तिलाचन पाण्डे, गुल्मीः गुल्मीमा बैंक तथा घर तोडफोड गरी नगद र गरगहना चोरी हुँदै गएका छन्।
गत बिहीबार राती सत्यवती गाउँपालिका वडा नम्वर एक अस्लेवामा जीतबहादुर मिदुनको घरमा शंकर थापाले संचालन गरेको औषधि पसलबाट ८ हजार नगद, पुष्पा अर्यालको करिब ३० हजार नगद , सीता होटलबाट छ हजार, तोयनारायणकी कान्छी बुहारीको घरबाट ४० हजार नगद र १५ तोला सुन , मति पाण्डेको घरबाट पुराना सामग्रीहरु चोरी भएको वडा अध्यक्ष अर्जुन कनौजेले जानकारी दिए।
शुक्रबार अर्को वडा लिम्घामा रहेको कुमारी बैकंको ब्रान्चलेस बैकिङ शाखाबाट चार लाख नगद चोरी भएको र वडा कार्यालय तोडफोड भएको कनौजेलाई बताए । यसरी गाउँमा चोरको बिगबिगी हुँदा प्रहरी प्रशासन भने मौन देखिएको स्थानीयहरुले बताउँदै आएका छन्।
यता जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी नविन किशोर प्रधानले चोरीका घटनाका उजुरी आएको बताउनुभयो । जिल्लामा चोरीका घटनाहरु बढेकाले अनुसन्धानका लागि ७५ जनाको अप्रेसन फोर्स गठन गरी परिचालन भएको बताए।
घटनामा स्थानीयहरुको पनि संलग्नता रहेको हुनसक्ने भन्दै सूचना प्राप्त गर्नु नै प्रमुख भएकाले सूचना दिई सहयोग गर्न पनि उनले स्थानीयहरुलाई आग्रह गरे । उक्त क्षेत्रमा स्याङजा र गुल्मीको सीमाना पनि भएकाले चोरीका घटनाहरु बढ्दै गएको बताउँदै त्यस क्षेत्रमा प्रहरी चौकी पनि आवश्यक रहेको उनको भनाई छ।
अस्लेवामा चोरी हुँदाको केही दिन पहिले स्याङजाको कालीगण्डकी गाउँपालिकाका पाँच छ वटा घरहरुमा तोडफोड गरी चोरी भएको थियो ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |








