लघुकथाः बहादुरी
‟थुक्क तेरो जुनी! अझ आँखै फुट्नु पर्ने अनि थाहा हुन्थ्यो।”
‟हैन् बिहानबिहानै किन रन्केको हो? कमसेकम दिनको शुरुवात त शुभ शुभ बोलेर गर्नु नि। अनि पो दिनभर राम्रो हुन्छ।साइत पर्छ।”‚ मोबाइल हेर्दै एक्लै फतफताउँदै गरेको बुढालाई उपदेशात्मक शैलिमा भनिन् बुढीले।
‟शुभ हुन दिन्छन् र असतिहरुले? यसो मोबाइल हेरौँ, केही नयाँ समाचार भए जानकारी हुन्छ भन्यो खालि नकारात्मक कुरा मात्रै ह्वारह्वार्ति आउँछन्। मुडै बिगार्ने गरि।”‚ मोबाइलको दृश्यले उर्लिएको झ्वाँक बुढी माथि फेरे।
‟अरुले जेसुकै लेखुन्, जेसुकै राखुन्? तपाईँलाई केको टनटन हो? खुरुखुरु आफ्नो काम गरे भैगो नि।” बुढी पनि के कम? उस्तै जवाफ फर्काइन्।
‟कसैले आँखा पाके भन्यो,आँखा च्याति च्याति रातो आँखाको फोटो हाल्यो। कसैले घाऊ, चोटपटक लागेको फोटो हालेर लालो गाउँछ। कसैले अप्रेसन गरेको मांसपिण्ड कचौरामा राखेर प्रदर्शन गर्छ। कोही नाकमा कपास कोचेको मृतकको कारुणिक दृश्य फेसबुकमा राख्न प्रतिष्पर्धामा उत्रिएको छ। कोही जल्दै गरेको चिता सार्वजनिक गर्दै श्रद्धाञ्जली लेख्न उद्यत छन्। यो सब दृश्य राखेर दुःख व्यक्त गरेको हो कि उत्सव मनाएको……..?”
‟सखारै केको गनगन हो बुढाबुढीको?” भन्दै टुप्लुक्क पल्लाघरे काका झुल्किए।
‟के हुनु नि काका? यी हेर्नु त फेसबुके रोइलो !”‚भन्दै मोवाइल देखाउँदै मनको तितो पोखे उनले।
‟क्याकाना गरेँ। कसैले नगरेको बहादुरी गरेँ,भन्ने हुँदो होला नि त उनीहरुलाई।किन बेकार रक्तचाप बढाउँछस्? मतलबै नगरे त सक्कि गो नि।”‚ काकाले शान्त पार्न खोजे।
– मित्र उराठी गौतम
अमरपुर गुल्मी
हाल: तिलोत्तमा न.पा.-२, रुपन्देही
लघुकथा: कालो अनुहार
दिलमाया राम्री देखिन ब्युटीपार्लर धाउने गर्थिन् र चिटिक्क परेर हिँड्नु उनको सोखको विषय पनि थियो। उनी प्राकृतिक रूपमा पनि राम्री थिइन्। एक दिन उनी खुसीले हिँडिरहेकी थिइन् तर उनको अनुहारमा भने कालो मोसो दलिएको रहेछ।
दिलमायालाई देखेर छिमेकी रामलालले अचम्म मान्दै “अनुहारमा किन कालो दलेको” भनेर सोधेछन्। ऐना हेर्दा त हो अनुहारभरी कालो छ। अनि त दिलमायाले आफ्नो अनुहारमा कालो दल्ने रामलाल नै हुन् भन्दै त्यो कालो दल्नको लागि रामलालको अनुहारमा अनुहार नै दल्न थाली। रामलाललाई रिस उठ्छ “यो के गरेको ?” भन्दै गाली गर्यो।
दिलमायाले जवाफ दिन्छे। “मेरो अनुहारमा मात्र कालो देखे भने मानिसले गिज्याउँछन्। दुई जनाको अनुहार कालो भए त होली खेलेछन्। कालो रङ्गको प्रयोग गरेेछन् भन्ठान्छन् नि।”
– सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ
अब देखि गद्य साहित्य चौतारी फेसबुक ग्रुपमा प्रेषित दुईवटा रचनाहरू हप्ताको दुईवटा यस वेबसाइटमा राखिने जानकारी गराउछौँ। तपाईं पनि आफ्ना रचनाहरु प्रकाशन गर्न चाहनुहुन्छ भने ‘गद्य साहित्य चौतारी’ नामको फेसबुक ग्रुपमा पठाउनु होला। -सम्पादक