Awareness

गुल्मी अस्पतालको सेवा प्रवाह चुस्तदुरुस्त बनाउने बिषयमा छलफल

खबर स्वास्थ्य खबर

Place for ads

गुल्मी: गुल्मी अस्पतालको सेवा प्रवाह चुस्तदुरुस्त बनाउने बिषयमा शनिबार छलफल गरिएको छ। गुल्मी अस्पतालमा रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी, प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसी, गुल्मी अस्पताल विकास समिति अध्यक्ष गाेपालप्रसाद पाण्डे, अस्पतालका चिकित्सक र पत्रकारसहितका सराेकारवालाबीच छलफल गरिएको हो।

छलफलकाे क्रममा चिकित्सकहरुले आफ्ना गुनासाहरु राखेका थिए । अस्पतालकी निमित्त प्रमुख डा. साेफिया भलामी थापाले स्वास्थ्यकर्मी र गुल्मी अस्पतालका नराम्रा कुराहरू मात्र बाहिर लैजाने परिपाटीले सर्वसाधारणमा नकारात्मक सन्देश प्रवाह भएको गुनासो गरिन् । उनले केही पत्रकारबाट गुल्मी अस्पतालमा असहयोग भइरहेकोले पत्रकारले सही सुचना मात्र प्रवाह गर्न आग्रह गरेकी छिन् । निमित्त प्रमुख थापाले आर्थिक अवस्था कमजोर भएकाको जटिल उपचार पनि उहाँकै आग्रहमा आफूहरूले गरिरहेकाले कहिलेकाहीँ उपचार सफल हुन नसक्ने प्रतिक्रिया दिइन्।

Get Vaccinated

गुल्मी अस्पतालका चिकित्सकहरुले केही समय अगाडि बालिका मृत्यु घटनामा अस्पताल प्रमुख माथि जनप्रतिनिधिले कुटपिट गरेकाे बिषयमा असन्तुष्टि जनाएका छन् । उनीहरूले त्यस्ता क्रियाकलापमा संलग्नलाई कारबाही हुनुपर्ने वा गल्तीको महशुस हुनुपर्ने बताएका थिए।

गुल्मी अस्पताल विकास समितिका अध्यक्ष गाेपालप्रसाद पाण्डेले अस्पतालकाे हालको अवस्थाबारे जानकारी गराएका थिए । छलफलकाे क्रममा गुल्मीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले सुरक्षाको प्रत्याभूति आफूले दिलाउने भन्दै ढुक्क भएर सेवा प्रवाह गर्न आग्रह गरे ।

रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले चिकित्सकलाई निर्धक्क भएर सेवा उपलब्ध गराउन आग्रह गरेका छन् । बालिका मृत्यु घटना परिस्थितिजन्य घटना भएकोले त्यही घटनालाई लिएर अन्य सेवा प्रवाहमा ठेस पुग्न नहुने बताएका थिए ।

बिरामीको मृत्यु कुनै चिकित्सककाे नियतका कारणले नभएको भन्दै नगरप्रमुख पन्थीले सबै चिकित्सकलाई उच्च मनाेबलका साथ बिरामीको उपचार गर्न आग्रह गरेका छन् । उनले अस्पतालमा रिक्त भएका दरबन्दीमा पदपूर्ति गर्नकाे लागि र अस्पतालमा प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टरकाे व्यवस्था गर्न प्रयास गरिरहेकाे बताए ।

Awareness by SKF