Awareness Campaign

६ वर्षदेखि ओछ्यानमै, निको हुने आशामा गुल्मीका केशर



ओझेलका खबर संवाददाता
१ महिना अगाडि


Place for ads

– जगदीश भट्टराई
गुल्मी: एक्चालिस बर्षको लक्का जवान, मझेरीमा मुढो जस्तै पल्टी रहन्छन्। बोली टाठो छ, अनुहारमा आशाका किरणहरु झल्की रहेका छन् । उठेर बस्न र हिड्डुल गर्न नसक्ने भएको पनि ६ बर्ष बित्यो। निको हुने आशा भने कायमै छ।

गुल्मीको सुदुरपूर्वको कालीगण्डकी गाउँपालिका-३, जयखानीस्थित लम्सरांङ रानीटोलका केशर बहादुर थापा २०७५ साल असोज ४ गते एका बिहानै छोरा बिरामी परेपछि अस्पताल लैजाने क्रममा आफुले चलाएको पिकअप जीप दुर्घटनामा परी घाईते भएका थिए। दुर्घटना हुँदा बावुछोरासँगै थिए। छोरालाई केही भएन बाबु घाईते हुँदा पिठ्युको मेरुदण्ड भाँचियो। छोरा गोर्खाली थापा १४ बर्षमा लागे। उनी अहिले कक्षा ८ मा गाउँकै विद्यालयमा पढ्छन्।

आधा दशक भन्दा लामो समय ओछ्यानमै पल्टिएरै विताएका केशरले विगतलाई स्मरण गर्दै भन्छन्, ‘परिवार पाल्नकै लागि पिकअप गाडी किने, त्यही गाडीबाट कमाएको पैसा गाडी किन्दाको ऋण तिर्दै आएको थिएँ। अकस्मात दुर्घटनामा परें। म दुर्घटनामा परेर विस्तरामै भएपछि अहिले सिंगो परिवार नै अलपत्र पर्यो।’ बुवा आमा र दुई छोरा सहित नौ जनाको परिवार पाल्ने काँधमा जिम्मेवारी बोकेका केशर आफै घाईते भए पछि आम्दानीका सबै ढोका बन्द भए।

Forest
Forest
Ad.

‘समस्यै समस्याबाट गुजारा गरिरहेका छौं’ केशर थापाकी ४० बर्षिया श्रीमति प्रेमकुमारी थापाले मन अमिलो पार्दै भनिन्। ‘ओछ्यानमै खाना, दिशा पिसाब गराउनुपर्छ, कमाउने व्यक्ति नै बिस्तारामा भए पछि हामीलाई दु :ख भएको छ।’ उनी श्रीमान सञ्चो भएर हिड्डुल गर्न सक्ने आशामा गहभरी आँशु लिएरै भए पनि रातदिन सेवामा तल्लिन छिन्। घाइते केशरलाई पोखराका अस्पताल हुँदै काठमाडौंसम्म उपचारका लागि लगिएको भएता पनि निको नभएपछि शुक्रबार फेरी काठमाडौंमा थप उपचारका लागिएको छ।

उनलाई यञ्जल होमियोपैथिक एण्ड अर्थो न्युरो फिजियो थेरापी अस्पतालमा उपचारका लागि चिकित्सकहरुले सल्लाह दिएका कारण त्यहाँ गएका हुन्। केशर भन्छन् ‘डाक्टरको सल्लाह अनुसार एक बर्ष सम्मको उपचारका लागि १० देखि १२ लाखसम्म खर्च लाग्छ, के गर्ने मेरो कुनै उपाय नै छैन्। त्यै पनि प्रयास गरिरहेको छु।’ केशरले काठमाडौं जादै गर्दा छिमेकीसँग भनेका छन् ‘आशा बोकेर काठमाडौं हिडेको छु, विश्वास छ, युवा नेता स्वास्थ्य मन्त्री भएको बेला मेरो समस्यालाई सरकारले पनि सुन्छ होला, म बाच्न चाहन्छु, पुर्नजीवन पाएर केही गर्न चाहन्छु।’

केशर फिजिशियन कहाँ झण्डै दुई बर्ष नियमित उपचारमा रहे तर निको नभए पछि घरमै फिजियो गरी औषधी खाएर बस्दै आए। औषधि उपचारमा उनको धेरै नै पैसा खर्च भइसकेको छ। आम्दानीको स्रोत नभएकाले उनलाई अहिले उपचारमा समेत गाह्रो भएको छ।

Awareness by SKF

केशरले बिमा कम्पनीसँग पटक-पटक गुहार माग्दा पनि बिमा वापतको रकम पाउन सकेका छैनन्। सगरमाथा इन्स्योरेन्समा भएको बिमाको रकम जसको नाममा गाडी थियो उसैले लगेर गए पछि अहिले उनी घर न घाटका भएका छन्। उपचारका लागि कालीगण्डकी गाउँपालिकाले भने केही आर्थिक सहयोग गर्दै आएको छ। पालिकाले उनलाई उपचारका लागि २५ हजार नगद र दैनिक थेरापिका लागि ७ लाखको लागतमा थेरापी हल नै निर्माण गदिदिएको पालिकाका अध्यक्ष वेदबहादुर थापाले बताए।

अध्यक्ष थापाले भने, ‘उहाँ जस्तै बिरामी पालिका भित्रका वडामा दर्जन जति छन्। तर उहाँको दुर्घटनाका कारण प्राथमिकतामै राखेर सहयोग गरिएको हो।’ विपन्न कार्डबाट एक लाखसम्मको उपचार पाउने भनिएता पनि त्यो सुविधा समेत उनले अहिले सम्म पाएका छैनन्। शुक्रबार गाउँपालिकाको एम्बुलेन्समा उनी उपचारको लागि तेस्रो पटक राजधानी छिरेका छन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो