाको १६ औं नगरसभाको दोस्रो बैठकले तीनवटा विधेयक पास गरेको हो। रेसुङ्गा नगरपालिका पर्यटन विकास विधेयक २०८१, रेसुंगा नगरपालिका बजार व्यावस्थापन तथा अनुगमन विधेयक २०८१ र रेसुङ्गा नगरपालिकाको स्थानीय वन विधेयक २०८१ नगरसभामा सर्वसम्मत पास भएका हुन् । रेसुङ्गा नगरपालिका नगरप्रमुख खिलध्वज पन्थीले प्रस्तुत प्रस्ताव निर्णयर्थ प्रस्तुत गरेका थिए ।
पुस ९ गते सम्पन्न पहिलो बैठकमा विधायन समितिका संयोजक कृष्णप्रसाद पाण्डेले नगरसभामा यी तीनवटा विधेयक नगरसभामा प्रस्तुत गरेका थिए । रेसुङ्गा नगरपालिका बजार व्यावस्थापन तथा अनुगमन विधेयक २०८१ मा सभासदस्य यज्ञमूर्ती थापा श्रीसले नगरपालिका भित्र संचालन गरिने मेला, महोत्सवको आय अग्रिम नगरपालिकालाई दिनुपर्ने सुझाव दिएका थिए ।
उक्त विधेयक सुझाव सहित सर्वसम्मत पास भएको थियो । त्यस्तै नगरसभामा प्रस्तुत भएको रेसुङ्गा नगरपालिकाको स्थानीय वन विधेयक २०८१ मा नगर सभासदस्य कृष्णप्रसाद भण्डारीले रेसुङ्गा नगरपालिका तम्घास बजारको फोहोरमैला व्यावस्थापन गर्न डम्पिङ सानो भएको बताएका थिए ।
उनले बजारमा निजी तथा सार्वजनिक जग्गामा फोहोर फाल्ने भएकाले यहाँको वातावरण प्रदुषित भएकोमा त्यसको ध्यानकर्षण गराएका थिए । यो विधेयक पनि नगरसभामा सुझाव सहित पारित भएको नगरपालिकाले जनाएको छ ।
त्यस्तै नगरसभा सदस्य भण्डारीले नगरपालिका भित्रका वडामा वडाकार्यालय निर्माणका लागि जग्गा अभाव रहेकाले त्यसको व्यावस्थापनमा नगरले चासो दिनुपर्ने बताएका थिए । उनले नगरपालिकामा रहेका सार्वजनिक जग्गालाई नेपाल सरकारसँग समन्वय गरेर नगरको मातहतमा ल्याउनुपर्नेमा जोड दिएका हुन् ।
नगरसभामा आएका सुझावमा ध्यान केन्द्रित भएको बताउँदै नगरप्रमुख पन्थीले फोहोरमैला व्यावस्थापनमा नगरपालिकाले काम गरिरहेको बताए । बजेटको सुनिश्चित भएपछि फोहोरमैला र वडाकार्यालयको स्थायी रुपमा समस्या समाधान गर्ने,पन्थीले बताए ।
बजारमा फोहोरमैलामा देखिएको विकृतिलाई नियमन गर्न नगरलाग्ने उनले बताए । नगरप्रमुख प्रन्थीले अब छिट्टै केही वडा कार्यालय उद्वघाटनको तयारीमा रहेको बताए ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |