Place for ads

Awareness

अंग्रेजमाथिको विजयोत्सव



ओझेलका खबर संवाददाता
८ महिना अगाडि


Place for ads

– पुष्कर अथक रेग्मी

नेपाली शब्दकोष अनुसार देवदेवीका स्थानमा निश्चित दिनमा पुजा आजा सहित मनाइने विशेष प्रकारको उत्सव यात्रालाई जात्रा भनिन्छ । पाल्पाको तानसेनमा हरेक वर्ष जनैपूर्णिमाको भोलिपल्टदेखि भाद्रकृष्ण नवमीका दिनसम्म जात्रा महोत्सव मनाइन्छ । तानसेनमा विशेषतः गाइँजात्रा, रोपाइँ जात्रा, बाघजात्रा, गणेश जात्रा, भीमसेन जात्रा, कृष्ण जात्रा, नारायण जात्रा र भगवती जात्रा मनाइन्छ । परम्परा अनुसार पाल्पाको तानसेनमा भाद्र कृष्ण नवमीका दिन भगवती जात्रा मनाइन्छ । तानसेनमा मनाइने ऐतिहासिक भगवती जात्राका विषयमा यहाँ चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ ।

Get Vaccinated

वि.सं.१८७१ मा अंग्रेजहरुले नेपालका विरुद्ध युद्वको घोषणा गरेपछि तत्कालिन पाल्पा गौंडाका प्रमुख उजिरसिंह थापाले अंग्रेजसँग युद्व लड्न र विजयी हुुने शक्ति प्राप्त मिलोस् भनि पाल्पा तानसेनको भगवतीका सामु युद्वमा विजयी भए ठूलो मानमनितो गर्ने, तीनतले कलात्मक मन्दिर बनाउने र हरेक वर्ष भगवती मातालाई रथमा राखेर बजार परिक्रमा गराई सिन्दुरे जात्रा निकाल्ने भाकल गरेका थिए । अंग्रेजहरुले बुटवल र स्युराजलाई कब्जामा लिई पाल्पा हान्ने तयारीमा थिए । यहि क्रममा १९ वर्षीय जवान कर्णेल उजिरसिंहको नेतृत्वमा रहेको नेपाली÷पाल्पाली सेनाले जितगढीको युद्वमा अंग्रेजहरुलाई नराम्ररी पराजित गरे र संसार जित्ने अंग्रेजलाई नेपालको तर्फबाट ऐतिहासिक रुपमै हराए । उजिरसिंहले एक पल्ट मात्र नभई दुई–दुई पटकसम्म युद्धमा अंग्रेजहरुलाई हराए ।

कर्णेल उजिरसिंह पाल्पा राज्यलाई नेपालमा विलय गराउने धर्मात्माकाजी अमरसिंह थापाका नाती थिए । उनी नयनसिंह थापाका छोरा र नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाका भतिजा थिए । धर्मात्माकाजी अमरसिंह थापाको स्वार्गारोहण भएपछि पाल्पा गौंडाको रक्षार्थ यिनले धनकुटा, सप्तरी, बारा र पर्सा क्षेत्रमा बहादुरीका साथ काम गरेकाले कर्णेल पदवी पाएका थिए । एघार वर्ष नपुग्दै यिनको बावुको निधन भएकाले भीमसेन थापाले यिनलाई विशेष माया र रेखदेख गरेका थिए । बाल्यकाल काठमाडौंमै बितेको हुनाले उनले काठमाडौंको जात्रा हरेक वर्ष हेर्दै आएका थिए । यही क्रममा इन्द्रजात्रा र कुमारीजात्राको प्रभाव उनको मस्तिष्कमा रहन गइ पाल्पामा पनि भव्य सभ्य र दिव्य किसिमले भगवती जात्राको परम्परा चलाए।

विजयोत्सवको रुपमा मनाउन थालिएको जात्राको परम्परा दुई सय वर्ष पुरानो छ । अंग्रेजसँगको युद्व जितेर आइसकेपछि भगवतीको नाम अगाडि श्री ७ रणउजिरेश्वरी भगवतीको नामबाट विशाल मन्दिर निर्माण गरी जात्रा निकालिएको हो । पाल्पामा मनाइने जात्राहरु मध्ये यो विशेष महत्व र राष्ट्रिय गौरवकै जात्रा हो । जात्रामा राष्ट्रिय झण्डाको प्रयोग गरिनुका साथै नेपाली सेनाको टुकडीद्वारा सलामी अर्पण गरी सैनिक प्रहरी निजामति कर्मचारी, प्राध्यापक, शिक्षक, व्यापारी, बुद्धिजीवी, साहुमहाजन साधुसन्त, विद्यार्थी, विभिन्न संघ–संस्थाहरु एवं सम्पूर्ण जनसमुदायको व्यापक सहभागिता सहित भगवतीको रथलाई तानसेन शहरको मुख्य–मुख्य स्थानमा परिक्रमा गराइन्छ।

