टोपलाल अर्याल, गुल्मी: शुक्रबारबाट नियमित उडान भएको गुल्मीको रेसुंगा विमानस्थलको व्यवस्थापन भने भद्रगोल देखिएको छ। शुक्रबार बिहान काठमाडौंबाट आएको विमानका चालकसँग सम्पर्क गरिरहेकी नेपाल नागरिक उड्डयन प्राधिकरणकी एयर ट्राफिक कन्ट्रोलर आयुषा कार्की विमानस्थलको टावरमा एक्लै उभिएकी थिइन्। उनले उभिएरै वाकिटकी मार्फत विमानचालकसँग संवाद गरिरहिन्। टावरमा कार्की बस्ने कुर्सीसमेत थिएन। धुलोले धूमिल टावरको सिसा कार्की आफैँले सफा गरिन्।
जहाज केही बेरमै फर्किए पनि कार्की केही दिन गुल्मीमै बस्ने बताइन्। रेसुंगा विमानस्थल सञ्चालनका लागि धेरै काम गर्नुपर्ने उनको भनाइ छ। ‘उपकरण र अफिस व्यवस्थापनसहित सुरक्षाका काम तत्काल गर्न आवश्यक देखेँ। उडानसँगै व्यवस्थापनको काममा नगरपालिकाले समन्वय र सहयोग गर्नुपर्छ,’ उनले भनिन्, ‘तत्काल वाकिटकीमार्फत सञ्चारको काम भएको छ।’
पहिलो व्यावसायिक उडानमार्फत काठमाडौंबाट रेसुंगा ओर्लिएकी इस्मा गाउँपालिका-५ की गीता ज्ञवाली गन्तव्यका लागि अलमलमा थिइन्। किनकि, जहाजमा विमानस्थल झरे पनि इस्मा पुग्ने गाडी खोज्न तम्घास पुग्नुपर्छ। यात्रु झरे पनि जहाजबाट झोला झरेनन्। जहाजका पाइलट र सदस्यले झोला ओसार्नुपर्यो। ‘यो त निकै बिडम्बना देखियो। केही पनि व्यवस्थापन नगरेर उडान कसरी गर्ने,’ जहाजका पाइलट मनेष विष्टले भने, ‘यो अवस्थामा अर्को उडान हुँदैन।’
विमानस्थलमा सुरक्षा व्यवस्था पनि छैन। अवतरणमा विमान तल-माथि भएमा उद्धारका लागि जनशक्तिसहित दमकल तथा एम्बुलेन्स चाहिन्छ। तर, एउटा परीक्षण र एक व्यावसायिक उडान जोखिमबीच नै गरिएको छ। विमानस्थलमा यात्रु र पाइलटहरूका लागि प्रतीक्षालय समेत छैन। विमानस्थल कार्यालयका शौचालयहरूमा पानी खस्दैन।
तर, व्यवस्थापनको काम कसले गर्ने भन्ने यकिन छैन। रेसुंगा नगरका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले आउजाउ उडानमा नौजना यात्रुको सुनिश्चितमा आफूहरूले सहजीकरण गर्ने सम्झौता गरेकाले थप व्यवस्थापनको काममा समन्वय भइरहेको बताए।
चार वर्षपछि नियमित उडान गुल्मीको सिमिचौरमा निर्माण भएको रेसुंगा विमानस्थलमा २५ जेठ ०७५ मा तारा एयरको जहाजले कच्ची धावनमार्गमा सफलतापूर्वक धुले उडान गरेको थियो। तारा एयरकै जहाजले २४ पुस ०७९ मा ‘प्रुभिङ फ्लाइट’ गरेको थियो। गत १५ वैशाखमा नेपाल वायुसेवा निगमको जहाजले परीक्षण उडान गर्यो। परीक्षण उडान गरेको निगमकै नाइनए एबिटी जहाजले नै शुक्रबार पहिलो व्यावसायिक उडान गरेको हो। -नयाँ पत्रिका
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |