बागलुङ: बागलुङको गलकोट नगरपालिका वडा नं-८ बिर्कोट स्थित बुढाथोकी परिवारद्वारा गाउँमा प्रतिक्षालय निर्माण गरिदिनुभएको छ ।
बुढाथोकी परिवारको एकल खर्चमा निर्मित उक्त प्रतिक्षालयको आइतबार एक कार्यक्रमकाबीच समुद्घाटन गरिएको छ । बिर्कोटमा नवनिर्मित उक्त बुढाथोकी प्रतिक्षालयको गलकोट नगरपालिका वडा न.-८ का वडा अध्यक्ष तेजप्रसाद सापकोटा, सहयोगदाता समाजसेवी टिका बहादुर बुढाथोकी र उहाँकी धर्मपत्नी मन कुमारी बुढाथोकीले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गर्नुभएको हो ।
बिर्कोट जन्म भई हाल रोजगारीका सिलसिलामा जापानमा रहनुहुने समाजसेवी गोम बहादुर बुढाथोकीले व्यक्तिगत झण्डै ५ लाख लागतमा लाँकुरीबोटमा प्रतिक्षालयसंगै खानेपानी धारा, र चौपारी, पोखरी, फलफुल बगैचा निर्माण गरिदिनुभएको हो । नवनिर्मित उक्त संरचनाको बाजागाजा सहित समुद्घाटन र पुजन तथा धार्मिक अनुष्ठान कार्यक्रम समेत गरिएको हो ।
पैदल यात्रा गर्ने स्थानीयहरुलाई आवतजावत गर्दा थकान मेट्न प्रयोग गरिने चौपारी पछिल्लो समय कमै मात्रामा देखिन थालेको र यसले हाम्रो पहिचान समेत झल्काउने भएकाले आफ्नो जन्मभूमीका आमा बुबाहरुलाई सहज होस् भन्ने हेतुले संरचना निर्माण गरेको निर्माणकर्ता एवम् समाजसेवी बुढाथोकीले बताउनुभयो । आफ्नो बुबाले देखेको सपनालाई समेत आफुले पुरा गरेको उहाँको भनाई थियो ।
उद्घाटन कार्यक्रममा गलकोट नगरपालिका वडा न.-८ का पुर्व अध्यक्ष रामप्रसाद कंडेल, गलकोट समाज यूकेका संस्थापक अध्यक्ष रेशम बुढाथोकी, जनजागृति माध्यमिक विद्यालयका प्रधानाध्यापक तेजिन्द्र बहादुर बुढाथोकी, संस्कृती संरक्षण मञ्चका पूर्व अध्यक्ष डिल बहादुर बुढाथोकी, संस्कृती संरक्षण मञ्च काँडेबासका अध्यक्ष पदम सलामी लगायत स्थानीय युवा, समाजसेवीहरुको सहभागीता रहेको थियो ।
परिवारको तर्फदेखि धन्यवाद व्यक्त गर्दै जनजागृति माध्यमिक विद्यालयका प्रधानाध्यापक तेजिन्द्र बहादुर बुढाथोकीले ऐतिहासिक कार्यक्रममा सहभागी हुने सम्पूर्ण महानुभावहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।
विगत १५ बर्ष देखि निरन्तर रूपमा जापानमा रोजगारीको शिलशिलामा कार्यरत रहदै आउनु भएका बुढाथोकीले आफ्नो जन्मभूमि र सामाजिक क्षेत्रमा सहयोग गर्दै आउनु भएको छ ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |