करिष्मा अर्याल, मुसिकोट: देशका विभिन्न ठाउँमा प्रकोपको रुपमा फैलिएको आँखा पाक्ने रोग मुसिकोटमा पनि बढ्दै जान थालेको छ।
नगरपालिकामा रहेको श्री कृष्णहरी रुद्रावती सापकोटा आँखा उपचार केन्द्रमा उपचार गराउन आउने बिरामी मध्ये अधिकांश बिरामी आँखा पाकेका बिरामीहरु आउन थालेका छन्।
गत १ हप्तामा मात्रै झण्डै ४ सय भन्दा बिरामी उक्त समस्या लिएर उपचारका लागि आएको केन्द्रका प्रमुख धिरज कुँवरले बताउनुभयो। यो रोग तीव्र रुपमा फैलने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ।
गर्मीमा बढी फैलने आँखा पाक्ने रोग सरुवा रोग भएकाले विशेष सावधानी अपनाउनुपर्ने उहाँको भनाई छ । यसको असर एक हप्तासम्म देखा पर्ने गर्दछ।
यो रोगका कारण सुरुका दिनमा बिरामीको आँखा रातो हुने, चिलाउने, आँसु बग्ने र घाममा हेर्न नमिल्नेजस्ता लक्षण देखिने उहाँको भनाई छ। सरुवा रोग भएकाले सजिलै एकअर्कामा सर्नसक्ने हुँदा विशेष सतर्कता अपनाउन तथा स्वास्थ्य संस्थामा उपचारका लागि जान उहाँको सुझाव छ।
आँखा रातो हुने, चिलाउने वा चिपचिप गर्ने वित्तिकै आफूखुशी औषधि किनेर लगाउँदा आँखामा जटिल समस्या आउने भएकाले स्वास्थ्यकर्मीको सुझाव बिना औषधि प्रयोग नगर्न समेत आँखा केन्द्रले आग्रह गरेको छ।
यसबाट बच्नको लागि बरफले आँखा सेक्ने, सङ्क्रमीत व्यक्तिले प्रयोग गरेका सामानहरु अन्य व्यक्तिले प्रयोग नगर्ने ,सफा पानिले पटक पटक आँखा सफा गर्ने ,कालो चस्मा लगाउने र बढी लक्षणहरु देखिएमा नजिकैको आँखा उपचार केन्द्रमा गई आँखा उपचार गराउन कुवँरले अनुरोध गर्नुभयो ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |