अनिल खत्री, गुल्मी: गुल्मी अस्पतालले नेपाल सरकारबाट वितरण हुने सुत्केरी भत्ता दिन छोडेको छ। जसले गर्दा राज्यबाट पाउने सेवाबाट सुत्केरी आमाहरु बञ्चित भएका छन्।
जिल्ला सदरमुकाम तम्घासमा रहेको गुल्मी अस्पतालले पछिल्लो एक महिनायता सुत्केरी भत्ता वितरण गर्न बन्द गरेको छ । नेपाल सरकारले सरकारी स्वास्थ्य संस्थामा सुत्केरी भएवापत प्रत्येक सुत्केरी आमाहरुलाई यातायात खर्च वापत २ हजार दिने गर्दछ।
त्यस्तै गर्ववती महिलाले सरकारी स्वास्थ्य संस्थामा चार पटक भन्दा बढी गर्भ चेक जाँच गराएको भए थप ८ सय रुपैयाँ पाउछन् । तर अहिले गुल्मी अस्पतालले यी दुबै सेवा दिन छोडेको छ । जसले गर्दा अस्पतालमा सेवा लिन आउने सुत्केरी महिलाहरु मारमा परेका छन्।
अस्पतालले सुत्केरी महिलाहलाई तुरुन्तै रकम वितरण गर्न नर्सिङ इन्चार्जलाई पेस्की रकम दिने गरेको थियो । तर अहिले त्यो पेश्की रकमको फर्स्यौट नगरेकाले अस्पतालले सुत्केरी महिलाहरुलाई दिने रकम दिन छोडेको हो।
एउटै व्यक्तिले पटक–पटक फेश्की लिन नमिल्ने र रेकर्ड पनि उपलब्ध नभएकाले यो सेवा केहि दिनका लागि बन्द भएको अस्पतालका प्रमुख डक्टर राजेन्द्र बहादुर जिसीले बताउनुभयो।
पेश्की लिएका नर्सिङ इन्चार्जले आवश्यक कागजपत्र उपलब्ध गराउन नसकेकाले सुत्केरी महिलाहरुले पाउने अधिकारबाट बञ्चित गरिएको छ । पेश्की लिएका नर्सहरु लेखापाल नभएकाले उपलब्ध गराउन नसकिएको भनेर उम्किने गरेका छन्।
केहि महिनाअघिको अवधीमा अस्पतालका प्रमुख र लेखापालको सरुवा भएकाले बिबिध समस्या आएको जिसीले बताउनुभयो । अहिले पुरा नभएका कागजपत्रहरु तयार गर्ने र पेश्की रकम फर्यौट गर्ने कार्यका लागि काम भइरहेको उहाँले बताउनुभयो।
पछिल्लो समय सेवा लिएका सुत्केरी आमाहरुको सम्पर्क नम्बर राखेकाले समस्या समाधान भएपछि बोलाएर वितरण गरिने अस्पताल प्रमुख जिसीको भनाई छ।
गुल्मी अस्पतालमा पछिल्लो असोजदेखि जेठसम्म सुत्केरीले पाउने रकमका लागि नेपाल सरकारसँग भुक्तानी दावी भएको छैन् । प्रत्येक महिना सुत्केरी भएका महिलाहरुको विवरण तयार गरेर सरकारसँग भुक्तानीका लागि फारम पेस गर्ने गरिन्छ।
तर कर्मचारीकै ढिलासुस्तीका कारण असोजबाट अहिलेसम्म विवरण पेस नभएको गुल्मी अस्पतालले जनाएको छ । अहिले अस्पतालले सुत्केरी महिलाहरुलाई दिने रकम नदिंदा चौतफी रुपमा आलोचना भइरहेको छ ।
गुल्मी अस्पतालमा मासिक ५० देखि ७० जनासम्मले सुत्केरी सेवा लिने गरेका छन् । सो अस्पतालमा वार्षिक ६ सय भन्दा वढि महिलाहरुले अस्पतालमा बच्चा जन्माउने गरेको तथ्याङक रहेको छ ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










