Awareness

Get Vaccinated

जून तारा साहित्य समाजले संकलन गरेको दशैँ तिहार विशेष मुक्तक तथा गजलहरु



ओझेलका खबर संवाददाता
९ महिना अगाडि


Place for ads

नेपालीहरूको महान पर्व बिजया दशमीको पावन अवसरमा सम्पूर्ण अग्रज, अनुज सर्जक साहित्यकार तथा सल्लाह सुझाव दिनुहुने बुद्धिजीवी हामीलाई माया गरी आफ्नो सिर्जनशील रचनाहरू पठाएर पढ्न अवसर दिनु हुने साहित्यप्रेमी तथा पाठकहरू लगायत देश विदेशमा बस्नुहुने नेपाली आमा-बुवा दाजुभाइ दिदीबहिनीहरूमा २०८० सालको विजया दशमीको शुभकामना व्यक्त गर्दै दुर्गा भवानीले सबैको रक्षा गरुन् घर आँगनमा सुख शान्ति मिलोस् भनि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
अध्यक्ष: गणेश विष्ट बर्सात
उपाध्यक्ष: रचिता दाहाल
महासचिव: श्याम कुमार श्रेष्ठ
एवम् समस्त जून तारा साहित्य समाज समिति परिवार

बगैंचामा सुगन्ध छरने फूल बनोस् बडा दशैं
सुख सान्ती समृद्धिको मुल बनोस् बडा दशैं
दुर्गा माताले सबै नेपाली जनको कल्याण गरुन्
छरिएको मित्रहरू जोडने पुल बनोस् बडा दशैं
– श्याम कुमार श्रेष्ठ
कमल-४, झापा

परदेशीको लागि दसैँ तिहार नआइदिए हुन्थ्यो
यो निराश मनलाई कसैले त बुझाइदिए हुन्थ्यो
हजारौंको भिडमा पनि एक्लो भएको महसुस हुन्छ
म अभागीको घरमा कसैले खबर पठाइदिए हुन्थ्यो
– गणेश बिष्ट बर्सात

वर्षौँ देखि कति बसाैँ मूल बाटो पर्खिएर प्यारा
यादमा रुन्छु हरेक दिन मिठा बात सम्झिएर प्यारा
जे जस्तो छ आटो – पिठो खाउला रमाएर नी
यो सालको दसैँमा आउनु है घर फर्किएर प्यारा
– सरु श्रेष्ठ
तेह्रथुम

देवी जगत जननीको मायाँ पाऔँ सबैले
हामीसबैदुखी सन्तान छायाँ पाऔँ सबैले
दशैंको टिका सबैका निधारमा भरियोस्
माँभवानीलाई सदैव दायाँ पाऔँ सबैले
– कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी

छातीभित्र अनगिन्ती पीडा आँखामा आँसु दशैं आयो
अंगालेर तस्वीर छोरो परदेश रोउँ कि हाँसु दशैं आयो
पशुप॔क्षी माथीको अत्याचार मनाउँछन् जयजयकार,
टुक्रिएको छ यो मन खै के ले कसरी गाँसु दशैं आयो।
– शरद प्रधानाङ्ग
विराटनगर-७

अनुहारमा खुशी छैन आएको छ दशै पीडा लिएर
खोसिएका सन्तान रुन पाएको छ दशै पीडा लिएर
सबैलाई मन बुझाउन कसरी सकिन्छ होला हेर
उज्यालो छर्न गए दुःख छाएको छ दशै पीडा लिएर
– अम्विका अधिकारी
झापा बिर्तामोड

Awareness by SKF

पुराना तिता कुरा बिर्सि आवस बडा दशै
सबकाे मनमा जाेस र हर्ष छावस बडा दशै
रक्षा गरुन दुर्गामाले सबैकाे पिडा पुछि दिनु
कसैलाइ नि पिडा मर्का नलावस बडा दशै
– साहित्य प्रेमी सुग्रिव धामी दार्चुला

दशैं आयाे तर विदेशमा मर्नेकाे घरमा के आयाे।
छाेराे मर्दाखेरि रुवाबासी गर्नेकाे घरमा के आयाे।
कहीँ चहलपह छ कहीँ घरदैलोमा लिपपोत हुन्छ
घरबाट लासलाई उठाउनु पर्नेकाे घरमा के आयाे।
– नवराज भट्ट
कञ्चनपुर

सम्भवत: मिठो खाने राम्रो लाउने दशैँ दशा नबनोस्
पर्वको निहुँमा, हरपल झुम्म हुने मातको नशा नहोस्
खुशीले सबै रमाउन बडादशैँको हार्दिक शुभकामना,
मित्रता बढ्दै तित्तता घटोस् एकापसमा उत्साह बढोस् !
– रबि श्रेष्ठ
सन्धिखर्क-१, अर्घाखाँची,

आफ्नो देशमा पो दसैँ आउँछ टीका आउँछ
यो परदेशमा हरेक चाडबाड फिका आउँछ
यसपालि मेरा लागि जमरा नराख्नू है आमा
सम्झेँ भने अविरल आँसुको ढिका आउँछ ।
– श्रीकृष्ण शर्मा
पोखरा

यो साल दशै मान्न आउन पाउँदिन होला आमा
रातो टिका जमरा लाउन पाउँदिन होला हामा
रामे श्यामे गाउँका साथी भाई पिङ्ग खेल्दै होला
रहर हुँदानि यसपालि दशै मनाउन पाउँदिन होला आमा ।।
– घनश्याम वली
तुलसीपुर-१६, दाङ

दँशै पर्वले आमा तिम्रो सम्झना ल्यायो,
मनभित्र पुरानो दिनको सिर्जना ल्यायो।

मुटुभित्र लागेको चोट फेरी आलो हुन्छ,
मेला पर्वले फेरीपनि उस्तै सपना ल्यायो।

गरिबको घरमै किन आउँछ पर्वहरू भन्छु,
दुःखैदुःखको कोसेली यसैले घना ल्यायो।

कसैको घरभित्र खुसी हुन्छ बंट्छ मिठाई,
कसैको घरमा डहभरी आलोचना ल्यायो।

आउँदा आउँदै यो दँशैले कोसेली मलाई,
आमाकै सम्झनामा आँशुको तरना ल्यायो।
– सुरेशकुमार पाण्डे
दाङ घोराही १८

छु सात समुद्र पारीको सहर आउन पाउदिन
मन बनाएर बसेको छु पत्थर आउन पाउदिन
बाटो नहेर्नु बाबा ,आमा नछुर्नु बहिनी जमरा
यो दशैं , तिहारमा पनि घर आउन पाउदिन
– सौगात पुनमगर (समर्पण)
रोल्पा
हाल: युएई (दुबई )

बिश्वास छ आमाले सधै भलो चिताउने छिन
बरु आफै हारेर पनि मलाइ जिताउने छिन
यो दशैमा मैले एक हप्ता बिताउछु गाउमा
आमाले त्यही हप्ता सम्झेर बर्ष बिताउने छिन
– हेमन्त आँसु
महाकाली-९, दार्चुला

यो दसैंमा मनभित्र फिका नहोस् कसैको
आँखामा आँसुको ढिका नहोस् कसैको
आफ्नो आर्थिक स्तर अनुसार मनाउनुपर्छ,
हेर, निधारमा खाली टीका नहोस् कसैको |
– सम्झना थापा मगर
स्याङ्जा

घर – आँगनमा सुनसान नछाईदिए हुन्थ्यो
यी दुई आँखाले आँसु नबगाईदिए हुन्थ्यो
मन खुसी भए पो मेला पर्व उत्सव लाग्ने रहेछ,
आफूलाई यो दसैँ तिहार नआईदिए हुन्थ्यो!
– हिउँ खतिवडा
कमलबजार ७ अछाम,

अशान्तिको कालो बादल हटोस् बडा दशैँबाट
सबैको मनमा सु:ख शान्ति छाओस् बडा दशैँबाट।

स्वार्थै स्वार्थको पोको बोकेको नेपालको साशकले
सम्मृद्धिको एउटा नयाँ बिल्ला बोकोस् बडा दशैँबाट।

अभाबको भारिले थिचिएका निमुखा गरिबहरुको
सिङ्गो जीवन फलोस् अनि फुलोस् बडा दशैँबाट।

एक आपसको झगडाले यहाँ धेरै फाटो गराएको छ
नेपालीमा मित्रताको उचाई बडोस् बडा दशैँबाट।

कू संस्कार र कुरितिलाई जरैसँग फाल्नुपर्छ अब
सबैको विचार बद्लियोस् सोच् बद्लियोस् बडा दशैबाट।
– राजन उप्रेती
तेह्रथुम, हाल: कोरिया

दसैं होइन यो दशा बनेर आयो
गरीब दुखी रुवाउछु भनेर आयो
हामी जस्ता हजारौ परदेशी सामु,
घुम्दै फिर्दै दिनहरु गनेर आयो
– गिरीजा कुँवर

नजिकै आयो दशैं तिहार हामी परदेशीलाई!
मन रुवाउने भयो झन यार हामी परदेशीलाई !!
घरमा दिदिबहिनी आमाबुबा पर्खिरहेका छन्!
गाउँघर जानलाई भयो हतार हामी परदेशीलाई!!
– विकास ठकुल्ला (विवस)
सुदूरपश्चिम अछाम

कोही खाडीमा छन् त कोही अमेरिका लाउन पाएनन्
बगाइरहे मात्र दिनरात आँशुको ढीका लाउन पाएनन्
दशैँमा घर फर्किने मन हुँदाहुँदै पनि छुट्टी नपाएपछि
परदेशीले यो साल पनि जमरा टीका लाउन पाएनन्
– खगिन रिदम लामा
खोटाङ ईन्द्रेणी पोखरी

निधारमा रातो टीका लगाई दशैँ मनाउँनुछ
जिबनका दुख कष्ट हटाई दशैँ मनाउँनुछ
पोहोर साल घर आउन पाइएन है आमा
यो सालमा आफ्नै घर आई दशैँ मनाउँनुछ ।
– धड्कन जैशी अछाम्

हिम्मत दिनुस् शत्रुहरू लडाउँने गरि,
संसारको सारा खुसी मैले पाउने गरि
यहीँ दसैंमा धेरै आशीर्वाद दिनु आमा,
भाग्यबाट खुसी कहिल्यै नहराउँने गरि
– भुपेन्द्र राना मगर
धादिङ

दशैं आयो मेरा आँसु गिराउँन आयो
छिया छिया पारी मुटु चिराउँन आयो

हाँसी खुसी होलान् आफन्त र साथी
मलाई त दलदलमा छिराउँन आयो

आँखामा घुमी रहन्छ जमरा र टीका
सम्झनामा चर्को मूल्य तिराउँन आयो

मनभित्र अझैसम्म सुख शान्ति छैन
दुखै दु:खको सागर भिराउँन आयो

कोहि परदेश त कोहि स्वादेश हुन्छन्
फेरि आफन्त जतिलाइ पिराउँन आयो
– श्यामकुमार क्षेत्री एकल यात्री
नौबहिनी गा,पा ८ प्यूठान
हाल: भारत

छोरा दसैंमा आएन भनी सुस्केरा हाली न रुनु है आमा
सम्झेर आँखामा आँसुका ढिक्का फाली न रुनु हैआमा
साहुको ऋण घरको तमसुक बोकी परदेश छिरेको छु।
नमानी पीर चिन्ता परदेशी छोराको निधार खाली नरुनु हैआमा
– सुनिल रोयल
बु न पा १० बझाङ
हाल: भारत

दिदी रे भाइ टीका जमरा लाउँ हर्सले
बर्ष दिनको काज हो दसैं मनाउँ हर्सले
नखानु खाइ दसैंको नाममा बिकृती नफैलाइ,
साथी संगि मिठास लड्डु खाउँ हर्सले !
– पारस भट्ट (प्यासी)
मेलौली-२, बैतडी

गएको वर्ष भन्दा अझै बनोस् खास शुभकामना
शत्रुहरू हटी मित्रहरू रहुन् आसपास शुभकामना
दसैं दसैं जस्तो बनोस् दशा नहोस कसैलाई पनि
सबैको घरमा दुर्गा भवानीको होस् बास शुभकामना
– सुमन धमला
सिद्धिचरण नगरपालिका १० ओखलढुङ्गा

यो साल दसैंमा आउन पाइन तिहारमा आउँला पर्ख
लिङ्गे पीङ बाटौंला सकभर देउसीमा रमाउँला पर्ख
प्रवासी जीवनको पीडा सहदै बस्नुपर्ने बाध्यता यहाँ,
यमपञ्चकको पूजा गरी ती आँचलले सजाउँला पर्ख ।
– डिल्ली राज घिमिरे
अर्घाखाँची

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो