तिलाचन पाण्डे, गुल्मी: नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गुल्मीले पछिल्लो एक महिनामा करिब ३४ लाख बक्यौता रकम असुल गरेको छ। लामो समयदेखि विद्युत्त महसुल नतिरेका ग्राह्रकहरुबाट ३३ लाख ८४ हजार ८१८ रुपियाँ ८१ पैसा बक्यौता उठाएको केन्द्रका लेखा प्रमुख विष्णु न्यौपानेले जानकारी दिनुभयो।
यस अवधिमा २३९ ग्राहकहरुको लाइन काटिएको र उनीहरुबाट ५६ लाख ५५ हजार ६६८ रुपियाँ २४ पैसा बक्यौता उठाउनुपर्ने देखिएको छ । लाइन काटिएकामध्ये दुई सय ८ जनाले रकम बुझाएर लाइन जोड्नका लागि निवेदन दिएकाले पुनः लाइन जोडिएको केन्द्रले जनाएको छ । जसबाट ३३ लाख ८४ हजार ६६८ रुपियाँ २४ पैसा बक्यौता रकम उठेको न्यौपानेले बताउनुभयो ।
जिल्लामा सबैभन्दा बढी सगुन कन्ट्रक्सन तथा निर्माण सेवाले १२ लाख ४९ हजार ४०२ रुपियाँ बक्यौता बुझाउनुपर्ने देखिएको छ । सगुनको पनि लाइन काटिएको कार्यालयले जनाएको छ । उक्त निर्माण कम्पनीले कालीगण्डकी करिडोर रिडी हर्मिचौर सडक खण्डको कालोपत्रे गरेको छ । उक्त कम्पनीले क्रसर उद्योग चलाएको र विद्युत् बक्यौता रकम नतिरेकाले लाइन काटन बाध्य भएको कार्यालयले जनाएको छ ।
जिल्लामा राजनीतिक दलका पार्टी कार्यालय, सरकारी कार्यालय, लिफ्टिङ खानेपानी ,सङ्घ संस्था र सर्वसाधारणले विद्युत् महसुल नतिरेको केन्द्रको तथ्याङ्कमा उल्लेख छ । महशुल नतिर्ने ग्राहकहरुमा पाँच हजारदेखि लिएर १२ लाख रुपियाँसम्मको बक्यौता रकम छ ।
जिल्लास्थित सरकारी कार्यालय, राजनीतिक दल र अन्य सङघ संस्थालाई महसुल तिर्न चेतावनीसहितको पत्राचार गरिएको केन्द्रका प्रमुख अर्जुन पोखरेलले जानकारी दिनुभयो । यसका साथै जिल्लाका सञ्चार माध्यमहरुबाट महसुल तिर्न सूचना पनि प्रसारण गरिएको भन्दै अटेरी ग्राहकहरुको लाइन काटेरै छाड्ने पोखरेलले चेतावनी दिनुभयो ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







