गुल्मी: गुल्मीको चन्द्रकोट गाउँपालिकाले एकीकृत घुम्ती सेवाको मंगलबार देखि शुभारम्भ गरेको छ। नागरिकको घरदैलो मै पुगेर सेवा दिने उद्देश्यले सञ्चालन भएको एकीकृत घुम्ती सेवा मंसिर २४ गतेसम्म विभिन्न वडामा सञ्चालन हुने छ।
चन्द्रकोट गाउँपालिका वडा नं. ५ ग्वाघाबाट सुरु भएको उक्त कार्यक्रममा योजना संझौता, उपभोक्ता समितिहरुका लागि अनुशिक्षण कार्यक्रम, जेष्ठ नागरिक परिचयपत्र वितरण, व्यवसाय तथा कृषि/पशुफर्म दर्ता एवम् नवीकरण, माटो परिक्षणका लागि नमुना संकलन, कृषि तथा पशुसेवा परामर्श एवम् औषधि वितरण, स्वास्थ्य परिक्षण, परामर्श तथा औषधि वितरणका सेवाहरु उपलब्ध भएको थियो। पहिलो दिनको शिविरमा १७९ जना नागरिकले सेवा लिएका छन । जसमध्ये स्वास्थ्य सेवा लिनेको संख्या बढी रहेको छ।
कार्यक्रम यस अघि प्रकाशित सूचना अनुसार प्रत्येक वडामा तोकिएको मितिमा संचालन हुने गाउँपालिकाले जनाएको छ । जसअन्र्तगत वडा नम्बर १ दिबु्रङ्गमा मंसिर ६ गते, वडा नम्बर ६ हरेवामा मंसिर ११ गते, वडा नम्बर ३ हराचौरमा मंसिर १२ गते, वडा नम्बर २ विशुखर्कमा मंसिर १३ गते एकीकृत घुम्ती सेवा सञ्चालन हुने छ । यस्तै वडा नम्बर ७ रुपाकोटमा मंसिर १५ गते, वडा नम्बर ४ शान्तिपुरमा मंसिर १७ गते र वडा नम्बर ८ तुराङ्गमा मंसिर २४ गते एकीकृत घुम्ती सेवा सञ्चालन हुने छ।
गाउँपालिकाले केही आवश्यक जानकारी तथा सूचनाका लागी टोल फ्रि नम्बरको समेत व्यवस्था गरेको छ । जसका लागी नागरिकले १६६०७९५२३३३ मा सम्पर्क गरेर पनि गाउँपालिका सम्बन्धि विभिन्न जानकारी तथा सूचना प्राप्त गर्नसक्ने छन । घुम्ती शिविर सञ्चालन अवधिभर पनि वडा कार्यालयबाट हुने सेवा प्रवाह नियमित रुपमा हुने गाउँपालिकाले जनाएको छ ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







