सागर भण्डारी, गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका वडा न – ५ आँपचौर स्थित त्रिवेणी कोटेश्वर मन्दिरमा बृहत धार्मिक अनुष्ठान सहित भजन कृतन सम्पन्न भएको छ। प्रत्येक वर्ष श्रावण महिनाको अन्तिम सोमबार उक्त मन्दिरमा लघुरुद्री पुजा र धार्मिक अनुष्ठान सहित भजन कृतन हुँदै आएको छ।
मन्दिरमा बिहानै देखि श्रद्धालुहरु पुजाआजाका लागि पुगेका थिए । उक्त मन्दिरमा पुजाआजा गरेमा मनोकांक्षा पुरा हुने स्थानीयको विश्वास रहेको छ । कोटेश्वर मन्दिरमा दैवि शक्ति रहेको र यहाँ पुजाआजा गरेमा आँटेको पुग्ने विश्वास रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लिलामणी अर्यालले बताउनुभयो । मन्दिरको संरक्षण र व्यवस्थापनका लागि समितिले विभिन्न कामहरु गरिरहेको उहाँको भनाई छ।
पछिल्लो समय मन्दिरको प्रचारप्रसार सगैं व्यवस्थापनका लागि जय जय कोटेश्वर समुहले विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । समुहले लोक भजन ,” जय जय कोटेश्वर नामक भजन गीति संग्रह निर्माण गरेको छ । उक्त गीतको भाग १ गत वर्ष सार्वजनिक गरिएको थियो भने भाग २ को छायांकन समेत आज गरिएको छ।
यस्तो छ मन्दिरको महिमा
वि.स.२०५२ सालमा हालका मन्दिरका पुजारी स्थानीय डिलाराम अर्यालले बाख्रा चराउन जाने क्रममा उक्त मन्दिर पत्ता लगाउनुभएको थियो । बाख्रा चराउन गएका अर्यालले बाख्रालाई हाल मन्दिर रहेको स्थानमा बाख्रालाई चराउन छाडेर आफु नजिकै सुतेको र सोही समयमा मस्त निद्रामा परेको बेला सपनामा पुजाआजा भजन कृतन गरेको देखेका थिए । सपनामा देखेको ठाउँमा गएर हेर्दा शिवलिंग सहित देउता भेटाएको र विस्तारै प्वाल खोल्दै जाँदा विभिन्न आकृति र साक्षात शिवजी भएको प्रमाण भेटाएपछि मन्दिर पत्ता लागेको थियो।
विस्तारै उक्त ठाउँ बारे स्थानीयलाई समेत जानकारी हुन थालेपछि त्यसलाई व्यवस्थापन गरी मन्दिर निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लिलामणी अर्यालले बताउनुभयो । सोही साल स्वं परमानन्द गुरुले मन्दिरको उद्घाटन गर्नुभएको थियो । त्यसपश्चात समिति निर्माण गरि मन्दिरको संरक्षण र व्यवस्थापनका लािग भवन निर्माण सहित अन्य व्यवस्थापकीय काम सुरु गरिएको उहाँले जानकारी दिनुभयो । सो ठाउँ ३ खोलाको संगम रहेकाले त्रिवेणी कोटेश्वर नाम रहन गएको उहाँको भनाई छ।
मन्दिरमा हरेक वर्ष जेठ ११ गते मन्दिर पत्ता लागेको दिनको स्मरणमा जन्मोत्सव मनाउने, हरिशयनी एकादशी, हरीबोधनी एकादशी, शिवरात्री लगायत श्रावण महिनाभर पुजाआजा गर्ने लगायत विभिन्न धार्मिक अनुष्ठानका कार्यक्रम गरिँदै आएको छ । श्रावण महिनाको अन्तिम सोमबार लाग्ने मेला विशेष मेला रहेको अध्यक्ष अर्यालले जानकारी दिनुभयो।
मन्दिरमा स्वच्छ मनले भाकल गरेमा आटेको पुरा हुने स्थानीयको विश्वास छ । त्यस्तै विदेशको भिसा नलाग्ने, सन्तान नहुने लगायतका समस्या रहेकाहरुले मन्दिरमा बर मागेमा पुरा हुने भएकाले यस मन्दिरको महिमा बढ्दै गएको हो।
विदेशमा अभियान: चन्दा संकलन गरेर व्यवस्थापन
स्थानीयहरु तथा देश विदेशमा रहेका विभिन्न धर्मानुरागी व्यक्तिहरुबाट चन्दा संकलन गरेर मन्दिरको संरक्षण, प्रचारप्रसार तथा व्यवस्थापन गर्दै आईरहेको त्रिवेणी कोटेश्वर शिव मन्दिर व्यवस्थापन समितिका सदस्य डिल्लीराज अर्यालले बताउनुभयो । गत वर्ष मात्रै जय जय कोटेश्वर समुहको लगानीमा मन्दिरसम्म आईपुग्न सहजताका लागि गेदीखोलामा पुल निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । हाल रोजगारीको सिलसिलामा जापानमा रहेका आँपचौरका स्थानीयवासी किरण खरेलले पुल निर्माणको अगुवाइ गर्नुभएको थियो।
बर्खायाममा विशेष मेला लाग्ने र उक्त समयमा खोला तरेर आउनुपर्दा समस्या भईरहेको अवस्थामा पुल निर्माण पछि निकै सहज भएको उहाँको भनाई छ । समितिले पुजाआजा भजन कृतनलाई अझै व्यवस्थित रुपमा सञ्चालन गर्न मन्दिरको प्रांगणलाई थप विस्तार गरी ट्रष्ट निर्माण गर्ने अभियान सुरु गरेको र जसमा विभिन्न दाताहरुबाट सहयोग समेत संकलन भईसकेको उहाँले बताउनुभयो।
मुसिकोट नगरपालिका वडा नं ५ का वडाध्यक्ष ऋषिश्वर अर्यालले वैदेशिक रोजगारीमा रहेकाहरु र स्थानीयसंग समन्वय गरेर विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले स्थानीय सरकारसगं सिमित श्रोत, साधन र बजेट हुँदा चाहेर पनि मन्दिरलाई सहयोग गर्न नसकिएको भन्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
जय जय कोटेश्वर समुहका अभियान्ता हाल जापानमा कार्यरत तुलाराम तिवारी राजा र किरण खरेलले संस्थाले हालसम्म मन्दिरको व्यवस्थापन, पुल निर्माण तथा भजन कृतन एल्बम निर्माण लगायतमा गरी झण्डै १३ लाख खर्च गरेको बताउनुभयो । उहाँले विभिन्न देशमा रोजगारीका लागि गएका आँपचौरबासीहरुबीच सहयोग संकलन गरेर गतवर्ष गेँदीखोलामा पुल निर्माण गरिएको जानकारी दिनुभयो । विभिन्न व्यक्तिहरुको सक्रिय सहभागीतामा मन्दिरको प्रचारप्रसार गर्ने र गतवर्ष रंगरोगन गर्ने काम समेत सम्पन्न भएको उहाँको भनाई छ ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