भगवतीको कलात्मक मन्दिर निर्माण र अष्टधातुको मूर्ति स्थापना गरिसकेपछि पुजारीको काम गर्न पाटनबाट चन्द्रमुनि बज्राचार्यलाई र गुठी तथा पुजा व्यवस्थापनका लागि भक्तपुरबाट शुक्तमान वौद्धाचार्यलाई तानसेन झिकाए । उजिरसिंहले भगवती मन्दिर गुठीका लागि माडी क्षेत्रमा ३ सय १७ मुरी धान उब्जने खेत व्यवस्थापन गरिदिए । वि.स. १८८१ मंसिरमा उजिरसिंहको स्वर्गारोहण भएपछि उनको पत्नी उजलादेवीले आफु सती जान लाग्दा तत्काल पाल्पा राज्यको तर्फबाट पाल्पा माडीमै २०० मुरी धान उब्जने खेत गुठीको रुपमा अर्पण गरिदिएकी थिइन् । साथै उनको पुजा र जात्रा व्यवस्थापन मिलाउनको लागि रु.२९८५ संकलन गरेकी थिइन् । सो रकमबाट भक्तपुरमा ३६ रोपनी जग्गा किनेको भन्ने विभिन्न लालमोहरहरुमा उल्लेख छ।

Awareness by SKF

श्री ७ रणउजिरेश्वरी भगवतीको मन्दिरमा प्रतिष्ठापित मूर्ति महिषासुर मर्दिनीको प्रतिकको रुपमा रहेको छ । अष्टधातुबाट बनाइएको यो मूर्तिको बाÞय रुप दुब्लो पातलो जीउ भएकी अठार बाहु भएकी, मुख बाएर लामो जिब्रो काढेकी, दाहिनेखुट्टा सिंहको पिठ्युमा टेकेर महिषासुर राक्षसलाई बध गर्न लागेकी चण्डीको स्वरुपको छ । मूर्ति सुन्दर र तान्त्रिक विधिद्वारा निर्माण गरिएको छ । तानसेनको भगवतीको मूर्ति पलाञ्चोक भगवती, शोभा भगवती र नक्साल भगवतीको दार्शनिक परम्परालाई आधार लिएर बनाइएको देखिन्छ । भगवती मन्दिरमा कर्णेल उजिरसिंह थापाले लडाईमा प्रयोग गरेको ऐतिहासिक तरवार अधावधि सुरक्षित छ । भगवती जात्राको दिन स्थानीयवासीहरुले तरवारलाई शक्तिको प्रतिकको रुपमा दर्शन गर्ने गर्दछन् । नेपाली सेनाको गोरखदल गणले गणपति प्रमुख सेनानी श्री कृष्णबहादुर जिसीको कार्यकालमा जीतगढीको लडाइको सम्झनामा नेपालीको वीरता र धीरतालाई उत्कीर्ण गरी भगवती मन्दिरको प्रा·णमा विजयी स्तम्भ निर्माण गरेको छ।

यसैगरी श्री चण्डीप्रसाद गणले गणपति प्रमुख सेनानी दीर्घबहादुर चन्दको कार्यकालमा उजिरसिंहको वीरगाथालाई जीवन्त राख्न पाल्पा उद्योग वाणिज्य संघको सहकार्यमा तानसेन टुँडिखेलको पूर्वी कुनामा कर्णेल उजिरसिंह थापाको पूर्ण कदको शालिक निर्माण गरेको छ । निष्कर्षमा भन्नु पर्दा पाल्पाको भगवती जात्रालाई राष्ट्रिय गौरवको रुपमा लिइएको छ । यद्यपी अंग्रेजसँग लड्ने चार वीर योद्वाहरु भक्ति थापा, अमरसिंह थापा, बलभद्र कुँवर, उजिरसिंह थापा मध्ये राज्यले उजिरसिंह बाहेक अन्य तीन योद्धालाई राष्ट्रिय विभुति घोषणा गरेको छ । तर जुन–जुन स्थानमा ती विभुतिहरुले युद्व गरेको थिए, ती स्थानमा नेपालीहरुको हार भएको थियो भने कतैको भु–भाग जितेरपनि गुमाउनु परेको थियो । जितगढीमा मात्र नेपालीहरुले अंग्रेजहरुलाई जितेका थिए । यति हुँदा–हुँदै पनि उजिरसिंह थापालाई राष्ट्रिय विभूतिको रुपमा किन मानिएन ? यो गम्भीर प्रश्नको रुपमा रहिरहेको छ ।

हरेक वर्ष भव्य, सभ्य, र दिव्य रुपमा मनाइने भगवती जात्रा र नियमित पुजा व्यवस्थापनका लागि कार्यसम्पादन गर्न मन्दिर व्यवस्थापन समितिलाई निकैनै चुनौतिपूर्ण रहेको छ । यसका लागि सबैको यथासक्य सहयोगको खाँचो छ । जात्रा र पर्व भनेको हाम्रो संस्कृति हो । संस्कृति भनेको मान्छेले पालना गर्दा गर्दै विकसित भएर मान्य रुपमा स्थापित उच्च अस्तित्व हो । अस्तित्वको रक्षा गर्न सकेमा मात्र कुनै पनि व्यक्ति, समाज, र राष्ट्रले अन्तर्राष्ट्रिय स्तरमै ख्याति कमाउन सक्दछ।

अत: राम्रा र असल गुणहरुको अंहकार गर्न हामीले हाम्रा अग्रजहरुबाट सिकौं र सन्तति पुस्ताहरुलाई सिकाऔं । जसबाट समाजमा स्वच्छ सभ्यताको विकास हुन्छ । सभ्यताको विकास हुनु नै संस्कृतिको संरक्षण र संवद्र्धन हुनु हो । अन्त्यमा तानसेनमा रहेकी रणउजिरेश्वरी भगवती शक्तिकी केन्द्र हुन् । जसलाई वैदिक नियमपूर्वक आÞवान गरी जगाएर आर्शिवाद लिन सकियो भने समग्र मुलुककै कल्याण हुनेछ । जय भगवती माता!

COVID-19

लेखक पाल्पा साहित्य समाजका अध्यक्ष समेत हुन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो