गुल्मी: गुल्मीको धुर्कोट गाउँपालिका-५ वस्तु हर्रेका ४८ वर्षीया गाजली सुनारलाई पहिले-पहिले एक गाग्रो पानी ल्याउन घण्टौं धाउनुपर्थ्यो।
पानी ल्याउनकै लागि उनी सोरपानी, दारेगौडा लगायतका स्थानमा पुग्ने गर्थिन्। जाँदा बित्तिकै पालो पाइए कम्तीमा आधादेखि एक घण्टा समय खर्चनुपर्थ्यो। तर अहिले घरमै खानेपानीको धारा आएको छ। जसले गर्दा गाजलीको दैनिकी फेरिएको छ। “बिहानभरि पानीकै लागि समय खर्चनुपर्थ्यो, समय धेरै, पानी कम हुन्थ्यो”, उनले भनिन्, “अहिले घरमै पानी आउँदा निकै सहज भएको छ।” गत वैशाख १ गतेदेखि उनको घरमा बिहान ६ देखि ९ बजेसम्म दैनिक तीन घण्टा नियमित पानी आइरहेको छ।
वस्तुकै मखमली सुनारलाई पनि अहिले पानीकै लागि समय खर्चनुपर्ने बाध्यता छैन। घरमै पानी आएपछि पिउनका साथै खाना पकाउन, भाडा माझ्न, नुहाउन, कपडा धुन, गाई बाख्रालाई दिन एवं तरकारी लगाउन समेत सहज भएको सुनारको भनाइ छ। “खोलाको पानी घरमा आउला भन्ने लागेको पनि थिएन”, उनले भनिन्, “पानी आएसँगै आधाभन्दा धेरै काम घटेको छ।”
घरमा पानी आएसँगै घर गृहिणीमात्र होइन, विद्यार्थीलाई पनि सहज भएको छ। पानीकै लागि घण्टौं समय खर्चिएका विद्यार्थीले अहिले नियमित पढ्न पाएका छन्। “पानी लिन जाँदा समयमा विद्यालय पुग्न सकिएको थिएन, राम्रोसँग पढ्न पनि पाइएको थिएन।” हिमालय माविमा कक्षा ६ मा पढ्ने छात्रा निशा विकले भनिन्, “अहिले पढाइमा धेरै राहत मिलेको छ ।” घरमै पानी आएसँगै अहिले विद्यालय पोसाकसमेत घरमै धुन पाएको विकको भनाइ छ।
वस्तुमा ‘वस्तु लिफ्टिङ खानेपानी आयोजना (चिलिखोला, बिसानैना, पात्ला, हर्रे) सम्पन्न भएसँगै एक सय आठ घरमा खानेपानीको धारा पुगेको छ। “विद्यार्थी समयमै विद्यालय पुगेका छन्, गृहिणीको समय बचत भएको छ”, खानेपानी योजनाका उपभोक्ता समिति सह-सचिव चुरामणि घर्तीले भने, “घरमै पानीको धारा पुगेसँगै स्थानीयको दैनिकी फेरिएको छ।” उक्त योजना सम्पन्न गर्नका लागि धुर्कोट गाउँपालिकाको आठ लाख, प्रदेश तथा सङ्घबाट ८६ लाख ४९ हजार ६ सय २४ र उपभोक्ताको सात लाख नौ हजार गरी जम्मा एक करोड एक लाख ५९ हजार तीन सय २४ खर्च भएको गाउँपालिकाका वास संयोजक छविलाल विश्वकर्माले जानकारी दिए।
अहिले वस्तुमा मात्रै पाँच सय ३३ घरमा खानेपानीको धारा पुगेको छ। गाउँपालिकाले आगामी दुई वर्षभित्र सबै घरमा खानेपानीको धारा पुर्याउने गरी विभिन्न आयोजना सञ्चालन गरेको छ। “अहिलेसम्म पालिकाभरिका तीन हजार ६ सय ५० घरमा पानीको धारा पुगेको छ, दुईवटा ठूला आयोजना निर्माणाधीन छन्।” गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले भने, “आगामी दुई वर्षभित्र सबै घरमा पानीको धारा पुर्याउने लक्ष्य छ”, उनले सङ्घबाट बजेट घटेर आउँदा भने काममा समस्या आउन सक्ने बताए।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |








