एजेन्सी, सियोल: दक्षिण कोरियामा भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या कम्तीमा ६२ पुगेको छ। दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार एउटा विमान अवतरणका क्रममा दुर्घटनामा परेको थियो।
मृत्यु हुनेमा ३७ जना पुरुष र २५ जना महिला भएको बताइएको छ। विमानमा १८१ जना सवार थिए जसमा १७५ यात्रु थिए भने छ जना चालक दलका सदस्य थिए।
दक्षिण कोरियाको दमकल विभागका अनुसार यस दुर्घटनामा कम्तीमा ६२जनाको मृत्यु भएको छ। जेजु एयरको विमान बैंककबाट दक्षिण कोरिया फर्किरहँदा अवतरण गर्ने क्रममा यो दुर्घटना भएको हो।
अहिलेसम्म दुई जना जीवितै फेला परेको र उनीहरूलाई उद्धार गरिएको दमकल विभागका अधिकारीहरूले बताएको भन्दै अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले समाचार छापेको छ। यी दुई मध्ये एक जना यात्रु र एक जना चालक दलका सदस्य भएको बताइएको छ।
उद्धार कार्य अझै जारी भएको बताइएको छ। विमानको पछाडिको भागबाट यात्रुलाई बचाउने काम भइरहेको विमानस्थल अधिकारीहरुले बताएका छन्।
समाचार एजेन्सी योनहापका अनुसार विमानमा सवार १७३ दक्षिण कोरियाका र दुई जना थाइल्याण्डका यात्रु थिए। अवतरणको क्रममा विमान चिप्लिएर पर्खालमा ठोक्किएको दूघर्टनासँग सम्बन्धित भन्दै सामाजिक सञ्जालमा पोष्ट गरिएको अपूष्ट भिडियोले देखाएको छ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |