टोपलाल अर्याल, गुल्मी: छल्दी खोलामा एक जनाले चिच्याएर गुहार माग्दा नजिकका स्थानीय छक्क परे। पुलमुनि केहि व्यक्ति खोलाको खोँचमा अड्किएका थिए । एक्कैछिनमा सुरक्षाकर्मी घटनास्थल आए। सुरक्षाकर्मीले रसीको सहयोगमा खोलामा फसेकाको उद्धार गरे।
रसीको सहायताले खोलामा पस्ने र रसीकै माध्यमबाट बाढीमा पसेकाहरुको उद्धार कसरी गर्ने भन्ने बिषय अभिनय मार्फत छर्लङ्ग पारिएको थियो । बिपद्ले ल्याउने जोखिम र उद्धारमा सुरक्षा निकाय तथा सरोकारवालाको भुमिका कृतिम अभ्यासमा देखाउन खोजिएको संग्राम शार्दुल गुल्म गुल्मीका गुल्मपती अनिल खड्काले बताए । उनले सुरक्षा निकायले कृतिम अभ्याससंगै समुदायमा हुने हरेक किसिमका विपद्हरुको न्यूनिकरणको लागि सचेतनामूलक गतिविधीहरु गर्दै आएको बताए।
बाढिको कृत्रिम अभ्यास रेसु्ङ्गा नगरपालिका–४ र इस्मा गाउँपालिका–२ को बिचमा पर्ने छल्दीखोलामा गरिएको थियो । स्थानीय र बिद्यालयमा बिद्यार्थीहरुले नजिकैबाट अभ्यासको सन्देश महसुस गर्न पाए । ‘बचाउ बचाउ । ए गाउँले हो पहिरोले घर पुर्यो । हामीलाई बचाउ । रेसुंगा नगरपालिका ७ को बेदुखर्कमा कोलाहल मच्चियो।
एम्बुलेन्सको साइरन र सुरक्षाकर्मीको भागदौडले स्थानीय छक्क परे । स्थानीय एक व्यक्तिको घर पहिरोले पुरेको थियो । केहिबेरमै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र रेडक्रसको टोली एम्बुलेन्स, डोजर र उद्धारका सामग्रीसहित घटनास्थल पुगे । सुरक्षाकर्मीले पहिरोमा घरसंगै च्याँपिएका परिवारका सदस्यलाई उद्धार गरेर प्राथमिक उपचारसंगै थप उपचारको लागि अस्पताल लगे।
सुरक्षाकर्मीले घरसंगै पुरिएका खाद्यान्य र लत्ताकपडा निकालेपछि प्रहरीले घटनाको सर्जिमन मुचुल्का ग¥यो । डोजरले अवरुद्ध सडक सुचारु गर्यो । घटना स्थल पुगेका पत्रकार तथा संचारकर्मी र सुरक्षा निकायका टोलीले स्थलगत अनुगमन तथा घाइते परिवारको उद्धार, राहात र पुर्नस्थापनाका विषयमा छलफल गरे।
घटना दुरुस्तै। उद्धार र पात्रहरुको जिबन्त अभिनयले देख्नेहरु छक्क परे । तर, अवस्था काल्पनिक हो । केहि दिन अघि जिल्ला सुरक्षा समितिको समन्वयमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र रेडक्रस सोसाइटीले पहिरोको उद्धारको बिषयमा कृतिम अभ्यास गरेका थिए । सुरक्षा समितिले बेलाबेलमा सडक दुर्घटना, आगलागी, बाढि र पहिरोको उद्धारका बिषयमा कृतिम अभ्यास मार्फत समुदायलाई सचेत बनाउँदै आएको सशस्त्र प्रहरी वल गुल्म गुल्मीका गुल्मपती सशस्त्र प्रहरी नायव उपरिक्षक निवनकुमार खड्काले जानकारी दिए ।
गुल्मी जिल्ला प्राकृतिक प्रकोपको दृष्टिकोणले जोखिममा रहेको जिल्ला हो । जसका कारण थुप्रै मानवीय तथा भौतिक क्षति भइरहेको छ । सुरक्षा समितिको तर्फबाट नागरिकलाई बिपद्को बिषयमा जानकार बनाउने उदेश्यले विभिन्न प्रकारका कृतिम अभ्यासको प्रर्दशन गर्ने गरिएको प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले जानकारी दिए ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










