सागर भण्डारी, मुसिकोट: गुल्मीको मुसिकोट नगरपालिकाले नगरस्तरीय भलिबल समुह निर्माण गर्न थालेको छ। नगर खेलकुद विकास समितिको असौज १० गते बसेको बैठकको निणर्य बमोजिम नगरस्तरीय भलिबल समुह निर्माणका लागि खेलाडी छनौट गर्न लागिएको हो।
नगर खेलकुद विकास समितिले खेलाडी छनौटका लागि आवेदन माग गरेको छ । नगर खेलकुद विकास समिति अध्यक्ष सन्दिप खत्रीका अनुसार नगरपालिका अन्तर्गतका भलिबल खेलाडीहरुमध्येबाट उत्कृष्ट खेलाडी महिला पुरुष छनौट गरी नगरस्तरीय भलिबल समुह निर्माण गर्न लागिएको हो ।
ईच्छुक खेलाडीहरुले असौज २६ गतेसम्म नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा आवेदन पेश गर्न सक्ने उहाँले बताउनुभयो ।
भलिबल खेलाडीहरु छनौट गर्नका लागि सोम दर्लामीको संयोजकत्वमा ५ सदस्यीय छनौट समिति समेत निर्माण गरिएको छ । जसको सदस्यहरुमा नविन छन्त्याल, राजेश रायमाझी, मदन पचभैया र विरबल गुरुङ रहनुभएको छ ।
खेलाडी छनौट कार्यक्रम असौज २९ र ३० गते ग्वादिकाचौरमा हुने बताईएको छ । छनौट भएका खेलाडीबाट नगरस्तरीय भलिबल समुह निर्माण गरिने र उक्त समुहले जिल्ला भलिबल संघले कार्तिक १७-१९ गतेसम्म तम्घासमा आयोजना गरेको अन्तरपालिका स्तरीय भलिबल प्रतियोगीता संगै अन्य विभिन्न प्रतिष्प्रधामा नगरपालिकाको तर्फबाट सहभागीता जनाई खेल खेल्ने खत्रीले बताउनुभयो।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |