सागर भण्डारी, गुल्मी: स्थानीय सरकार गठन भएको झण्डै ६ वर्षपछि गुल्मीको मुसिकोट नगरपालिकाले नगर प्रहरी भर्ना गरेको छ।
बढ्दो शहरीकरण सँगै बढेका चोरी डकैतीका घटना न्यूनीकरण गर्न र नगरमा शान्ति सुरक्षालाई मजबुद बनाउन नगर प्रहरी भर्ना गरिएको नगरपालिकाको भनाई छ।
नगर प्रहरी सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७५ अनुसार मुसिकोटले एकजना नगर प्रहरी सहायक निरिक्षक र ४ जना जवान गरी ५ नगर प्रहरी भर्नाका लागि लागि दरखास्त आह्वान गरेको थियो । तर नगर प्रहरी सहायक निरिक्षकका लागि एक जनाको दरखास्त परेकोमा सक्षम उम्मेदवार नभएपछि पहिलो चरणमा ४ जना नगरप्रहरीको भर्ना गरिएको हो।
बुधवार एक कार्यक्रमकाबीच नवनियुक्त नगर प्रहरीको आधारभुत तालिम समापन तथा दीक्षान्त कार्यक्रम सम्पन्न भएको छ । मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिनोद कँुवरका अनुसार नगरवासीको शान्ति सुरक्षा र अपराधका घटना न्यूनीकरण र नियन्त्रण गरी सभ्य समाज निर्माण गर्ने सोच स्वरुप नगर प्रहरीको भर्ना गरिएको हो । उनीहरुले औपचारिक रुपमा बिहिवारबाट काम सुरु गर्ने मुसिकोट नगरपालिका नगरप्रमुखका स्वकीय सचिव सुरज भट्टराईले जानकारी दिनुभयो।
मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेलका अनुसार नगर प्रहरी कार्यविधिले ३५ बुँदामा रहेर उनीहरुको काम, कर्तव्य तोकेको छ । नगरका नीति, कानुन मापदण्ड कार्यान्वयन गर्र्ने, नगरको सम्पति र सार्वजनिक सम्पतिको सुरक्षा गर्ने, स्थानीय स्तरमा हुने मेला, महोत्सव तथा चाडपर्वमा सुरक्षा व्यवस्था, प्राकृतिक, सांस्कृतिक सम्पदा र गौरवका योजनाको संरक्षण, सार्वजनिक जग्ग्गा अतिक्रमण, विपद व्यवस्थापनमा खोजी, राहत तथा पुर्नस्थापना र नगर सरसफाइ व्यवस्थापन लगायत शान्ति सुरक्षाका काम नगर प्रहरीले गर्ने उहाँको भनाई छ।
नगर प्रहरीको काम, कर्तव्य पनि करिब नेपाल प्रहरीसँग मिल्दोजुल्दो रहेको छ । संविधानले स्थानीय सरकारलाई आवश्यकता अनुसार प्रहरी भर्ना गर्ने अधिकार दिएको छ । संविधानको अनुसूचि ८ मा स्थानीय तहको एकल अधिकार सूचि अन्तर्गत नगर प्रहरी रहेको छ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ को दफा ११९२० मा नगर प्रहरीको गठन, सञ्चालन, व्यवस्थापन, नियमन तथा नगर प्रहरीसम्बन्धी नीति, कानुन र मापदण्ड कार्यान्वयन गर्ने उल्लेख छ । संविधानले दिएको सोही अधिकारमा टेकेर स्थानीय सरकारले गाउँ तथा नगर प्रहरी सञ्चालनसम्बन्धी ऐनकार्यविधि निर्माण गरी काम गरिरहेका छन् ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










