गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका वडा नं २ का गोपाल सार्कीको परिवारलाई सहयोग हस्तान्तरण गरिएको छ।
क्षयरोगबाट ग्रसित सार्कीको केही दिन अगाडी घरमै मृत्यु भएको थियो । उनको मृत्यु भएपश्चात उपचारका लागि चेक रिपब्लीकमा संकलित रकम उनको परिवारलाई हस्तान्तरण गरिएको हो।
जिटिभि नेपालको कार्यक्रम संघर्षका कथा मार्फत सार्कीको दयनीय अवस्था प्रशारण भएपछि चेक रिपब्लिकमा रहनुहुने महेन्द्र खत्रीको पहलमा संकलित कुल ५४ हजार ५ सय रुपैयाँ परिवारमा पुगेर हस्तान्तरण गरिएको हो।
सहयोग हस्तान्तरण कार्यक्रममा जिटिभि नेपालका अध्यक्ष दिपक नेपाली, वडा नं २ का वडाध्यक्ष रविन्द्र केसी लगायतको उपस्थिति रहेको थियो।
सो अवसरमा वडाध्यक्ष केसीले उपचारका लागि वडाको तर्फबाट र व्यक्तिगत तर्फबाट पनि सहयोग गरेको बताउँदै उनको परिवारलाई विदेशमा रहेका दाजुभाई एकजुट भई सहयोग रकम पठाएकोमा धन्यवाद व्यक्त गर्नुभयो।
सार्कीको उपचारका लागि केही समय अगाडी समाजसेवी लिल बहादुर थापाले पनि नगद २५ हजार र सोही बराबरकै खाद्यान्न गरी झण्डै ५० हजार बराबारको सहयोग हस्तान्तरण गर्नुभएको थियो ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |








