गुल्मी: नेपाली कांग्रेस गुल्मीले १० हजार कार्यकर्ताकाबीचमा दोस्रो जिल्ला सम्मेलन भव्य बनाउने भएको छ । जसका लागि नेपाली कांग्रेसका केन्द्रिय सभापति एवं पूर्व प्रधानमन्त्री शेर बहादुर देउवासहितका नेता गुल्मी आउँदैछन् । सम्मेलनमा गुल्मी कांग्रेसले १० हजार कार्यकर्ता तम्घासमा उतार्न पालिकागत कार्ययोजना निर्माण गरिएको छ ।
देशभर गणतन्त्र विरोधी गतिविधी बढिरहेका बेला १० हजार कार्यकर्तासहित केन्द्रिय सभापति देउवासहित नेता डाक्टर शेखर कोइराला, महामन्त्रीद्धय गगन कुमार थापा, विश्वप्रकाश शर्मा केन्द्रिय सदस्य डाक्टर चन्द्र भण्डारी, चन्द्र केसीसहितका शिर्ष नेताहरु गुल्मी आउने भएपछि सम्मेलनलाई देशभरबाट चासोको रुपमा हेरिएको छ । गत निर्वाचनमा समेत ठुला सभा भएनन् । पछिल्लो समय ठुला दलहरुले बृहत आम सभा गर्न छोडेका छन् । भने कार्यकर्ताहरुको दलप्रति आर्कषण पनि कम हुँदै गएका बेला गुल्मी कांग्रेसले बृहत सभासंगै सम्मेलनको आयोजना गरेको छ ।
सम्मेलनको लागि ९ मंसिरमा चिदिचौरमा आमसभा र १० मंसिरमा इन्द्रेणी पार्टी प्यालेसमा बन्दसत्र गर्ने कार्ययोजना रहेको नेपाली कांग्रेस जिल्ला कार्यसमिति सचिव भगतसिंह खड्काले जानकारी दिए । जिल्ला कार्यसमितिको १४ कार्तिकको पुर्ण बैठकको निर्णय अनुसार सम्मेलन आयोजना गरेर व्यावस्थापनको लागि विभिन्न उपसमिति मार्फत काम भइरहेको खड्काले बताए ।
यो कांग्रेसको बिधान अनुसारको काम हो । प्रतिनिधीहरुकै बिचमा सम्मेलन आयोजना गर्न सकिने भएपनि कार्यकर्ताहरुमा उत्साह थप्न बृहत सभाको आयोजना गरिएको नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले बताए । उनले समग्र कांग्रेस कार्यकर्ताका लागि ९ मंसिरको सम्मेलन ऐतिहासिक हुने बताए ।
पन्थीले सम्मेलनमा कांग्रेस गुल्मीका कामहरुको समिक्षा गर्दै आगामी कार्यदिशाका बिषयमा बृहत छलफल हुने बताए । ‘यो सम्मेलनलाई अरुभन्दा फरक बनाउने खोजेका छौ । हरेक अधिबेशनमा सवैलाई चुनाब लाग्ने र अरु बेला पनि कर्मकाण्डी सम्मेलन भएका छन्,’पन्थीले भने, ‘अहिले बैचारिक छलफल र अबको कांग्रेसका निम्ती कार्ययोजना निर्माणका कामहरु हुनेछन् ।’
उनले नेपालमा नेपाली राजनीति दलको अवस्था र बढिरहेका गतिविधिको समेत समिक्षा गर्ने बताए । उनले नेपालमा आशा भन्दा जवरजस्त निराशा फैलाएर व्यावस्थामा बिरुद्धका काम भइरहेको बताउँदै कम्जोरी सच्याए विकल्प अर्को नरहेको स्पष्ट पारे । सम्मेलनमा जिल्लाभरका एक हजार सात सय ४६ क्षेत्रिय प्रतिनिधीले बन्दसत्रमा भाग लिन पाउनेछन् ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |