पाल्पा: पाल्पाको तानसेनमा एकल महिलालाई आत्मनिर्भर बनाउन निःशुल्क बाख्रा वितरण गरिएको छ। पाल्पाको तानसेन नगरपालिका-८ का एकल महिला तथा अति विपन्नलाई आत्मनिर्भर बन्न सहयोग पुर्याउने उद्देश्यले वडा कार्यालयले उन्नत जातका बाख्रा निःशुल्क वितरण गरेको हो।
तानसेन नगरपालिका-८ का वडाध्यक्ष सोमनाथ अर्यालले वडावासी एकल महिला र अती बिपन्नलाई आत्मनिर्भर बनाउन सहयोग गर्ने उद्देश्य राखेर उन्नत जातका बाख्रा वितरण गरिएको बताउनुभयो । वडाभित्रका ६० वर्षभन्दा कम उमेर भएका २५ जना एकल तथा बिपन्न महिलालाई एक–एक वटा बाख्रा निःशुल्क वितरण गरिएको वडाध्यक्ष अर्यालले बताउनुभयो ।
उहाँका अनुसार वडा कार्यालयले उन्नत जातको बाख्रा निःशुल्क वितरण गरेपछि लाभग्राही महिला हर्षित भएका छन् । वडा कार्यालयबाट बाख्रा पाएपछि राहतको महसुस गरेका एकल महिलाले थोरै भए पनि वडाले दिएको सहयोगले दैनिकी चलाउन टेवा पुग्ने बिश्वास लिएको स्थानीय शान्ता भट्टराईले बताउनुभयो ।
वडा कार्यालयले निःशुल्क उपलब्ध गराएको बाख्रा कम्तीमा दुई वर्षसम्म आफ्नो घरमा पालेको हुनुपर्ने शर्त राखेको छ । समय समयमा हुने अनुगमनका क्रममा घरमा बाख्रा पालेको नपाइएमा वडा कार्यालयबाट दिने अन्य सेवा सुविधा सबै रोक्का हुनेबारे सम्बन्धित महिलालाई सचेत गराएरै बाख्रा वितरण गरिएको पनि वडाध्यक्ष अर्यालले बताउनुभयो।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







