Salime Malika Krishi Farm

Awareness Campaign

ढोरपाटनका बाढीपीडितले पाएनन् घर बनाउन राहत रकम



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गलकोट: बाढीपहिराले घर बगाएको बागलुङको ढोरपाटन नगरपालिकाका ८२ पीडितले सरकारबाट घर बनाउन पाउनुपर्ने अनुदानको दोस्रो किस्ताको राहत रकम अझै पाउन सकेका छैनन्। विसं २०७७ भदौ १७ गते भुजीखोलामा आएको बाढीपहिरोका कारण पीडित बनेकाहरुले घर बनाउनका लागि प्राप्त गर्ने राहत रकम घर बनाइसक्दासमेत पाउन नसकेका हुन् ।

घर निर्माणपश्चात् ८२ बाढीपीडितले रु चार लाखका दरले पाउनुपर्ने रकममध्ये रु ५० हजारका दरले मात्रै पाएका छन् । घर निर्माण गरिसकेका बाढीपीडितले पाउनुपर्ने दोस्रो किस्ता सात महिनादेखि पाउन सकेका छैनन । ढोरपाटन नगरपालिकाले उचित पहल नगर्दा बाढीपीडितले पहिलो किस्ता रकम पाएको सात महिना बित्दासमेत दोस्रो किस्ता पाउन सकेका छैनन्।

ढोरपाटन नगरपालिकाबाट दोस्रो किस्ताका लागि आवश्यक मागदाबी नआएका कारण पीडितलाई राहत दिन नसकिएको बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले जानकारी दिनुभयो । ढोरपाटनमा बाढी जाँदा ठूलो जनधनको क्षति भएको थियो । ३७ जनाले ज्यान गुमाएका थिए भने १५ जना बेपत्ता छन् । दोस्रो किस्ताका लागि मापदण्ड अनुसारको घर निर्माण भएको प्रमाणसँगै नगरपालिकाको सिफारिस आवश्यक छ । ढोरपाटन नगरपालिकाले दोस्रो किस्ताका लागि पीडितको प्रक्रिया नपु¥याउँदा सात महिनादेखि दोस्रो किस्ता रकम अड्किएको छ । नगरपालिकाले छिटो कानुनी प्रक्रिया पूरा गरेमा पीडितलाई रकम भुक्तानी गर्न समस्या नरहेको श्रेष्ठको भनाइ छ।

सिंचाई
Forest
Ad.

विसं २०७७ मा बागलुङ मनसुनजन्य विपद् प्रभावित जिल्लाका रुपमा सूचीकृत भएकाले ढोरपाटनसहित बागलुङको जैमिनी नगरपालिका, बागलुङ नगरपालिका, निसीखोला गाउँपालिका, ताराखोला गाउँपालिका र बडिगाड गाउँपालिकासहित ६ पालिकाका बाढी तथा पहिरो पीडितले घर बनाउनका लागि नेपाल सरकारले दिनुपर्ने राहत रकम अझै पूर्ण रुपमा पाउन सकेका छैनन्।

जिल्ला प्रशासन कार्यालयले विपद्का लागि कर्मचारी नै खटाएर राहतका लागि सबै पालिकालाई आह्वान गरे पनि सबैभन्दा बढी पीडितहरु रहेको ढोरपाटन नगरपालिकाले दोस्रो किस्ताको रकम सात महिना बित्दासमेत दाबी गर्न नसकेको जिल्ला प्रशासन कार्यालयका विपद् संयोजक तेजराज गौतमले बताउनुभयो । दोस्रो किस्ताका लागि जैमिनी नगरपालिका र निसीखोलाबाट मात्रै माग दाबी भएको गौतमले बताउनुभयो।

“सबैभन्दा समस्या ग्रस्त क्षेत्र ढोरपाटन हो, बाढीपीडतले तीन वर्षपछि घर बनाए तर राहतका लागि दोस्रो किस्ता बापतको रु दुई लाख दिन सकिएको छैन, नेपाल सरकारले प्रमाणका आधारमा मात्रै भुक्तानी दिने हो पालिकाबाट घर बनेको प्रमाणसहित माग आउन प¥यो, हामीले निरन्तर पालिकालाई ताकेता गरिरहेका छौँ”, गौतमले भन्नुभयो।

ढोरपाटनका बाढीपीडितले दोस्रो किस्ताका बापत पाउनुपर्ने रु दुई लाखका दरले रु एक करोड ६४ लाख रकम भुक्तानी गर्न नसकिएको भन्दै जिल्ला प्रशासन कार्यालय बागलुङले २०७९ चैत २२ गते नगरपालिकामा पत्र पठाइसकेको छ । ढोरपाटन नगरपालिकाले बाढीपीडितले निर्माण गरेको घरको प्राविधिक मूल्याङ्कनका लागि प्राविधिक खटाउने तयारी गरेको छ । मूल्याङ्कन फाराम नपाउँदा विवरण सङ्कलनमा ढिलाइ भएको ढोरपाटन नगरपालिकाले जनाएको छ ।

Awareness by SKF

ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद ज्ञवालीका अनुसार बाढीपीडितले निर्माण गरेको घरको प्राविधिक मूल्याङ्कनका लागि तत्कालै बाढी ग्रस्त क्षेत्रमा पाठाइने र मूल्याङ्कनपश्चात् जेठ महिनाभित्रै दोस्रो किस्ताको रकम मागका लागि जिल्ला प्रशासन कार्यालयमा पठाउने तयारी रहेको बताउनुभयो ।

बाढीपीडितहरुले सरकारले दिने अनुदानको आशले ऋण खोजेरै भए पनि घर निर्माण गरेका छन् । दोस्रो किस्ताबापत रु दुई लाख भुक्तानी गरेपछि पुनः घर सम्पन्नताको सिफारिस पछि तेस्रो किस्ता बापतको रु एक लाख ५० हजार भुक्तानी गरिने जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ । बाढीका कारण ढोरपाटनमा घरसँगै विद्यालय, सडक, खानेपानी, पुल तथा जलविद्युत् आयोजनामा क्षति पुर्याएको थियो ।

जिल्लामा ढोरपाटन नगरपालिकाका ८२ बाढीपीडितसहित बागलुङ नगरपालिकामा २९ परिवार, बडिगाड गाउँपालिकामा २२, ताराखोला गाउँपालिकामा नौ, जैमिनी नगरपालिकमा ३५ र निसीखोला गाउँपाकिलामा ३६ गरी दुई सय १३ बाढीपीडितले घर निर्माणका लागि रु चार लाख पाउने जिल्ला प्रशासनको तथ्याङ्कमा उल्लेख छ । पालिकाले बाढीपीडितको घर बनाउन प्राविधिक सहयोग, जग्गा व्यवस्थापन र आवश्यक कानुनी प्रक्रिया पूरा नगराउँदा हालसम्म दुई सय १३ बाढीपीडितले दोस्रो किस्ता प्राप्त गर्न सकेका छैनन् ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया