Awareness

Musikot Mahotsav

भूकम्पले लग्यो घर, हमासले छोरो: छोराको निधनपछि विछिप्त धनलाल



ओझेलका खबर संवाददाता
१ वर्ष अगाडि


Place for ads

बझाङ: ‘दाइ म यहाँ ठीक छु। काम भइरहेको छ। त्यहाँ भूकम्पको त्रास कस्तो छ ? हाम्रो घरमा कति क्षति भयो ? आमाबुबा भाइको विचार गर्नुहोला।’ इजरायलमा ज्यान गुमाएका गणेश नेपालीले शुक्रबार राति दाइ विकास नेपालीसँग गरेको अन्तिम कुराकानी यही हो। भूकम्पले घर भत्काएपछि घरपरिवारसँग फोन संवाद गरेका विकास र गणेशले सायद यो विपत्ति पनि थपिएला भनेर सोचेका थिएनन्।

Forest
Forest
Ad.

जिल्ला हुलाक कार्यालय बझाङका खरिदार विकास नेपालीले अब भाइको प्रगति होला र आफूलाई जिम्मेवारीको भारी कम हुँदै जाला भन्ने सपना बुन्दै थिए। तर, भाइ विदेश उडेको एक महिना नपुग्दै सपना चक्नाचुर भयो। गत भदौ २५ गते टीकापुर बहुमुखी क्याम्पसमा बिएस्सी एजी पढ्दै गरेका उनी लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत इजरायल उडेका थिए।

‘क्याम्पसबाटै पढ्दै कमाउँदै गर्न पाइन्छ बा, हाम्रो भविष्य बन्छ’ त्रिभुवन विमानस्थलबाट उड्दै गर्दा उनले आफ्ना बुबा धनलाल आउजीलाई फोन गर्दै भनेका थिए। दुई वर्ष चितवनस्थित प्रेरणा कलेजबाट आइएस्सी गरेका गणेशले टीकापुर बहुमुखी क्याम्पसमा बीएस्सी एजी आठौं सेमेस्टारअन्तर्गत अलैंची खेती टिस्यु कल्चरसम्बन्धी प्रयोगात्मक अध्ययन गर्दै गर्दा उनलाई इजरायल जाने अवसर जुरेको थियो। छोरा इजरायल गएपछि पढाइ र घरको भविष्य बन्ने भन्दै बुबा धनलाल आउजी, आमा लक्ष्मीदेवी आउजी र दाइ विकास नेपालीमा खुसी छाएको थियो।

गणेशका घरमा आमाबुबा, दाइ विकासका ५ जना परिवार र दुई भाइसहित ९ जना छन्। जयपृथ्वी नगरपालिका–११ भोपुरस्थित सत्यवादी माध्यमिक विद्यालयमुनि र जयपृथ्वी बहुमुखी क्याम्पसको गेट छेउमा गणेशको घर छ। गणेशलाई उनका दाइ विकासले पढाउँदै आएका थिए। गणेशको मृत्युको खबरले अहिले घरमा सन्नाटा छाएको छ। उनका आमाबुबाले मलजल गरी हुर्काएको फूल कोपीलामै चुडिएको छ।

धनलाल अझै पनि छोरो ज्युँदो छैन भन्ने समाचारको विश्वास गर्न सकिरहेका छैनन्। इजरायलमा छोरोको मृत्यु भएको खबर पाएका धनलालले आफ्नो मुटुको टुक्रा खसेको बताउँछन्। ‘बच्चालाई यहाँ पाउन सकुँला नसकुँला, उसको शरीरको एउटा टुक्रा भए पनि आफ्नो कलेजीको टुक्रा हो, देख्न पाए हुन्थ्यो’, गला अवरुद्ध पार्दै धनलालले भने।

त्यस्तै गणेशले शुक्रबार साँझ, बुबाआमा र दाइ विकासलाई पनि फोन गरेका थिए। ‘काम सिस्टममा हुने रहेछ, राम्रो छभन्दा गणेशको अनुहारमा खुसी झल्किएको थियो’, विकास सम्झिन्छन्। कृषि संकायको आठौं सेमेस्टर पढ्दै गरेका गणेश भदौ २५ गते मात्रै इजरायलको ‘लर्न एन्ड अर्न’ अर्थात् काम गर्दै सिक्दै भन्ने कार्यक्रमका लागि ३ लाख ऋण गरेर इजरायल पुगेका थिए।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका आठौं सेमेस्टरका ४९ जना विद्यार्थी एक महिनाअघि मात्रै प्रयोगात्मक सिकाइका लागि ११ महिनाको ‘लर्न एन्ड अर्न प्रोग्राम’ का लागि सेदोत नेगेभ क्षेत्रमा पुगेका थिए। अन्नपूर्ण पाेष्ट

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो