गुल्मी: गुल्मीमा पहिलो पटक होटल म्यानेजमेण्ट पढाई सुरु भएको छ । जिल्लाको सदरमुकाम तम्घासमा रहेको सिद्धबाबा माध्यमिक विद्यालयमा होटल म्यानेजमेण्ट पढाई सुरु भएको हो ।
रेसुङ्गा नगरपालिकाबाट अनुमति लिएर विद्यालयमा व्यवस्थापनतर्फ होटल म्यानेजमेण्टको विषय पढाउन सुरु गरिएको विद्यालयका प्रधानाध्यापक डोरविक्रम श्रीसले बताउनुभयो । ‘होटल म्यानेजमेण्ट धेरै विद्यार्थीहरुको रोजाइको विषय बनेको छ । हामीलाई पनि पहिलो अनुभव हो ।’ उहाँले भन्नुभयो, ‘अहिले होटल म्यानेजमेण्टको लहडै रैछ, भन्ने कुराको अनुभूति भइरहेको छ ।’ अहिलेसम्म ५० जनाभन्दा बढि विद्यार्थीहरु होटल म्यानेजमेण्ट विषय पढ्न यस विद्यालयमा जोडिएका छन् ।
व्यवस्थापन विषय पढ्ने खर्चमै होटल म्यानेजमेण्ट पढाई सञ्चालन गर्ने कोसिसमा रहेको उहाँले बताउनुभयो । ‘यो विषय अध्ययन गर्ने विद्यार्थीहरुले व्यवहारिक सीप हाँसिल गर्न जाँदा प्राक्टिकलको काम गर्दा लाग्ने खर्चहरु यो वर्षलाई आफैले व्यहोर्ने शर्त बनाएका छौं ।’ उहाँले भन्नुभयो, ‘अरु नर्मल शुल्कमै हामीले पढाउने योजना बनाएका छौं ।’
‘सुरुवाती चरणमा रहेकाले होटल म्यानेजमेण्टका लागि छुट्टै ल्याब बनाउने तर्खरमा लागिरहेका छौं । सैद्धान्तिकका केही कक्षाहरु चल्दा चल्दै त्यसलाई पनि सेटअप गरिसक्छौं ।’ उहाँले भन्नुभयो, ‘यहि मोफसलमा पनि यो विषय पढाउन सकिन्छ । यहि पढेर पनि अगाडी बढ्न सकिन्छ भन्ने खालको एक प्रकारको समाजमा सन्देश छर्नका लागि हामीले यो पर्यत्न गरिरहेका छौं ।’ यहि विषयका लागि धेरै शुल्क तिरेर शहरै जानुपर्छ भन्ने मान्यतालाई चिर्न खोजिएको उहाँले बताउनुभयो ।
लुम्बिनी प्रदेशकै अग्रणी अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल यस विद्यालयमा विज्ञान, व्यवस्थापन, कानून, शिक्षा, मानवीकी, कम्प्युटर इन्जिनियरिङ्गका विभिन्न विषयहरु समेत पढाई हुँदै आएको छ ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |