Awareness

Get Vaccinated

यस्तो छ गुल्मीको छत्रकोट गाउँपालिकाको नीति तथा कार्यक्रम (पू‌र्ण पाठ)



प्रेम सुनार
३ महिना अगाडि


       

Place for ads

गुल्मी , असार ४ । गुल्मीको छत्रकोट गाउँपालिकाले यस अघि खनिएका मोटरबाटाहरुको स्तरोन्नती नगरी नयाँ सडक नखोल्ने नीति अगाडी सारेको छ । सोमबार सो गाउँपालिकाले १८ औ गाउँसभामा आगमी आर्थिक बर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम पेश गर्दै यस्तो नीति अगाडी सारेको हो ।

शिक्षा , कृषि र पुर्वधार , सुशासन सहितको समृद्ध छत्रकोट हाम्रो आधार भन्ने मुल नाराका साथ आयोजित नीति तथा कार्यक्रम सभामा पेश गर्दै त्यस गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले चालु आर्थिक बर्ष भित्र नयाँ सडकको ट्रयाक नखोल्ने , यस अवधी भित्र विभिन्न सडकहरु कालोपत्रे गर्ने नीति अगाडी सारिएको बताए ।

भौतिक पुर्वधार विकास तर्फ अध्यक्ष पाण्डेले गाउँपालिकाको प्रशासकिय भवन दुई बर्ष भित्र सम्पन्न गर्ने गरी टेण्डर भई काम तिब्रगतिमा अगाडी बढेको , लुम्छा धरमपानी दिगाम , सातमुरे सडक अन्तरगत घडेरीटोल कालिकानगर खण्डको ८ सय मिटर सडक कालोपत्रेका लागि टेण्डर भई सकेको र आगमी आर्थिक बर्ष भित्र सम्पन्न हुने नीति तथा कार्यक्रम पेश गर्नु भएको थियो ।

त्यस्तै बिरबास कालधारी बर्जिया सिस्ने चन्द्रकोट गाउँपालिका जोेडने सडक स्तरनोन्नती अन्तरगतै गुण्डुक देख वडा कार्यालय सम्मको ८ सय मिटर सडक चालु आर्थिक बर्षमा कालोपत्रे भई सक्ने बताए ।

त्यस्तै पिपलनेटा दिगाम धरमपानी मानकोट गैराखुट्ट दौघा सडक अन्तरगत पिपलनेटा घडेरी टोल सम्म १ हजार १२० मिटर सडक कालोपत्रे गरिने , सोही सडक अन्तरगत वयरपोखरा देखि वडा नम्वर ३ को वडा कार्यालय सम्म ७२० मिटर कालोपत्रे चालु आर्थिक बर्ष भित्र सम्पन्न गरी सक्ने बताए ।

रिडी तम्घास मदनभण्डारी राजमार्गको बिचमा रहेको त्यस पालिकाले ६ वटै वडामा कालोपत्रे सहितको पहुँच मार्ग बनाउने योजना अगाडी सारेको छ । कषि कार्यक्रम अन्तरगत उसले सुन्तला र उखु पकेट क्षेत्रलाई अनुसन्धान केन्द्रका रुपमा विकास गर्दै त्यसको क्षेत्र बिस्तार गर्नेमा जोड दिएको छ ।

त्यस्तै योगदानमा आधारित कृषि अनुदान कार्याक्रमलाई थप प्रभावकारी बनाउने उसको योजना रहेको छ । त्यस्तै शैक्षिक विकास तर्फ त्यस पालिकाले अगाडी बढाएको दरबन्दी मिलान र बिद्यालय समायोजन कार्यक्रमले पछिल्लो दुई बर्षमा शैक्षिक क्षेत्रमा ह्वात्तै फडकको मारिएको पाण्डेले बताउँदै भने हामीले कार्यभार सम्हालेको आज दुई बर्ष दुई महिना भएको छ ।

Awareness by SKF

हामीले जिम्मेवारी सम्हाल्दा आधारभुत तह उतिर्ण परिक्षाको नतिजा २२ प्रतिशत थियो भने अहिले ४५ प्रतिशत पुगेको छ । उनले गाउँपालिका भर एक शिक्षक एक ल्यापटम कार्यक्रम मार्फत बिद्यालयलाई प्रविधीमैत्री बनाईने बताए ।

त्यस्तै स्वास्थ्य तर्फ पालिका भित्रका सम्पुर्ण स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य ईकाईका भवन निर्माण कार्य चालु आर्थिक बर्ष भित्रैमा सक्ने बताउनु भयो । पुर्ण संस्थागक प्रशुती गाउँपालिका, तथा पुर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा जस्ता कार्यक्तमहरुको दिगोपनाका लागि बषेनी सुनिश्चिता गरिने बताए ।

त्यस्तै एक घर एकधारा कार्यक्रमलाई निरन्तरता दिईएको , वडाभर कृषक संग कृषि तथा पशु प्रबिधीक अभियान सञ्चालन गरिने , बिदेशबाट फकिने युवाहरुको सिपलाई सदुपयोग गर्दै उनिहरुलाई पुनः बिदेश जान नपर्ने गरी अध्यक्ष संग रिर्टनी कार्यक्तम अगाडी सारिएको छ ।

त्यस्तै गरिव बोरोजगारहरुको तथ्याङक तयारी गरी रोजगारीका विभिन्न कार्यक्रम अगाडी सारिएको , गरिव दलित महिलाहरुलाई विभिन्न सिपमुलक तालिम सञ्चालन गरी स्वरोजगारा बनाईने नीति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै आर्थिक अबस्था कम भएका परिवारलाई बिद्युत महसुल गाउँपालिकाले तिरी तिने जस्ता केहि लोकप्रिय कार्यक्रमहरु त्यस पालिकाले अगाडी सारेको छ ।

१४८ बुँदे निति तथा कार्यक्रममा थुप्रै कुराहरु समेटेको छ । उक्त नीति तथा कार्यक्रमलाई गाउँसभाले एकमतले पारित गरेको छ । गाउँसभामा त्यस पालिका उपाध्यक्ष र सभाका सदस्य सचिव तथा प्रमुख प्रशासकिय अधिकृत बीरबहादुर कार्कीले सभाध्यक्ष मण्डलमा आशिन थिए ।

छत्रकोटको नीति तथा कार्यक्रमको अन्य पालिकाको तुलनामा एउटा फरक के पाईयो भने नेपालको संविधानमा जातिय विभेद छुवाछुत दण्डनिय अपराध हो । जसलाई यहाँका अन्य पालिकाले अहिले सम्म त्यो अपराध हो छुवााछुद विभेद गरिए कानुनतः कार्बाही गरिने छ भनेर नीति तथा कार्यक्रममा राखेका छैनन । त्यसपालिकाको चालु आर्थिक बर्षको नीति तथा कार्यक्रममा भने उल्लेख गरेको छ ।

त्यस्तै महिला हिंसा लगायतका विभेद अन्त्यका लागि स्वयम सेवक परिचालन लगायतका कार्यक्रम अगाडी सारिएको छ । त्यस्तै सहकारीहरुलाई नियमन गरी सहकारी ऐन र भावना विपरित कार्य गरेको भए विपरित कार्य भएको पाईए खारेजी सम्मको कार्यबाही गरिने उल्लेख छ ।

 

स्वास्थ्य शिक्षा, कृषि र पूर्वाधार सुशासन सहितको समृद्ध छत्रकोट हाम्रो आधार

गाउँसभाका सदस्य ज्यूहरु

  • छत्रकोट गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम यस गरिमामय सभामा प्रस्तुत गर्न गईरहेको छु।
  • यस अवसरमा राष्ट्रियता, लोकतन्त्र र अग्रगामी परिवर्तनका साथै नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र स्वाभिमानको रक्षाको लागि विभिन्न कालखण्डमा भएका राजनीतिक क्रान्ति, संघर्ष र आन्दोलनमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने ज्ञात-अज्ञात शहिदहरुप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु।साथै घाईते योद्दाहरुप्रति सम्मान भाव व्यक्त गर्दै सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।
  • स्थानीय तहको दोस्रो निर्वाचनमार्फत् आदरणीय छत्रकोटवासी आमा बुवा दाजुभाई तथा दिदिवहीनीहरुको अमूल्य मत प्राप्तगरि स्थानीय सरकारको नेतृत्व गरेदेखिनै स्वास्थ्य शिक्षा, कृषि र पूर्वाधार, सुशासन सहितको समृद्ध छत्रकोट हाम्रो आधार” भन्ने मूल नारालाई आत्मसात गरि छत्रकोट गाउँपालिकाको विकास,समृद्धि र सुशासनयुक्त सरल जनमैत्री सेवा प्रवाह गरि जनसन्तुष्टि अभिवृद्धि गर्न प्रतिवद्ध भएर लागेका कुरा यहाँहरूलाइ अवगत नै छ।
  • यहाँहरूकै आवश्यकता,चाहाना माग र सुझाव अनुसार नै गाउँपालिकाको नीति तथा कार्यक्रम तर्जुमा गरि कार्यान्वयन गर्दै आईरहेका छौं।
  • कृषि र पशु क्षेत्रको उत्पादन र उत्पादकत्व अभिवृद्धि गरि आर्थिक विकास गर्ने, गुणस्तरीय र प्रविधिमैत्री व्यवसायिक शिक्षा प्रवर्द्धन गर्ने,स्वास्थ्य सेवालाई थप गुणस्तरिय,सबैको पहुँचयोग्य र विश्वसनिय वनाउने, तिव्र गतिमा हुँदै गईरहेको वसाईसराईलाई न्यूनीकरण गर्ने,गुणस्तरीय भौतिक पूर्वाधार निर्माण गर्ने,वडा केन्द्र देखि गाउँपालिकाको केन्द्रसँग जोडिएका सडकको स्तरोन्नती गरि कालोपत्र गर्ने तथा अन्य सडकलाई समेत क्रमशः कालोपत्र गर्ने,वातावरणको संरक्षणका साथै प्रभावकारी विपद् व्यवस्थापनका क्रियाकलाप गर्ने,सेवा प्रवाहलाई जनमैत्री सुविधायुक्त,सरल र प्रभावकारी वनाई सुशासन प्रवर्द्धन गर्ने कार्य गाउँपालिकाको प्रमुख प्राथमिकतामा रहेका छन्।

यस सभाका सदस्य ज्यूहरु

  • आर्थिक विकास क्षेत्रतर्फ उत्पादनमा आधारीत अनुदान कार्यक्रम संचालन ल्याइएका छौ। छत्रकोट गाउँपालिकाको उत्पादनको मुख्य पहिचानको रुपमा रहेका सुन्तला र उँखुलाई थप प्रवर्द्धन गर्न सुन्तला महोत्सव र  उँखु महोत्सव संचालन गर्दै आईरहेका छौं।नेपाल जलवायु नमुना कार्यक्रम संचालन मार्फत् वडा नं. ३ को लुम्छा-काउले-काभ्रे क्षेत्रमा सुन्तलाको नमुना क्षेत्रको रुपमा विकास गरिएको छ।साथै वडा नं ५को केहुल-खरेवा क्षेत्रमा आर्थिक उपार्जनका कार्यक्रमहरु संचालन गरिएको छ।उन्नतजातका विउँविजनमा अनुदानका कार्यक्रम,विभिन्न उत्पादन प्रविधिजन्य सामाग्रीमा अनुदानका कार्यक्रमहरु संचालन गरि कृषि क्षेत्रमा उत्पादन र उत्पादकत्व प्रवर्द्धन गरिएको छ।गाई भैँसी प्रवर्द्धन कार्यक्रम, नश्ल सुधार कार्यक्रम, “कृषक सँग कृषि र पशु प्राविधिक कार्यक्रम संचालन गरिएको छ।
  • छत्रकोट गाउँपालिकाको समग्र शैक्षिक गुणस्तर सुधार गर्ने अभिप्रायका साथ विद्यालय समायोजन र शिक्षक विद्यार्थी अनुपातका आधारमा दरवन्दी मिलान गर्ने कार्य सम्पन्न गरिएको छ।छत्रकोट गाउँपालिकाले कक्षा १-८ सम्मको हाम्रो छत्रकोट नामक स्थानीय पाठ्यक्रम निर्माणमा गरि शैक्षिक सत्र २०८१ देखि लागू गरी सोहि पाठ्यक्रम बमोजिम पठनपाठन क्रियाकलाप समेत अगाडी वढिरहेको छ।विषयगत शिक्षकहरुको क्षमता अभिवृद्धिका तालिम कार्यक्रमहरु संचालनमा ल्याईएको छ।प्रधानाध्यापक तथा लेखापालहरुको क्षमता अभिवृद्धिका विभिन्न तालिमहरु संचालनमा ल्याईएको छ।यस छत्रकोट गाउँपालिकाको शैक्षिक सत्र 2079 सम्मको आधारभूत तह उत्तिर्ण परीक्षाको नतिजा 22 प्रतिशत बाट बढेर 45 प्रतिशतमा पुगेको छ।साथै समग्र शैक्षिक गुणस्तर अभिवृद्धिमा सकारात्मक परिवर्तन देखिएको छ।
  • स्वास्थ्य क्षेत्रको गुणस्तर अभिवृद्धिको लागि सम्पूर्ण स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य इकाईको भवन निर्माणको कार्य आ.व २०८१।८२ मा सम्पन्न हुनेगरि अगाडी वढाईएको छ।पूर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा गरिएको छ।पूर्ण संस्थागत प्रसुति गाउँपालिका तथा पूर्ण खोप गाउँपालिका सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ।
  • छत्रकोट गाउँपालिकाका १००० दिनका आमा र बच्चा दुवैको स्वास्थ्य सुधार गर्ने उद्देश्यले स्मार्ट आमा कार्यक्रम संचालनमा ल्याईएको छ।सुत्केरी तथा गर्भवती विशेष कार्यक्रम अन्तर्गत उपाध्यक्ष सँग सुत्केरी कार्यक्रम संचालन गरिएको छ।गर्भवतीहरुको लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराईएको छ।
  • ६ वटै वडा तहका स्वास्थ्य संस्थामा प्याथोलोजी सेवा संचालन गरिएको छ।सम्पूर्ण वडाहरुमा महिलाहरुको लागि निःशुल्क भिडियो एक्सरे, पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ्ग तथा लामो समयको गर्भान्तरको लागि परिवार नियोजन सम्बन्धी स्वास्थ्य शिविर कार्यक्रम संचालन गरिएको छ।छत्रकोटबासि नागरिकहरुको  लागि आवश्यक पर्दा बुटवल,रुपन्देहिमा निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था मिलाईएको छ।साथै तम्घास आँखा अस्पत्तालमा मोतियाविन्दु भएका व्यक्तिहरुलाई निःशुल्क मोतियाविन्दु अप्रेसनको प्रवन्ध मिलाईएको छ।
  • गाउँपालिकाको प्रशासकीय भवन दुईवर्ष भित्र सम्पन्न हुनेगरि ठेक्का भई निर्माणकार्य तिव्र गतिमा अगाडी बढीरहेको छ। लुम्छा-धरमपानी-दिगाम-सातमुरे सडक स्तरोन्नती योजना अन्तर्गत घडेरीटोला-कालिकानगर खण्ड ८०० मिटर कालोपत्रे गर्ने कार्यको ठेक्का भई निर्माण कार्य अन्तिम चरणमा रहेको छ।
  • बिरवास-कोलधारी-बर्जिया-सिस्ने-चन्द्रकोट गा.पा मोटरबाटो स्तरोन्नती योजनाको अन्तर्गत गुन्टुङ देखि वडा कार्यालय खण्ड अन्तर्गत ३२० मिटर सडक कालोपत्रे सम्पन्न भएको र ८4० मिटर सडक कालोपत्रे चालु आ.व. मा सम्पन्न हुने गरि अगाडी वढेको छ।
  • पिपलनेटा-दिगाम-धरमपानी-मानकोट-गैरि खुट्टा-दौघा सडक स्तरोन्नती योजना अन्तर्गत पिपलनेटा-घडेरीटोला सम्म ११२० मिटर कालोपत्रे र सोहि योजना अन्तर्गत वडा नं ३ वयरपोखरा देखि वडा नं 3 को वडा कार्यालयसम्म ७४५ मिटर कालोपत्र गर्ने कार्य चा.लु. आ.व मा सम्पन्न हुने गरि योजना अगाडी वढाईएको छ।साथै गैरिखुट्टा- नौधारा- दौघा सडक अन्तर्गत 720 मिटर कालोपत्रे गर्ने कार्य चा.लु. आर्थिक बर्षमा सम्पन्न हुने गरि अगाडी वढाईएको छ।
  • हर्दिनेटा स्वास्थ्य चौकी निर्माण कार्य यसै आ.व मा सम्पन्न भई सोहि भवनवाट स्वास्थ्य सेवा प्रवाह हुनेगरि अगाडी वढाईएको छ।खर्ज्याङ्ग स्वास्थ्य चौकीको भवन निर्माण कार्य सुरु गरि आगामी आर्थिक वर्षमा सम्पन्न गर्नेगरि अगाडी वढाईएको छ।नागरिक आरोग्य केन्द्रको भवन निर्माण कार्य सम्पन्न भएको छ।
  • छत्रकोट गाउँपालिकाको महत्वकांक्षी योजनाको रुपमा रहेको पर्यटकीय योजना जिपलाईन निर्माण योजनाको ठेक्का सम्झौता भई निर्माण कार्य अगाडी वढेको छ। एक घर एक धारा निर्माण अभियानलाइ अगाडी वढाईएको छ।एकीकृत मूल तथा मुहान संरक्षण कार्यक्रम संचालन गरि गाउँपालिका भित्रका खानेपानीका मूहानहरुको उचित संरक्षण गर्ने नीति अवलम्बन गरिएको छ।आफ्नो टोल आफै वनाउ भन्ने अभियान साथ विकासका हरेक क्रियाकलापमा स्थानीयलाई सरिक वनाउन टोल विकास संस्थाको गठन गरि सामाजिक परिचालनको कार्यलाई अगाडी वढाईएको छ।
  • छत्रकोट गाउँपालिकाका मौलिक कला संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले गाउँपालिका स्थापना दिवसको अवसरमा झाँकी प्रदर्शनी तथा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ।सामाजिक तथा सांस्कृतिक रहनसहन,कला,संस्कृति,भेषभुषा,परम्परा तथा विशिष्ठताको संरक्षण,संवर्द्धन र प्रवर्द्धन गर्ने नीति अवलम्बन गरिएको छ।दलित जनजाती,अल्पसंख्यक,सिमान्तकृत तथा लक्षित वर्गको उत्थान सम्बन्धी विभिन्न लक्षित कार्यक्रमहरु संचालन गरिएको छ।लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण सम्बन्धी विभिन्न कार्यक्रम संचालन गरिएको छ।
  • जेष्ठ नागरिकहरुको सम्मानको लागि “जेष्ठ नागरिक सँग अध्यक्ष भेटघाट कार्यक्रम” संचालन गर्दै आईरहेका छौं।अपाङ्गता भएका व्यक्तिहरुलाई सहायता सामाग्रीहरु वितरण गरिएको तथा ग र घ वर्गका अपाङ्गता भएका व्यक्तिहरुलाई समेत सामाजिक सुरक्षा भत्ता उपलब्ध गराईएको छ।वातावरण संरक्षण र विपद् व्यवस्थापन तर्फ विभिन्न कार्यक्रमहरु संचालन गरिएको छ।
  • गाउँपालिका भित्रका कार्यालयहरुबाट हुने सार्वजनिक सेवा प्रवाहलाई छिटो, छरितो, चुस्त, दुरुस्त, मितव्ययी र प्रभावकारी वनाउन आवश्यक व्यवस्था मिलाईएको छ। सेवा प्रवाह र सुशासनलाई प्रभावकारी वनाउन हाल सम्म 35 वटा ऐन, 7 वटा नियमावली, 48 वटा कार्यविधि, 4 वटा निर्देशिका, 4 वटा मापदण्ड र 2 वटा अन्य कानून निर्माण गरिएको छ।गाउँपालिकामा आउने सेवा ग्राहिलाई सहजताको लागि सहायता कक्षको व्यवस्थापन गरिएको छ।स्थानीय स्तरमा शान्ति, सुरक्षा र सु-व्यवस्थालाई सुदृढ तुल्याउन नगर प्रहरीको व्यवस्था मिलाईएको छ।

सभाका सदस्य ज्यूहरु,

अब म यस गाउँपालिकाको आ.व. ०8१।८२ को क्षेत्रगत नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्न चाहन्छु ।

  • कृषक सँग, कृषि तथा पशु प्राविधिक अभियान मार्फत् हरेक महिनामा कम्तिमा 2 पटक कृषि र पशु प्राविधिकबाट कृषकको गोठ, खेत र वारीमानै पुगेर प्राविधिक परामर्श, राय, सुझाव तथा सेवा प्रदान गर्ने र तथ्याङ्क संकलन गर्ने कार्यलाई थप प्रभावकारी ढंगले अगाडी वढाइनेछ।
  • आर्थिक विकास क्षेत्रतर्फ शुरू गरिएको उत्पादनमा आधारित अनुदान कार्यक्रम व्यवस्थित गरी वैज्ञानीक ढगंले संचालनमा ल्याइने छ ।कृषकहरुलाई लगानी र कृषि प्राविधिक सँग पहुँच स्थापित गर्न सम्पूर्ण वडाहरुमा कृषि दूतको प्रवन्ध मिलाईने छ।
  • छत्रकोट गाउँपालिका भित्र वाँझो जग्गाको उपयोग गरी गाउँपालिका आफैले संचालन गर्ने गरी छत्रकोट कृषि सिकाई तथा अनुसन्धान केन्द्रको रुपमा अगाडी वढाईने छ।
  • अर्गानिक खेती प्रणालीलाई प्रोत्साहन र प्रवर्द्धन गर्दै एक घर, एक करेसाबारीकार्यक्रमलाई विस्तार गरिनेछ।छत्रकोट गाउँपालिकामा मुख्य कृषि उत्पादन सुन्तला र उँखुलाई थप प्रवर्द्धन गर्दै कच्चा पदार्थको रुपमा प्रयोग गरि सो सम्बन्धी उद्योग स्थापनाको कार्यलाई अगाडी वढाईनेछ।
  • छत्रकोट गाउँपालिकालाई तरकारी उत्पादनमा आत्मनिर्भर बनाउन तरकारी खेती प्रवर्द्धन कार्यक्रम तथा नयाँ तरकारी पकेट विकास कार्यक्रम संचालन गरिनेछ।साथै लोप हुन लागेका स्थानीय जातका रैथाने बालीको संरक्षण तथा प्रवर्द्धन गर्न रैथाने बाली प्रवर्द्धन कार्यक्रम संचालन गरिनेछ।
  • नयाँ जातका फलफूल तथा बालिको परीक्षण तथा विस्तार कार्यक्रमलाई अगाडी वढाईनेछ।निर्वाहमुखी कृषि पद्धतिलाई थप व्यवस्थित गर्दै व्यवसायिक कृषितर्फ रुपान्तरणका लागि आवश्यक कार्यक्रम संचालन गरिनेछ।स्थानीय स्तरमा उत्पादन हुने मुख्य कृषि उत्पादनलाई प्रचार प्रसारको माध्यमवाट प्रवर्द्धन गर्नको लागि महोत्सव तथा प्रदर्शनीका कार्यक्रमहरु संचालन गरिनेछ।
  • छत्रकोट 3 सपौँदेमा नमूना सुन्तला बगैचा स्थापना कार्यक्रम संचालन गरिनेछ।छत्रकोट ५ खर्ज्याङ्गमा रहेको अव्यवस्थित वागवानीलाई माटो सुहाउँदो कृषि प्रणालीमा रुपान्तरीत गरी संचालनमा ल्याईनेछ।
  • छत्रकोट गाउँपालिकालाई दुध उत्पादनमा आत्मनिर्भर वनाउन गाई/भैंसी प्रवर्द्धन कार्यक्रमलाई थप व्यवस्थित गरी अगाडी वढाईनेछ।कृषि तथा पशु विमा कार्यक्रमलाई थप प्रभावकारी रुपमा सञ्‍चालन गरिनेछ।सहकारी तथा निजि क्षेत्र संगको साझेदारीमा उत्पादित कृषि उपज बजारिकरणको लागि आवश्यक व्यवस्था मिलाईनेछ। छत्रकोट गाउँपालिका वडा नं ५ केहुलमा मौरीपालन कार्यक्रम संचालन गरिनेछ।
  • नश्ल सुधार कार्यक्रमलाई कार्यान्वयन गर्न आवश्यक व्यवस्था मिलाईनेछ।पशुहरुको पौष्टिक आहार आपूर्तिको लागि पोषिला घाँसहरुको प्रवर्द्धन गरिनेछ। प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सूचीकृत भएका वेरोजगारहरुलाई कृषि उत्पादन सँग जोडेर रोजगारीको अवसर सिर्जना गरिनेछ।सिँचाई सुविधालाई विस्तार गर्न आवश्यक व्यवस्था मिलाइने छ।
  • भुस्याहा कुकरहरुलाई बन्ध्याकरण गर्ने कार्यक्रम निरन्तरता दिँदै भुस्याहा कुकुरहरुको नियन्त्रणको साथै कुकुरको टोकाईबाट लाग्ने रेविज रोगको प्रभावकारीरुपमा नियन्त्रण गरिनेछ।
  • वन जंगलको नजिक रहेका खेतीयोग्य जमिनमा जंगली जनावर तथा वन्यजन्तुले नरुचाउने खालका कृषि बालीहरु लगाउन प्रोत्सान गरिनेछ।खेत बारीको नजिक रहेका अनावश्यक झाडि तथा वुट्यानहरु हटाउने कार्यलाई टोल विकास संस्था मार्फत् अगाडी वढाईने छ।
  • छत्रकोट घुमौ अभियान अन्तर्गत छत्रकोटकाका सबै वडामा रहेका धार्मिक,सांस्कृतिक र पुरातात्विक महत्वका पर्यटकीय स्थानहरुको संरक्षण, संवर्द्धन र प्रचार प्रसार गरि आन्तरिक पर्यटनलाई थप प्रभावकारी रुपमा प्रवर्द्धन गरिनेछ।
  • छत्रकोट गाउँपालिका वडा नं. 3 मा रहेको छत्रकोट देवालय मन्दिर देखि भगवती मन्दिर,लुम्छा सम्म जीपलाईन निर्माण कार्य यसै आ.व मा सम्पन्न गरिनेछ।छत्रकोट ३ भेंडुवाको राम मन्दिर देखि चोयगा मन्दिर सम्म पर्यटकिय आकर्षणको लागि झोलुङ्गे पुल निर्माण गरिनेछ।
  • छत्रकोट गाउँपालिका वडा नं १ हुँगामा रहेको देउती ढुंगा गुफा र वडा नं ४,दिगाममा रहेको सिद्धपानी गुफालाई व्यवस्थित गरि प्रवर्द्धन र प्रचारप्रसार गरि पर्यटन प्रवर्द्धन गरिनेछ।साथै छत्रकोट-4, दिगाम थुम्कीमा रहेको कालिका मन्दीर र मौलिपोखरा ताललाई जोडी पर्यटकीय क्षेत्रको रुपमा विकास गरिनेछ। दौघाको वराह मन्दिर र सीता गुफालाइ व्यवस्थित गरी पर्यटन प्रर्वद्दन गरिनेछ ।
  • सहकारी संस्थाको दर्ता अनुमति तथा नियमन कार्यलाई थप प्रभावकारी वनाईनेछ।प्रचलित ऐन नियमको पालना नगरि विधि सम्मत रुपमा संचालन नभएका सहकारीहरुलाई संकटग्रस्त घोषणा गरि खारेजी सम्मको प्रक्रिया अगाडी वढाईने छ।
  • स्थानीय सहकारी संस्थासँग रहेको पूँजीलाई कृषि तथा उत्पादन मूलक क्षेत्रमा परिचालन गर्ने गरि आवश्यक कार्य अगाडी वढाईने छ।स्थानीय श्रम,सीप र पूँजीलाई अधिकतम रुपमा परिचालन गर्ने गरी सहकारीहरुलाई विकासको साझेदारको रुपमा अगाडी वढाईनेछ।
  • महिला,गरीब,अपाङ्ग,सीमान्तकृत,भूमिहीन तथा पिछडिएका वर्ग र श्रमिकहरुका साथै आम नागरिकहरुको जीवनस्तरमा सुधार ल्याउन सहकारीहरुको पहुँच अभिवृद्धि गर्ने नीति अवलम्वन गरिनेछ।सम्पूर्ण सहकारी संस्था तथा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धिको लागि आवश्यक तालिमको व्यवस्था गरिनेछ।
  • सम्पूर्ण सहकारी संस्थाहरुमा सहकारी तथा गरिवी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (COPOMIS) संचालनलाई अनिवार्य गरि सूचना प्रविधिमैत्री सहकारी निर्माणमा जोड दिईनेछ।सहकारीमूलक एकिकृत खेतीलाई प्रोत्साहन गरिनेछ।सहकारी संस्थामा पारदर्शिता प्रवर्द्धन गरिनेछ।साथै सहकारी संघ संस्थाबाट उत्पादित वस्तुको प्रयोगलाई प्रोत्साहन गरिनेछ।
  • उत्कृष्ट रुपमा काम गरेका सहकारीहरुको पहिचान गरी पुरस्कृत गरिनेछ।परम्परागत ज्ञान तथा सीपको स्तर वृद्धि गरी थप आयमूलक र व्यवसायमूलक वनाउन क्षमता विकास तथा प्रवर्द्धनका कार्यक्रमहरु संचालन गरिनेछ।
  • आर्थिक रुपले विपन्न व्यक्तिहरुलाई उनिहरुको आवश्यकता र रुची अनुसार विभिन्न आयमूलक,सीपमूलक कार्यक्रममा सहभागि गराई आर्थिक उपार्जनका लागि आवश्यक व्यवस्था मिलाईनेछ।भोकमरीबाट कसैले पनी अकालमा ज्यान गुमाउनु पर्ने अवस्था आउन नदिन आवश्यक व्यवस्था मिलाईनेछ।
  • बैंक तथा वित्तीय संस्था सँगको समन्वयमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरि नागरिकलाई वित्तीय संस्थासँग जोडि बचत गर्ने तथा ऋण लिई आर्थिक उपार्जन गर्ने अवसरको सिर्जना गरिनेछ।
  • छत्रकोट गाउँपालिका भित्रका श्रमसंग जोडिन चाहने बेरोजगार दक्ष/अदक्ष युवाहरुको अभिलेखिकरणको माध्यमबाट श्रम बैंङ्क को स्थापना गरि बेरोजगारी समस्याको न्यूनीकरण गर्ने कार्यक्रमलाई निरन्तरता दिईनेछ।
  • रोजगार प्रवर्द्धनका लागि भैरहेका (लघु)उद्यमीहरुको क्षमता अभिवृद्धि गरि उद्यमीबाट उद्योगी-व्यवसायी वनाउन आवश्यक व्यवस्था मिलाई थप रोजगारीका अवसरहरु सिर्जना गरिनेछ।नयाँ लघु उद्यमी सृजनाको लागि व्यवसायिक सचेतनाका प्रयाप्त कार्यक्रमहरु संचालन गरिनेछ।
  • गाउँपालिकाबाट विनियोजित श्रममूलक योजनाहरु कार्यान्वयनमा आवश्यक श्रमिकहरु पहिचान गरि गाउँपालिकाको रोजगार सेवा केन्द्रमा सुचिकृत वेरोजगार व्यक्तिहरुलाई प्राथमिकता दिनुपर्ने व्यवस्थालाई थप प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ।
  • बैदेशिक रोजगारीको अनुभव प्राप्त गरि स्वदेश फर्किएका मानव संशाधनलाई स्वरोजगारमूलक,आयमूलक तथा उत्पादनमूलक उद्योग,पेशा तथा व्यवसाय गर्न अध्यक्ष सँग रिटर्नी कार्यक्रम संचालन गरिनेछ। सीप सिकेर स्वरोजगार वन्न चाहने युवाहरुलाई उचित सीप अभिवृद्धिका तालिमहरु संचालन गरिनेछ।श्रमको सम्मान राष्ट्रको अभियान मूल नारालाई आत्मसात गर्दै श्रमिकको हक हितको लागि आवश्यक नीतिगत प्रवन्ध मिलाईनेछ।
  • गाउँपालिका तथा अन्य निकायबाट सीपमूलक तालिम प्राप्त गरि समूहमा वा व्यक्तिगत फर्म, कम्पनी खोलेर स्वरोजगार हुन ईच्छुक विश्वसनीय व्यवसायिक योजना पेश गर्ने व्यक्तिहरुलाई गाउँपालिकाले बैंक वित्तीय संस्था तथा सहकारी सँगको समन्वयमा ऋण उपलब्ध गराई व्याजदरमा अनुदान कार्यक्रम संचालन गरि प्रोत्साहन गरिनेछ।सबै प्रकारका श्रम(काम) र श्रमिकलाई मर्यादित र सम्मानित हुने वातावरण सृजना गरिनेछ।
  • सहकारी र निजीक्षेत्रसँगको साझेदारी तथा सहकार्यमा एक वडा, एक उद्योग स्थापनाको अवधारणालाई अगाडी वढाईनेछ। छत्रकोट गाउँपालिकाको वडा नं. ४ दिगाममा संचालित गुँड उद्योगलाई व्यवस्थित रुपमा संचालन गर्न आवश्यक सहयोग गरिनेछ।साथै छत्रकोट गाउँपालिका भित्र टमाटर सस तथा क्याचप उत्पादन उद्योग स्थापनाको कार्य अगाडी वढाईनेछ।
  • स्थानीय व्यवसायिहरु संग स्थानीय सरकार नीति अवलम्बन गर्दै लगानी मैत्री वातावरण निर्माण गरि उद्योग, व्यापार तथा व्यवसायिहरुलाई पोत्साहन गरिनेछ।छत्रकोट वाहिर रहेर विभिन्न उद्यम,पेशा तथा व्यवसाय गरिरहेका उद्यमी तथा व्यवसायिकहरुलाई जन्मभूमिमा लगानी अभियानलाई थप प्रभावकारी रुपमा संचालन गरि उद्योग,व्यापार र व्यवसाय संचालन गर्न आवश्यक सहयोग तथा सहजिकरण गरिनेछ।
  • गाउँपालिका भित्र गुणस्तरीय वस्तु तथा सेवाको नियमित, सर्वसुलभ तथा मूल्य एकरुपकता सहित सहज आपूर्तिको व्यवस्था गर्न निजी तथा सहकारी क्षेत्रलाई प्रोत्साहन गरिनेछ।
  • वस्तु तथा सेवामा हुन सक्ने कालोबजारी र कृत्रिम अभाव तथा म्याद नाघेका वस्तुहरुको वेचविखन नियन्त्रण गर्न निरन्तर वजार अनुगमन गरिनेछ।व्यवसाय दर्ता तथा नविकरण नगर्ने,प्रचलित कानूनको परिपालना नगरि व्यवसाय संचालन गर्ने व्यवसायिलाई कानूनको दायरामा ल्याईनेछ।
  • गाउँपालिका र गाउँपालिका अन्तर्गतका सरकारी कार्यालयहरुमा स्थानीय उत्पादन प्रयोगलाई प्राथमिकता दिईनेछ।

सभाका सदस्य ज्यूहरु

  • डिजिटल विद्यालय सबैको इच्छा: प्रविधिमैत्री विद्यालय शिक्षा भन्ने नारा सहित सबै सामुदायिक विद्यालयहरुमा इन्टरनेट, कम्प्युटर, इन्ट्रारेक्टिभ स्मार्ट बोर्ड व्यवस्था गरी स्मार्ट विद्यालय तथा एक शिक्षक एक ल्यापटपको अवधारणा कार्यान्वयनमा ल्याइनेछ । विद्यालयमा नवप्रवर्तनलाई प्रोत्साहन गर्न स्टेम एजुकेशन (STEM Education) कार्यक्रमलार्इ नमुनाको रुपमा कार्यान्वयनमा ल्याइनेछ ।
  • विद्यालय शिक्षाको अभिन्न अंग प्रारम्भिक बाल विकास कक्षाहरुमा न्यूनतम मापदण्ड निर्धारण गरी सुरक्षित बसाई व्यवस्थापन र सरसफाईलाई ध्यान दिदै खेल सामग्री, सिकाई सामग्री, मनोरञ्जन सामग्री, श्रव्य-दृश्य सामग्री सहित आकर्षक, मनोरञ्जक र बालमैत्री कक्षाकोठा व्यवस्थापन गरिनेछ ।
  • संस्थागत विद्यालयको शुल्क पुनरावलोकन गरी वैज्ञानिक र मापदण्डमा आधारित बनाइनेछ । संस्थागत विद्यालयहरुबाट प्रदान गरिने छात्रवृत्तिलाई गाउँपालिकाको सिफारिसमा उपलब्ध गराउनुपर्ने व्यवस्था मिलाइनेछ ।
  • सामुदायिक विद्यालयका जस्तापाताको छानो भएका सबै कक्षाकोठामा फल्स सिलिङ र विद्यालय कलरकोड अनुसार सबै विद्यालयको रङ्गरोगनको कार्य संचालन गरिनेछ ।
  • सामुदायिक सिकाइ केन्द्र मार्फत अनौपचारिक शिक्षा र सीप विकास प्रवर्धन गर्ने कार्यक्रमहरु संचालन गर्ने नीति लिइनेछ ।
  • बालवालिकाको प्रतिभा प्रस्फुटनको लागि स्तर र अवस्था अनुसार उपयुक्त सहक्रियाकलापका अवसर प्रदान गरिनेछ ।
  • सामुदायिक विद्यालयहरुको विद्यालय परिसर सुधार कार्यक्रम संचालन गरिनेछ । सामुदायिक विद्यालयहरुमा शौचालय निर्माण स्तरोन्नती, नि:शुल्क स्नेटरी प्याड, प्याड भेन्टिङ मेसिन, प्याड डिस्पोजेवल मेसिन, स्वच्छ पिउने पानीको प्रवन्ध गरिनेछ ।
  • विद्यालयको संचालन, रेखदेख र व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने विद्यालय व्यवस्थापन समिति, पेशा प्रति निष्ठावान भई पदीय दायित्व निर्वाह गर्ने प्रधानाध्यापक तथा शिक्षकहरुमध्येबाट सूचकगत आधारमा उत्कृष्ट छानिएका प्रधानाध्यापक तथा शिक्षकहरुलार्इ सम्मान तथा तहगतरुपमा सर्वोत्कृट नतिजा प्राप्त गर्ने छात्र/छात्राहरुलार्इ पुरस्कृत तथा सम्मान गरिनेछ ।
  • राष्ट्रिय पाठ्यक्रम प्रारुप अनुरुप जीवनपयोगी ज्ञान र सीपमा आधारित भई स्थानीय ज्ञान, सिप, प्रविधि, हाम्रा धार्मिक, साँस्कृतिक र पर्यटकीय गन्त्वयको प्रचार-प्रसार (Localization to Globalization) गर्न छत्रकोट गाउँपालिकाको आवश्यकताको बोध हुने गरी कक्षा 1-8 को “हाम्रो छत्रकोट” नामक स्थानीय पाठ्यक्रम निर्माण भइसकेको अवस्थामा सो पाठ्यक्रमको आधारमा पाठ्यपुस्तक निर्माण-छपाई गरी प्रत्येक बालबालिकाहरुलाई निःशुल्क वितरण गर्ने प्रक्रिया शुरू गरिनेछ ।
  • ठुला विद्यालय संचालनका लागि तथा समायोजन भएका विद्यालयहरुका विद्यार्थीहरुको सहज आवागमन लागि यातायातका साधनहरू व्यवस्थापन गरिनेछ ।
  • आर्थिक तथा सामाजिक रुपमा विपन्न बालवालिकाहरुलार्इ शिक्षाको अवसर सुनिश्चित गर्न छात्रवृत्ति एवम् प्रोत्साहन उपलब्ध गराइनेछ ।
  • शिक्षकहरुको उत्प्रेरणा, पेशागत जिम्मेवारी र सक्षमता अभिबृद्धि गर्नुका साथै नियमित विद्यालय निरीक्षण, अनुगमन एवम् कक्षाकोठा अवलोकन तथा पृष्ठपोषण, शैक्षिक सरोकारवालाहरुसंगको सहकार्य, अभिभावक शिक्षा र जनचेतनामूलक कार्यक्रमहरु संचालन गरिनेछ ।
  • सम्पूर्ण विद्यालयहरुमा क्रमश: पुस्तकालय, विज्ञान प्रयोगशाला र डिजिटल लाईब्रेरी सहित कम्प्युटर प्रयोगशालाको निर्माण कार्यलाई निरन्तरता दिदै यिनिहरुको दैनिक प्रयोगमा जोड दिइनेछ ।
  • गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुमा भईरहेका असल अभ्यासको आदानप्रदान गरी दैनिक विषयगत समस्याहरुको समाधान गर्न विषयगत शिक्षक कार्यदल निर्माण गरी शिक्षकहरुलाई मेन्टरिङ, विषयगत तालिम, शैक्षिक सामग्री निर्माण, प्रयोग र व्यवस्थापन जस्ता क्रियाकलाप मार्फत विषयगत सिकाई उपलब्धिमा क्रमश: सुधार ल्याउन विषयगत शिक्षकलाई प्रमुख जिम्मेवार बनाइनेछ ।
  • “हाम्रो विद्यालय राम्रो विद्यालय” अभियान अन्तरगत स्थानीय सरकारका गतिविधि विद्यालय तथा समुदायसम्म र विद्यालय एवम् समुदायका गतिविधि गाउँपालिकासम्म आदान प्रदान गराउन अध्यक्षसँग विद्यार्थी भेटघाट कार्यक्रम सञ्चालन गरिनेछ ।
  • माध्यमिक शिक्षा परिक्षा (SEE) मा ३.२ जि.पि.ए. भन्दा माथि नतिजा हासिल गर्ने विद्यार्थिहरुले यस गाउँपालिका अन्तर्गत कक्षा ११ र १२ अध्ययन गरेमा पूर्ण छात्रवृत्ति उपलब्ध गराइने नीति अगाडी बढाइनेछ ।
  • विद्यालय जाने उमेर समूहका बालवालिकाहरूलार्इ कुलतबाट बचाउन सो उमेर समुहका वालवालिकाहरूलाइ सुर्तिजन्य पदार्थ, धुमपान, मद्यपान र लागु पदार्थ विक्रि वितरण गर्न प्रतिवन्ध लगाइने नीति अगाडी वढाइनेछ ।
  • विद्यार्थीहरूलार्इ श्रमप्रतिको सम्मान तथा आत्मनिर्भर हुने गरी सीपमूलक एवम् व्यावसायिक शिक्षा दिँदै आवश्यक सहयोग गरिनेछ ।
  • विभिन्न खोज, अध्ययन र अनुसन्धानलाई प्रवर्द्धन तथा प्रोत्साहन गरिनेछ।
  • विद्यार्थीहरुलार्इ उच्च शिक्षामा सहज पहुच अभिवृद्धि गर्ने उद्देश्यले यस गाउँपालिकामा रहेको एक मात्र क्याम्पस दिगाम आदर्श बहुमूखी क्याम्पसमा उच्च शिक्षा अध्ययन गरेमा स्नातक प्रथम वर्षमा पूर्ण छात्रवृत्ति उपलब्ध दिइने नीतिलाई निरन्तरता दिइनेछ ।
  • युवामा स्वयंसेवी भावना बढाउन, सामाजिक जिम्मेवारी बोध गराउन, विपद् व्यवस्थापनमा योगदान गर्न तथा सामाजिक सुधारका कार्यमा परिचालन गर्न युवा स्वयंसेवा कार्यक्रम संचालन गरिनेछ । नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाइटी र नेपाल स्काउट जस्ता संस्थाहरुसंगको समन्वयमा युवाहरुलाई विपद् व्यवस्थापन तथा स्वयंसेवा सम्बन्धी तालिम दिई परिचालन गर्ने व्यवस्था मिलाइनेछ ।
  • युथ पार्लियामेन्टको अभ्यास लगायतका कार्यक्रम मार्फत् युवा सञ्जाल तथा वडा युवा क्लवमा आवद्ध युवाको नेतृत्व विकासमा जोड दिइनुका साथै युवा प्रतिभा प्रर्दशनका अवसर प्रदान गरिनेछ ।
  • विद्यालय तहदेखिनै प्रतिभा प्रस्फुटनको वातावरण निर्माण गर्न विद्यालयलाई खेल सामग्रि उपलब्ध गराउनुका साथै राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता तथा अध्यक्षकप खेलकुद संचालनगरी प्रतियोगितामामा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडी र विद्यालयलाई पुरस्कृत गरिनेछ ।
  • छत्रकोट गाउँपालिका अन्तर्गत समायोजन भइ विद्यालयका खाली भवन तथा अन्य विभिन्न प्रयोजनमा रहेका खाली भवनहरूलाइ गाउँपालिकाको आवश्यक्ता अनुसार विभिन्न प्रयोजनमा ल्याइने निति अवलम्वन गरिनेछ।
  • प्राथमिक स्वास्थ्य केन्द्रमा सेवा प्रवाहलाई सहज सरल र प्रभावकारी बनाउन आधुनिक X-ray मेशिन लगायत प्याथोलोजि सेवा, आकास्मिक सेवा, MNH सेवाका लागि आवश्यक औजार उपकरणहरुको व्यवस्था गरिनेछ ।
  • नवजात शिशु र ५ बर्षमुनिका बालबालिकाको रोक्न सकिने मृत्युको अन्त्य गर्ने दिगो विकास लक्ष्य, आरोग्य तथा कल्याण, लक्ष्य नं ३ प्राप्तिका लागि खोप सेवाको प्रभावकारी संचालन गरी गाउँपालिकालाई पूर्णखोप दिगोपना र सुनिश्चितता कायम गरिनेछ।
  • श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप कार्यक्रमलाई निरन्तरता दिई खोपबाट जोगाउन सकिने अन्य थप खोपहरु संचालनका लागि पहल गरिनेछ ।सबै प्रकारका कुपोषण अन्त्य गर्ने किशोरी गर्भवती तथा सुत्केरी महिला र अन्य व्यक्तिको पोषण सम्बन्धी आवश्यकतालाई संवोधन गर्ने दिगो विकास लक्ष्यको लक्ष्य नं २ शुन्य भोकमरी प्राप्तिका लागि पोषण विशेष कार्यक्रमका साथ देहाएका कार्यक्रम संचालन गरिने छ ।कुपोषण उपचारका लागि श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा स्थापना भएको OTC (Out Patient Therapeutic Center) लाई थप व्यवस्थित बनाईनेछ ।
  • छत्रकोट गाँउपालिकालाई पोषण मैत्री स्थानीय शासन गाँउपालिका घोषणा गर्ने अभियान अन्तर्गत पोषण मैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिकाको दिगोपना र बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत सम्वद्ध पोषण संवेदनशिल सबै पक्षलाई समेटेर पोषण सम्बन्धि विविध कार्यक्रम संचालन गरिनेछ ।
  • आयातित पत्रु खाना (Junk Food) विस्थापित गरी स्थानीय पोषणयुक्त खानालाई प्रवर्द्धन गर्ने नीति लिईनेछ।विद्यालयहरुमा पोषण सम्बन्धि स्वास्थ्य शिक्षा कार्यक्रम संचालन गरिनेछ ।गर्भवती र सुत्केरी संग उपाध्यक्ष” कार्यक्रमलाई व्यवस्थित गरी पोषणयुक्त कोशेली प्रदान गर्ने व्यवस्था मिलाईनेछ ।
  • सफा पानी तथा सरसफाई दिगो विकास लक्ष्यको लक्ष्य नं ३ प्राप्तिको लागि सबैका लागि खानेपानी सरसफाई तथा स्वच्छता सर्वसुलभ तथा समतामुलक पहुचँका लागि खानेपानी आपुर्ती शुद्धिकरण र पूर्ण सरसफाई सम्बन्धि कार्यक्रम संचालन गरिनेछ ।
  • नेपाल सरकारको MNH रोड म्यापले निर्धारण गरेको लक्ष्य हासील गर्न मातृ मृत्य, बालमृत्यु, शिशु मृत्य दरलाई घटाउन सुरक्षित मातृत्व कार्यक्रमलाई प्रभावकारी संचालन गरिनेछ ।गर्भवती महिलाहरुले, गर्भ रहेको ३ महिनापछि प्रयोगशालामा गरिने ANC Package जाँच निशुल्क कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
  • गर्भावस्थामा गरिने स्याहारसुसार नियमित स्वास्थ्य जाचँ, गर्भावस्था र प्रसुति अवस्थामा हुने जटिलताको बारेमा पूर्व तयारी सम्बन्धि परामर्श सेवालाई व्यवस्थित  गर्न स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धि गरिनेछ। सबै बर्थिङ्ग सेन्टरमा तालिम प्राप्त SBA (Skilled Birth Attendance)  बाट प्रसुति गराउने व्यवस्था मिलाईनेछ ।
  • विगतका वर्षमा घोषणा गरिएको पूर्ण संस्थागत गाँउपालिका घोषणा लाई सुनिश्चितता कायम गरिनेछ।प्रसुति सेवा लिन बर्थिङ्ग सेन्टर सम्म आउन र रेफर भएका प्रसुतिहरुका लागि निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने कार्यक्रमलाई निरन्तरता दिईनेछ ।साथै सुत्केरी जाचँका लागि स्वास्थ्यकर्मीहरुलाई घरमै गएर जाचँ गर्ने व्यवस्था मिलाइनेछ ।
  • सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा परिवार योजना सेवा प्रभावकारी बनाउन लामो समयका गर्भान्तरको लागि IMPLANT/IUCD सेवा संचालन गर्न स्वास्थ्यकर्मीको लागि आवश्यक तालिम गराई पाँच वटै साधन उपलब्ध भएको  स्वास्थ्य संस्था घोषणा गरिनेछ ।श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा स्थायी बन्ध्याकरण सेवा संचालन गरिनेछ ।

 

  • स्वास्थ्यकर्मीहरुको परिचालन गरी ज्येष्ठ नागरिकहरुलाई घर घरमै गई स्वास्थ्य सेवा दिने व्यवस्था गरिनेछ ।महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई दिदै आइरहेको मासिक प्रोत्साहन रकम, सम्मानजनक विदाई, निवृत्तिभरण र मासिक संचार खर्चलाई निरन्तरता दिइनेछ ।महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान , भ्रमण अन्तरक्रिया कार्यक्रमलाई थप व्यवस्थित गरिनेछ ।नयाँ महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकालाई आधारभुत र पुरानालाई रेफ्रेसर तालिमको व्यवस्था गरिनेछ ।
  • क्षयरोग निदानका लागि स्वास्थ्यकर्मीहरुको तालिम क्षमता अभिवृद्धि गरि पहुँच नपुगेका स्थानमा माइक्रोस्कोपि क्याम्प संचालन गरिनेछ ।
  • HIV/ AIDS कुष्ठरोग मधुमेह, उक्त रक्तचाप लगाएत विभिन्न नसर्ने रोगका बारेमा सचेतना कार्यक्रम गरिनेछ ।मधुमेह रोग नियन्त्रणको लागी गाँउपालिकाका सबै ल्याबमा सुगर जाँच निःशुल्क गरिनेछ ।मुटुरोग, मृगौला रोग, क्यान्सर, दम जस्ता गम्भिर प्रकृतिका रोगको बारे सचेतना कार्यक्रम संचालन गरिनेछ ।पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ्ग VIA शिविर संचालन गरिनेछ ।
  • निःशुल्क औषधिको आपुर्तिको लागि आवश्यक व्यवस्था मिलाईनेछ ।स्वास्थ्य संस्थाहरुमा प्रयोगशालाको गुणस्तर वृद्धि गरी सेवा सबै वडाहरुमा बढाइनेछ ।श्रृङ्गा प्राथमीक स्वास्थ्य केन्द्रको स्तरोन्नती गरि १५ शैयाको अस्पताल निर्माणको कार्य प्रारम्भ गरिनेछ ।हर्दिनेटा स्वास्थ्य चौकी, खर्ज्याङ्ग स्वास्थ्य चौकी, दौघा स्वास्थ्य चौकी र गैरीखुट्टा सामुदायिक स्वास्थ्य इकाइको भवनलाई पूर्णता दिईनेछ, अर्ज्याङ्गबास सामुदायिक स्वास्थ्य इकाईको लागी आवश्यक भवनको व्यवस्था मिलाईनेछ।
  • स्वास्थ्य संस्थाहरुमा खानेपानी, विद्युत, कम्प्युटर प्रिन्टर, फर्निचर तथा औजार उपकरण,लगायतको गुणस्तर कायम गर्ने व्यवस्था गरिनेछ । “असहाय स्वास्थ्य उपचार सहायता कोष” लाई निरन्तरता दिईनेछ ।
  • छत्रकोट गाउँपालिका भित्रका डायलाइसिस गराइरहेका मृगौला रोगी, क्यान्सर रोगी, मुटुका गम्भिर विरामी र मेरूदण्ड पक्षघातका विरामीहरूलाई विशेष सहयोग गरिनेछ।
  • सुगर ब्लड प्रेसरका बिरामीलाई लक्षित गाँउपालिका सुगर प्रेसर पहिचान र न्युनिकरण कार्यक्रम संचालन गरिनेछ । जसका लागि सबै प्याथोलोजिमा सुगर जाँच निःशुल्क गरिनेछ।स्वास्थ्यकर्मीको माध्यमद्धारा विद्यालय र समुदायमा सन्देश प्रवाह गर्ने व्यवस्था मिलाईनेछ ।स्वास्थ्य विमा कार्यक्रमलाई  थप प्रभावकारी बनाइनेछ ।
  • छत्रकोट गाउँपालिका र नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार सेवा बुटवलको सहकार्यमा छत्रकोटबासि नागरिकहरुको लागि रगत आवश्यक पर्दा बुटवल,रुपन्देहिमा निःशुल्क रगत उपलब्ध गराउने कार्यलाई निरन्तरता दिईनेछ।साथै तम्घास आँखा अस्पत्तालसँगको समबन्वयमा मोतियाविन्दु भएका व्यक्तिहरुलाई निःशुल्क मोतियाविन्दु अप्रेसनको गरि उपचार गर्ने कार्यलाई निरन्तरता दिईनेछ।सुर्ति, मदिरा र लागू पदार्थजन्य वस्तुको प्रयोगमा नियमन गर्ने एंव सचेतना अभिबृद्धि गर्ने कार्यक्रम संचालन गरिनेछ ।स्वास्थ्य जीवनशैली, पोषण, शारीरिक व्यायाम, योग अभ्यास, पञ्चकर्म लगायतका जनस्वास्थ्य सेवाको प्रवर्द्धन गरिनेछ ।
  • हरेक नागरिकलाई स्वच्छ खानेपानीको अभाव हुन नदिन संचालित विभिन्न खानेपानी योजनाहरुलाई थप व्यवस्थित गराईनेछ साथै आवश्यकता अनुसार नयाँ खानेपानी योजनाहरु समेत संचालन गरिनेछ।एक घर, एक धारा निर्माण अभियानलाई यसै आर्थिक वर्ष भित्र पुरा गर्ने गरि अगाडी वढाईनेछ।
  • गाउँपालिका भित्रका खानेपानी तथा सरफाई उपभोक्ता समितिद्वारा संचालित खानेपानी आयोजनाहरुको अनिवार्य मूल तथा समितिलाई दर्ता प्रक्रियामा ल्याई महशुलमा समेत एकरुपकता ल्याईनेछ।एकीकृत मूल तथा मुहान संरक्षण कार्यक्रम संचालन गरि छत्रकोट गाउँपालिका भित्रका खानेपानीका मुहानहरुको उचित संरक्षण गरिनेछ।पुराना पधेँरा, ढुङ्गेधारा लगायतका पानीका स्रोतहरुलाई संरक्षण र संवर्द्धन गरिनेछ।
  • जलवायु परिवर्तको असरका कारण सुकेका मुहानहरुलाई व्युताउन र सुक्दै गरेका मुहानहरुलाई संरक्षण गर्न एकटोल, एक रिचार्जपोखरी निर्माण र वृक्षारोपण जस्ता कार्यक्रमलाई निरन्तरता दिईनेछ।छत्रकोटगाउँपालिका भित्रका बजार क्षेत्रहरुको फोहोरमैला व्यवस्थापनको लागि ल्याण्डफिल्ड साईटको पहिचान, निर्माण र व्यवस्थापन कार्यलाई अगाडी वढाईनेछ।
  • छत्रकोट गाउँपालिकाको सामाजिक तथा सांस्कृतिक रहनसहन, कला, संस्कृति, भेषभुषा, परम्परा तथा विशिष्ठतालाई संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्न आवश्यक व्यवस्था मिलाईनेछ।
  • रुरु रेसुङ्गाको धार्मिक आस, छत्रकोटमै बसौं बास भन्ने अभियानलाई अगाडी वढाई पर्यटकीय विकास गर्न छत्रकोट २ पल्लिकोटमा व्यवस्थित रुपमा होम स्टे संचालन गरिनेछ।
  • छत्रकोट गाउँपालिकाको पहिचान झल्कने सामाग्रीहरु प्रदर्शन गर्न छत्रकोट गाउँपालिकाको निर्माणाधिन प्रशासकीय भवनको परिसरमा संग्राहालयको व्यवस्था गरिनेछ।
  • सबैको सम्मान हुने परिस्कृत, मर्यादित, सभ्य र सु-संस्कृतिक समतामूलक समाज निर्माणको व्यवहारिक कार्यान्वयन तर्फ जोड दिईनेछ।महिला, किशोरी, बालिकाहरु तथा लक्षित वर्ग लगायतमा हुने सबै प्रकारका विभेदजन्य कार्यहरु अन्त्य गर्ने नीति अवलम्बन गरिनेछ।
  • महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी महासन्धि, बेईजिङ घोषणापत्र, बालबालिकाको अधिकार सम्बन्धी महासन्धि तथा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी महासन्धिलाई स्थानीयकरण गर्न आवश्यक कार्यक्रम संचालन गरिनेछ।
  • महिला, पुरूष लगायत लैङ्गिक तथा यौनिक अल्पसंख्यक उपर हुने श्रमको ज्यालामा हुने विभेद अन्त्य गरि समान कामको लागि समान ज्याला नीतिलाई पूर्ण कार्यान्वयन गरिनेछ।
  • दिगो विकासको लक्ष्य ५ लैङ्गिक समानता प्राप्त गर्ने विषयलाई स्थानीयकरण गरि कार्यान्वयन गर्न आवश्यक कार्यक्रमहरु अगाडी वढाईनेछ।महिला र लक्षित समुदायलाई लोक सेवा आयोग तथा शिक्षा सेवा आयोग पूर्व तयारी कक्षा सञ्चालन कार्यक्रम संचालन गरि सरकारी सेवामा महिला तथा लक्षित समुदायको पहुँच कायम गरिनेछ।
  • हरेक क्षेत्रमा महिलाहरुको पहुँच अभिवृद्धि गर्न महिला नेतृत्व र क्षमता विकासका कार्यक्रम सञ्‍चालन गरिनेछ।गाउँपालिकाको कार्यालय,स्वास्थ्य चौकी र सम्भव भएका सार्वजनिक स्थलहरुमा कर्मचारी लगायत सेवाग्राहीलाइ लक्षित गरी अलग्गै स्तनपानकक्षको व्यवस्था मिलाईनेछ।
  • जातिय छुवाछुत जस्तो जघन्य अपराधमा सून्य सहनशिलता अवलम्बन गर्दै यस्तो व्यवहार गर्ने जो कोहिलाई कानुनको दायरामा ल्याईनेछ।समाजमा रहेका विभिन्न सामाजिक कुरीति (जातिगत छुवाछुत, बाल विवाह, बहु विवाह, दाइजो, आदि) हटाउन आवश्यक कार्यक्रमहरु सञ्चालन गरिनेछ।
  • टोल विकास संस्थालाई परिचालन गरी घरेलु हिंसा अन्त्यका लागि बहस, पैरवी तथा चेतनामूलक अभियान सम्बन्धी कार्यक्रम पर्याप्त र प्रभावकारीरुपमा संचालन गरिनेछ।टोल विकास संस्था परिचालन गरी वाल श्रम, बालविवाह, वहु विवाह, दाइजो, बोक्सी जस्ता प्रथा नियन्त्रण गर्न आवश्यक सामाजिक परिचालनका कार्यक्रमहरु संचालन गरिनेछ।
  • दलित तथा जनजाती समुदायमा रहेका परम्परागत लोपउन्मुख सीपहरुको संरक्षण तथा प्रवर्द्धन गरि व्यवसायिकता तर्फ उन्मुख वनाउन आवश्यक सचेतनाका कार्यक्रम संचालन गरिनेछ।दलित लक्षित कार्यक्रमलाई थप प्रभावकारी वनाई निरन्तरता दिईनेछ।दलित तथा विपन्न वर्गका परिवारलाई निःशुल्क विद्युत मिटर जडान कार्यलाई निरन्तरता दिईनेछ।
  • आदिवासी जनजातीहरुको भाषा संस्कृतिको सम्मान गर्दै संरक्षण,संवर्द्धनको लागी आवश्यक कार्यक्रमहरु संचालन गरिनेछ।
  • अल्पसंख्यक तथा सिमान्तकृत समुदायको पहिचान गरि सम्मानित जिवनयापनको लागि आवश्यक प्रक्रिया अगाडी वढाईने छ।
  • कुमाल र माझी जातका नागरीकहरूलाई आवश्यक सीप विकासका तालिम तथा आय आर्जनका कार्यक्रमहरू मार्फत् जिवनस्तर उकास्न आवश्यक सहयोग गरिने ।
  • जेष्ठ नागरिक सँग अध्यक्ष भेटघाट कार्यक्रमलाई निरन्तरता दिदैँ थप प्रभावकारी कार्यान्वयन गरिनेछ। अपाङ्गता भएका व्यक्ति तथा जेष्ठ नागरिकहरुलाई नजिकबाट सेवा प्रदान गर्नको लागि अपाङ्ग परिचय पत्र तथा जेष्ठ नागरिक परिचयपत्र वितरण शिविर संचालनलाई निरन्तरता दिईनेछ।क र ख वर्गका अपाङ्गगता भएका व्यक्तिहरुलाई अपाङ्गताको प्रकृति हेरि साझेदारी संस्थाहरुसंगको सहकार्यमा अपाङ्गता सहायता सामाग्री वितरण कार्यलाई निरन्तरता प्रदान गरिनेछ।ग र घ वर्गका अपाङ्गगता भएका व्यक्तिहरुलाई विभिन्न सिपमूलक तालिम प्रदान गरि रोजगारीका अवसर शिर्जना गर्ने कार्यक्रमहरुलाई थप प्रभावकारी रुपमा संचालन गरिनेछ।
  • पुरानो पिढींको अनुभव, नयाँ पिढींमा सदुपयोग नारालाई आत्मसाथ गर्दै अनुभवका धनी जेष्ठ नागरिकहरुको भोगाई र सिकाईहरुलाई विकासको क्षेत्रमा उपयोग गर्ने नीति अवलम्बन गरिनेछ।जेष्ठ नागरिकहरुलाई घरदैलोमै गई स्वास्थ्य सेवा उपलब्ध गराइने व्यवस्थालाई निरन्तरता दिईनेछ।
  • अशक्त र अपाङ्गता भएका ब्यक्तिहरु र बालवालिकाहरुलाई सेवाप्राप्तीमा सहज पहुँचका लागि गाउँपालिकाका, वडा कार्यालय तथा अन्य सरकारी कार्यालयहरुलाई क्रमश अपाङ्ग मैत्री,बालमैत्री वनाइनेछ।
  • वडा स्तरबाट बाल क्लब तथा बाल सञ्जालको गठन मार्फत् नेतृत्व तथा सचेतना विकास गरि बाल यौन दुराचार, वाल बिबाह, बाल श्रम शोषण जस्ता अपराध विरुद्ध जागरुक वनाउने अभियान संचालन गरिनेछ।
  • यस गाउँपालिका बाट अन्यत्र बसाईसराई गरी जानुपर्ने बाध्यात्मक परिस्थितिलाई अन्त्य गर्न विभिन्न किसिमका आयमूलक र रोजगार मूलक कार्यक्रमहरु संचालनलाई निरन्तरता दिईनेछ।गाउँपालिका भित्र अव्यवस्थित रुपमा वसोवास गरेका परिवारहरुलाई आवश्यकता अनुसार व्यवस्थित बसोवासको व्यवस्था मिलाईने छ।बाढि पहिरो जस्ता प्राकृतिक प्रकोपको जोखिममा रहेका बस्तीहरुको आवश्यकता अनुसार बस्ती स्थान्तरण तथा एकिकृत वस्ती विकास गर्ने नीति अवलम्बन गरिनेछ।

सभाका सदस्य ज्यूहरु

  • अबको निकास, गुणस्तरीय पूर्वाधारको विकास भन्ने नारालाई आत्मसात गर्दै पूर्वाधारको निर्माण गर्दा दिगोपना, बिपद् उत्थानशिल, प्राकृति सौन्दर्ययुक्त र वातावरण मैत्री वनाउँदै लैजाने नीति अवलम्बन गरिनेछ।
  • गाउँपालिकाको केन्द्र र वडा केन्द्र जोड्ने सडकलाई प्राथमिकतामा राखि कालोपत्रे गर्ने कार्यलाई अगाडी बढाईने छ।अत्यावश्यक र प्राविधिक हिसावले उपयुक्त देखिएको बाहेक नयाँ ट्याक खोल्नेकार्यलाई पूर्ण रुपमा रोकी भएका सडकहरुलाई स्तरउन्नती गर्ने कार्य अगाडी वढाईनेछ।
  • पिपलनेटा दिगाम धरमपानी मानकोट गैरिखुट्टा दौघा फर्साटाकुरा सडकको कालोपत्रे गर्ने कार्यलाई निरन्तरता दिईनेछ।लुम्छाधरमपानीदिगामसातमुरे सडक अन्तर्गत लुम्छा- चौपारी खण्ड र सातमुरे मौलिपुर खण्डको कालोपत्रे कार्यको सुरुवात गरिनेछ।साथै छत्रकोट-४ कालिकानगर-मनभाग सडको स्तरोन्नती गरिनेछ।
  • बिरवास-कोलधारी-बर्जिया-सिस्ने-चन्द्रकोट गा.पा मोटरबाटो स्तरोन्नती योजना अन्तर्गत कालोपत्रे कार्यलाई निरन्तरता दिँदै वडा नं.२ को वडा कार्यालयसम्म कालोपत्रे सम्पन्न गरिनेछ।साथै मानकोट चण्डिस्थान भिउडाँडाँ खर्ज्याङ्ग मोटरबाटोको स्तरोन्नती गरि कालोपत्रे गर्ने कार्यलाई थप अगाडी वढाईनेछ।
  • भेडुवा-गुन्टुङ-ठूलापोखरा चोरकाटे सडक कालोपत्रे कार्यको सुरुवात गरिनेछ। हुँगा ठूलापोखरा ऐया हुँदै सत्यवती जाने मो.बा. स्तरोन्नती कार्यलाई तिव्रता दिईनेछ। वडा नं १ को गुङ्टुङ देखि कोटाग्दी हुँदै सिस्ने सडको कालोपत्रे गर्ने कार्यको सुरुवात गरिनेछ।
  • छत्रकोट-३ चौपारी देखि वयरपोखरा सम्मको निर्माणाधिन सडकलाई कालोपत्रे गर्ने कार्य अगाडी वढाईनेछ।धरमपोखरा रुक्से हुँदै उल्लिखोला मो.बा. को थप स्तरोन्नती गरिनेछ।
  • छत्रकोट ५ ठाटीवारी देखि नौबिसे सम्म र गुर्जिनेटा देखि खर्ज्याङ्ग सम्मको सडक स्तरोन्नती गरिनेछ।
  • गैरिखुट्टा- नौधारा- दौघा सडक कालोपत्रे कार्यलाई थप अगाडी वढाईनेछ।
  • भेडुवा देखी नरम हुँदै दोमइ र रानीपोखरा देखि मैनडाँडा हुदै मनभाग सडक खण्ड तथा गाउँपालिका भित्रका विभिन्न सडकको स्तरोन्नती गर्ने अभियानलाई अगाडी वढाईने छ ।
  • गाउँपालिकाको व्याकहो लोडरको आवश्यकता र प्राथमिकताका आधारमा परिचालन गरि सडकलाई बाह्रै महिना पूर्ण रुपमा संचालन हुनेगरि आवश्यक व्यवस्था मिलाईनेछ।
  • गाउँपालिकाको प्रशासकीय भवन निर्माणको कार्यलाई आगामी आ.व.२०८२।८३ मा सम्पन्न गर्ने गरि अगाडी वढाईनेछ।खर्ज्याङ्ग स्वास्थ्य चौकी र दौघा स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न गरिनेछ।त्यसैगरि जनज्योती माध्यमिक विद्यालय लगायतका अन्य अधुरा विद्यालयका विद्यालय भवन निर्माण कार्यलाई अगाडी वढाईनेछ।
  • छत्रकोट गाउँपालिका निर्माण भएका घर भवनहरूको व्यवस्थित गर्नकोलागि भवन संहिता मापदण्ड तर्जुमा गरि यसै आ.व देखि नक्सापास तथा अभिलेखिकरण गर्ने कार्यलाई अगाडी वढाईनेछ।
  • छत्रकोट गाउँपालिका भित्र केहि सार्वजनिक स्थानहरूमा सार्वजनिक शौचालय स्थापना गर्ने कार्यलाइ अगाडी वढाइनेछ ।
  • आर्थिक रूपले विपन्न गरिवहरूकोलागि लक्षित गरी छत्रकोट गाउँपालिका अन्तर्गत भेडुवा वजारमा कपडा वैकँ ( cloth Bank) स्थापना गर्ने कार्यलाइ अगाडी वढाइनेछ ।
  • छत्रकोट गाउँपालिका वडा नं ६ अन्तर्गत दौघामा रहेको चुन ढुगाँ उत्खनन सम्वन्धमा अध्ययन कार्यलाई अगाडी वढाइने छ ।
  • छत्रकोट-४ मा निर्माणाधिन अवस्थामा रहेको मौलिपोखरा ताललाई यसै आर्थिक वर्षमा सम्पन्न गरिनेछ।
  • २० युनिट सम्मको विद्युत महशुल निःशुल्क गर्ने कार्यक्रमलाई निरन्तरता दिईनेछ।बजार क्षेत्रमा सडक बत्तीको व्यवस्था गर्ने कार्यलाई निरन्तरता दिईनेछ।अव्यवस्थित विद्युतीय पोल तथा तारहरुको व्यवस्थित गर्न सम्बन्धित निकायसँग सहकार्य गरि कार्यान्वयन गरिनेछ।
  • आधुनिक सूचना प्रविधिमैत्री डिजिटल गाउँपालिका निर्माणको लागि आवस्यक सफ्टवेयर र प्रविधिको प्रयोगमा जोड दिईनेछ। नागरिकहरुको सूचनाको हकलाई उच्च सम्मान गर्दै गाउँपालिका कार्यालय तथा शाखाहरुलाई सूचना मैत्री बनाईनेछ।गाउँपालिकाबाट सम्पादन हुने कार्यहरुको विद्युतीय अभिलेख कार्यलाई थप व्यवस्थित तुल्याईनेछ।
  • आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्नका साथै शान्ति,सुरक्षा र अमनचयन कायम गर्न गाउँपालिका भित्रका संवेदनशिल बजार क्षेत्रमा CCTV जडान कार्यलाई विस्तार गरिनेछ।पत्रकारीता र संचार जगत संग विकास र सुशासनमा सहकार्य गरिने छ ।स्थानीय संचार गृहहरुलाई नियमित प्रसारण गर्न आवश्यक सहयोग र समन्वय गरिनेछ।छत्रकोट गाउँपालिका भित्रका गतिविधीहरुलाई प्राथमिकता दिँदै जनता समक्ष यथार्थ सूचना प्रवाह गर्ने सञ्चारकर्मीहरुलाई प्रोत्साहन र पुरस्कृत गरिनेछ।
  • वातावरण संरक्षणको लागि टोल विकास संस्थासँगको समन्वयमा गाउँपालिका क्षेत्रमा खाली रहेका सार्वजनिक जग्गाहरुमा अमृसो,अमला,टिमुर लगायतका विरुवाहरु रोप्ने कार्यलाई अगाडी वढाईनेछ। छत्रकोट गाउँपालिका भित्र रहेका सामुदायिक वन उपभोक्ता समितिहरुलाई गाउँपालिकामा अभिलेखिकरण गर्ने व्यवस्था मिलाई आवश्यक नियमन गरि प्रभावकारीतामा अभिवृद्धि गरिनेछ।
  • विपद व्यवस्थापन तथा जलवायु परिवर्तन सम्बन्धी सचेतनामुलक कार्यक्रमहरु वडागत रुपमा संचालन गरिनेछ ।वन संरक्षण, सम्वर्धन, डढेलो नियन्त्रण आदी कार्यक्रमको लागि सामुदायिक वन उपभोक्ता महासंघ लगायतका सम्पूर्ण सरोकारवालाहरुसंग समन्वयात्मक रुपमा विभिन्न कार्यक्रमहरु संचालन गरिने छ ।
  • डढेलोको प्रकोप वढीरहेको अवस्थालाई मध्यनगर गरि डडेलो लगाउने कार्यमा संलग्न व्यक्तिको खोजी गरि आवश्यक कानूनी कारवाही गरिनेछ।साथै डडेलो लगाउने व्यक्तिको वास्तविक सूचना उपलब्ध गराउने व्यक्तिलाई पुरस्कृत गरिनेछ।
  • निर्माण सम्पन्न भएका मोटरवाटोको किनारामा वृक्षारोपण गरि छत्रकोट गाउँपालिका भित्र हरित सडकको अवधारणा अगाडी वढाईनेछ।
  • जलवायु परिवर्तनबाट परेको असरलाई न्यूनीकरण गर्न जलवायु अनुकुलन तथा उत्थानशिल उन्मुख विभिन्न कार्यक्रमहरु संचालन गरिनेछ।खर्ज्याङ्ग खोला,रिडि खोला र बढिघाट खोलाले गर्ने नदि कटानलाई रोकथाम गर्नको लागि तटवन्धन कार्य अगाडी वढाईनेछ।दिगो विकासका लक्ष्यहरुको स्थानीयकरणका लागि आवश्यक नीति तथा कार्ययोजना निर्माण गरि कार्यक्रमहरु संचालन गरिनेछ।
  • गाउँपालिका भित्रका कार्यालयहरुबाट हुने सार्वजनिक सेवा प्रवाहलाई छिटो, छरितो, चुस्त, दुरुस्त, मितव्ययी र प्रभावकारी रुपमा संचालन गरिनेछ। गाउँपालिकाबाट सम्पादन हुने सेवा प्रवाहलाई पारदर्शि र जवाफदेही वनाई थप सुदृढ तुल्याईनेछ। स्थानीय सरकार सञ्चालनको लागि आवश्यक पर्ने ऐन, नियमावली, कार्यविधिहरुको निर्माण तथा संशोधन गरि कार्यान्वयमा लगिनेछ।

 

  • आन्तरिक नियन्त्रण प्रणाली तर्जुमा गरी पूर्ण रूपमा कार्यान्वयन गर्नुका साथै नियमित अनुगमन गरि पारदर्शिता र सुशासनको प्रवर्द्धन गरिनेछ।छत्रकोट गाउँपालिकाका भित्रका कर्मचारी,शिक्षक र स्वास्थ्यकर्मीहरुको आवश्यकता अनुसार हेरफेर गरि कार्यसम्पादनस्तर लाई थप प्रभावकारी गराईनेछ।यस गाउँपालिकाका पदाधिकारी तथा कर्मचारीहरुको क्षमता विकासको लागि समयानुकुल विभिन्न क्षमता विकास तालिमहरु संचालन गरिनेछ ।
  • हामीले तिरेको कर हाम्रो विकासका लागि हो भन्ने जन भावना जागृत वनाई सबै नागरिकलाई कर तिर्ने वानीको विकास गर्न कर शिक्षा संचालन गरिनेछ।गाउँपालिकामा संचालित सम्पूर्ण व्यवसायहरुलाई अनिवार्यरुपमा व्यवसाय दर्ता प्रक्रियामा ल्याईनेछ।साथै दर्ता/नविकरण नगरि व्यवसाय संचालन गरेको पाईएमा कारवाही प्रक्रिया अगाडी वढाईनेछ।यथार्थमा आधारित घर बहाल कर तिर्ने वानिको विकास गर्न घरधनी र वहालवाला दुवैलाई जिम्मेवार वनाउन निरन्तर अनुगमन तथा सचेतनाका कार्यक्रमहरु संचालन गरिनेछ।
  • व्यक्तिगत सम्पत्तीबाट व्यवसायिक प्रयोजनका लागि ढुङ्गा तथा अन्य खनिज पदार्थ वेचविखन गर्दा अनिवार्य रोयल्टी तिर्नुपर्ने व्यवस्थालाई कडाईका साथ कार्यान्वयन गरिनेछ।करको दर र दायरामा हेरफेर गरि समयानुकुल वनाउँदै लगिनेछ। विकृतिको रुपमा गाउँघरमा वढ्दै गईरहेको जुवा तासको लतलाई नियन्त्रण गर्न आवश्यक कारवाही प्रक्रिया अगाडी वढाईने छ।
  • विकास निर्माण र सेवा प्रवाहको सम्बन्धमा स्थानीय तह र सेवाग्राहीहरुका वीचमा दोहोरो संवाद तथा अन्तरक्रिया मार्फत् उत्तरदायित्व,पारदर्शिता कायम गर्न सार्वजनिक सुनुवाई कार्यक्रमलाई थप व्यवस्थित गर्दै संचालन गरिनेछ।नागरिक सन्तुष्टि सर्वेक्षण गरि सेवा प्रवाहलाई थप जनमैत्री बनाउँदै लगिनेछ।गुनासो सुन्ने र गुनासो फर्छ्यौट गर्ने कार्यलाई थप सिघ्र,चुस्त र व्यवस्थित वनाउँदै लगिनेछ।
  • समाजमा मौलाउँदै गएको नकारात्मक सोचलाई हटाउँदै सकारात्मक सोचको विकास गर्न आवश्यक जनचेतनामूलक कार्यक्रमहरु संचालन गरिनेछ।मदिरा सेवन गरी सामाजिक सद्‌भाव खलल पार्ने व्यक्तिहरुको पहिचान गरी आवश्यक कारवाही प्रक्रिया अगाडी वढाईने छ।
  • बेरुजु न्यूनीकरणका लागि आन्तरिक लेखापरीक्षण र आन्तरिक नियन्त्रण प्रणालीलाई थप प्रभावकारी वनाईनेछ।अन्तिम लेखापरीक्षणबाट औल्याईएका बेरुजुहरुको अद्यावधिक लगत कायम गरि बेरुजु फर्छ्यौटको लागि मातहतका कार्यालय,शाखा,समितिहरु तथा व्यक्तिहरुलाई ताकेता गरी प्रमाणहरु संकलन गर्ने तथा असुल गर्नुपर्ने बेरुजु असुल उपर गर्ने कार्यलाई तदारुकताका साथ अगाडी वढाई सम्परीक्षण गराईनेछ।आर्थिक अनुशासन मार्फत् सून्य बेरुजु युक्त गाउँपालिका निर्माण गर्ने नीति अवलम्बन गरिनेछ।
  • न्यायिक समितिको पदाधिकारीहरुको क्षमता विकासको लागि समयानुकुल र विषयानुकुल क्षमता विकासको लागि पुनर्ताजगी तालिम कार्यक्रमहरु संचालन गरिनेछ ।छत्रकोट गाउँपालिका अन्तर्गत सुचीकृत भएका न्यायिक मेलमिलाप कर्ताहरुलाई न्यायिक सम्पादन सम्बन्धी पुनर्ताजगी तालिम संचालन गरिनेछ।न्यायिक समितिका सदस्यहरुको क्षमता विकासको लागि अध्ययन तथा अवलोकनका कार्यक्रम संचालन गरिनेछ।
  • उपभोक्ता समितिहरुको योजना संचालन तथा व्यवस्थापन सम्बन्धी क्षमता अभिवृद्धिको लागि उपभोक्ता समितिका पदाधिकारीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी तालिम प्रदान गर्ने कार्यक्रमलाई निरन्तरता दिईनेछ।छिटो छरितो र गुणस्तरीय तवरले योजना संचालन,व्यवस्थापन र संरक्षण गर्ने उपभोक्ता समितिलाई प्रोत्साहन गरिनेछ।टोल विकास संस्थालाई विकासको साझेदारीको रुपमा अगाडी वढाई विकास निर्माण कार्यलाई अपनत्व सहितको दिगो विकास कार्यक्रम संचालन गरिनेछ।अनुगमन प्रणालीलाई थप व्यवस्थित, वैज्ञानिक र वस्तुनिष्ट वनाउँदै योजना तथा कार्यक्रमहरुको कार्यान्वयनमा गुणस्तर सुनिश्चित गरिनेछ।
  • सार्वजनिक नीजि साझेदारी अवधारणालाई प्राथमिकता दिँदै छत्रकोट गाउँपालिकामा संचालन गरिने विकास निर्माण, सेवा प्रवाह, रोजगारी सिर्जना र गरिवी निवारणका क्षेत्रमा नीजि तथा सहकारी क्षेत्र सँगको सहकार्यलाई जोड दिईनेछ।यस गाउँपालिका भित्र कुनै पनि गैर सरकारी संस्थाले संचालन गर्ने कार्यक्रमलाई गाउँपालिकाको वार्षिक बजेट तथा कार्यक्रममा समावेश गरिनेछ।अन्तर गाउँपालिका/नगरपालिका सम्बन्ध विकास गरी अन्तर-स्थानीय तहहरुसंगको साझेदारीमा विकास निर्माणका कार्यक्रमहरु अगाडी वढाईनेछ।
  • यस गाउँपालिकाको स्रोत तथा साधनले धान्न नसक्ने ठूला योजनालाई कार्यान्वयन गर्नको लागि संघीय सरकार, प्रदेश सरकार तथा अन्य सरोकारवाला निकाय समक्ष पेश गर्ने गरि प्रस्ताव अगाडी वढाईने छ ।

 

श्रद्घेय सभा सदस्य ज्यूहरु,

  • सबैको साथ, सहयोग,सहकार्य र सामुहिक प्रयत्न द्वारा यस नीति तथा कार्यक्रममा अन्तर्निहित उद्देश्यहरु प्राप्त गर्न सकिन्छ भन्ने विश्वास लिएको छु।स्थानीय आवश्यकताको परिपूर्ति, उत्पादन र उत्पादकत्वको अभिवृद्धि,सीप विकास र क्षमता विकास,रोजगारी सिर्जना,गुणस्तरीय शिक्षा र स्वास्थ्यको प्रवर्द्धन,लगानी मैत्री वातावरणको निर्माण,उद्योग तथा व्यवसायको विकास,गुणस्तरीय सेवा प्रवाह, नागरिक सन्तुष्टिमा अभिवृद्धि,पर्यटन प्रवर्द्धन,विपद व्यवस्थापन जस्ता विषयलाई प्राथमिकतामा राखि प्रस्तुत गरिएको नीति तथा कार्यक्रमको कार्यान्वयनमा सबैपक्षवाट सकारात्मक र रचनात्मक सहयोग हुनेछ भन्ने विश्वास व्यक्त गर्दछु।
  •  अन्त्यमा, यस छत्रकोट गाउँपालिकाको आ.व ०8१।८२ को लागि नीति तथा कार्यक्रम तयार गर्न आफ्नो अमूल्य राय सुझाव तथा सल्लाह प्रदान गर्नुहुने सम्पूर्ण जनप्रतिनिधीहरु, राजनीतिक दल, कर्मचारी, शिक्षक, नागरिक समाज, पत्रकार जगत लगायत विज्ञ व्यक्तित्वहरु र समग्र छत्रकोट बासी आमा,बुवा,दाजुभाई दिदिबहिनीहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।     धन्यवाद

राम प्रसाद पाण्डेय

                                                                                                                                      अध्यक्ष

208१।03।0३ गते सोमबार

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →